नयाँ दिल्ली : इतिहासका लज्जित आत्मसमर्पण र सम्झौताहरूलाई धिक्कारेर बाँच्नुको पीडा अत्यन्तै कठिन हुन्छ । अस्तित्व, पहिचान र अधिकारका लागि सडकमा रगत पोखेर आन्दोलन गरिरहनुको विकल्पहीन बाध्यता झन् जटिल हुन्छ ।
नागरिक भएर राष्ट्रको अधिकार नपाउँदा कस्तो होला ? जुन देशमा आफ्नो कुनै पहिचान छैन, कस्तो होला त्यहाँका नागरिकलाई ? अझ, तिनै नागरिकका तर्फबाट उठेको आन्दोलनको ज्वारभाटालाई एउटा धोकापूर्ण सम्झौतामा समाप्त पार्न खोज्दा झन् कस्तो होला ? यस्तै वास्तविकता बोकेको गोर्खाल्याण्ड आन्दोलन फेरि उम्लिनुपर्छ ।
भारतमा सन् १९८६ मा लगातार १९ महिना गोर्खाल्याण्डको माग गर्दै पहिलो आन्दोलन भयो । तर, अहिलेसम्म पनि उनीहरूको माग पूरा भएको छैन । पहिचान र अस्तित्वको लडाइँ अझै उस्तै छ, नेपाली भाषीको । नेपाली भूमि अङ्ग्रेजको कब्जामा परेपछि भारतको भयो र त्यतिबेलादेखिको गोर्खाल्याण्ड आन्दोलन निरन्तरको लडाइँ बनिरह्यो ।
राष्ट्रनिर्माणका अभियन्ता पृथ्वीनारायण शाहले नेपालको भूमि पूर्वमा दार्जिलिङ र आसपासको क्षेत्र हुँदै टिस्टा नदीसम्म पुराएका थिए । तर, सन् १९१३ मा इष्ट इण्डिया कम्पनी र गोर्खा सेनाबीच युद्ध भयो र नेपालले ४ हजार स्क्वायर माइल्स भूमि गुमायो । अङ्ग्रेजले दार्जिलिङ र आसपासका क्षेत्रलाई सिक्किमी राजाको अधिकार क्षेत्र बनाइदिए । यो सन्धिलाई टिट्लिया सन्धि भनिन्छ ।
दोर्जेहरु बस्ने भएकाले यसको नाम पहिला दोर्जेलिङ थियो । आधुनिकतासँगै अपभ्रंश हुँदै दार्जिलिङ हुन पुग्यो । यसलाई अहिले ‘दार्जिलिङ’ भनी उच्चरण गरिन्छ ।
सन् १९४७ मा भारत अङ्ग्रेजबाट स्वतन्त्र भएपछि दार्जिलिङ पश्चिम बङ्गाल प्रान्तमा गाभियो । दार्जिलिङ भित्रै पर्ने खर्साङ्ग, कालेङपोङ, र तराईका केही भूभाग पनि भारतका छुट्टै जिल्ला बन्न पुगे । दार्जिलिङ र आसपासका क्षेत्रमा जनसङ्ख्या निक्कै बढ्यो । भारतका विभिन्न प्रान्तका मानिस बसाइँ सरे र तिब्बती शरणार्थी पनि त्यहाँ पुगे ।
सिक्किमी राजाको पालादेखि असन्तुष्ट नेपाली भाषीले गोर्खाली सन् १९०७ देखि छुट्टै गोर्खाल्याण्डको माग गर्दै आएका छन् । त्यति बेलाको आन्दोलन सन् १९८८ अगस्त २२ मा हिल काउन्सिल सम्झौता भएपछि टुङ्गियो । सन् १९८६ देखि सुवास घिसिङको नेतृत्वमा निरन्तर १८ महिनासम्म भएको आन्दोलनमा १२०० भन्दा बढी नेपाली भाषीले ज्यान गुमाए । हजारौँ घरबार विहीन बन्न पुगे ।
अन्ततः पश्चिम बङ्गाल सरकारसँग हिल काउन्सिलमा सम्झौता भएपछि सुवास घिसिङको नेतृत्वमा भएको गोर्खाल्याण्ड आन्दोलन सेलायो । घिसिङले लामो समयसम्म गोर्खाल्याण्ड अभियानको नेतृत्व गरिरहे । र, लामै समय गोर्खाल्याण्ड मागको आन्दोलन सेलायो । तर, केही वर्ष पहिले दार्जिलिङका नेपाली भाषी प्रशान्त तामाङ इण्डियन आइडल बने । र, उनलाई आइडल बनाउन सक्रिय भूमिका निभाएदेखि दार्जिलिङ र आसपासका क्षेत्रमा लोकप्रिय बने नयाँ नेता विमल गुरुङ ।
२१ वर्षसम्म गोर्खा आन्दोलनको नेतृत्व गरिरहेका सुवास घिसिङ र उनको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको चर्को विरोध हुन थाल्यो । ८ अक्टोबर २००७ मा विमल गुरुङले आफ्नो पार्टी गोर्खा जनमुक्ति मोर्चाको स्थापना गरे । २१ वर्षपछि गोर्खाल्याण्ड आन्दोलन पुनः ब्युँतियो । ‘सुवास घिसिङ पश्चिम बङ्गालको दलाल हुन्’ भन्दै सुरु भएको आन्दोलन उत्कर्षमा पुग्यो । पुरुषले दौरा सुरवाल, भादगाउँले टोपी र महिलाले गुन्यु चोली लगाएर हप्तौँसम्म गोर्खाल्याण्डको माग गर्दै सडकमा निस्किए ।