काठमाडौं : अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परी कम्तीमा १०३ जनाको ज्यान गएको छ । बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूलद्वारको बाहिरपट्टि विस्फोट गराएका थिए ।
काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए । सो आक्रमणमा परेर मृत्यु भएकामध्ये १३ जना अमेरिकी सेना रहेका छन् । अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गरेका छन् ।
उनले सो आक्रमणमा मारिएका १३ जना अमेरिकी सैन्य सेवाका सदस्य रहेको बताए । उक्त आक्रमणमा परी बिहीबार रातिसम्म कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । त्यसमा परेर करिब एक सयजना घाइते भएका छन । घाइते हुनेमा अरू १८ जना अमेरिकी सेना पनि रहेका छन ।
यसअघि बिहीबार मात्र अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका थिए । यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजानु भन्दै बुधबारदेखि नै सूचना जारी गरेका थिए । अमेरिका र बेलायतले विमानस्थलमा पुगेको भए पनि त्यहाँबाट फर्किन भन्दै आफ्ना नागरिकहरुका नाममा सूचना जारी गरेका छन ।
सूचनामा विमानस्थलमा पुगेकालाई पनि त्यहाँ नबस्न र अन्यत्र कतै जान भनिएको थियो । अहिले पनि काबुल विमानस्थलमा कम्तीमा दश हजार विदेशी नागरिक रहेका छन । आफ्नो देश फर्किनका लागि विमानस्थलबाहिर र भित्र हजारौँ सर्वसाधारण बसेका छन । विमानस्थलमा इस्लामिक स्टेट्सका अतिवादी समूहबाट सुरक्षा खतरा रहेको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
विमानस्थलमा भीडभाडमा खटेका अफगान सैनिक पनि आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको प्रतिवेदनमा जनाइएको थियो । सो गोप्य सूचना भनिए अनुसार नै बिहीबार काबुल विमानस्थलमा आत्मघाती आक्रमण गरिएको हो । अमेरिका र उसको नेटो गठबन्धनका सदस्य राष्ट्रले अगस्ट ३१ भित्र आफ्ना नागरिक तथा आफ्नो देश फर्किन विमानस्थलमा बसेका अरू देशका मानिसको उद्धार सम्पन्न गरिसक्ने जनाएका छन ।