बाँके(बैजनाथ) : बिद्यालयमा अध्ययन गर्ने किशोरीको शरिरमा रगतको मात्रा पत्ता लगाउन बैजनाथ गाउँपालिकाले पहिलो पटक रक्तअल्पता जाँच कार्यक्रम सुरुवात गर्यो । यो जिल्लाकै एउटा ‘नमुना कार्यक्रम’ रहेको स्वास्थ्य शाखाले जनाएको छ । यस कार्यक्रम अन्र्तगत बिद्यालयमा अध्ययन गर्ने किशोरीको शरिरमा रगतको मात्रा कति छ भनेर जाँच्ने गरिन्छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पहिलो पटक केही बिद्यालयबाट कार्यक्रम सुरुवात गरेको छ । गाउँपालिकाले आन्तरिक ब्यवस्था गरेर भिडियो एक्सरे सेवा पनि निःशुल्क गरेको छ । विशेषगरी गर्भवती अवस्थामा जोखिम कम गर्न यो कार्यक्रम ल्याइएको हो । भिडियो एक्सरेमा जोखिम देखिने वित्तिकै विशेषज्ञ चिकित्सक समक्ष गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीले रेफर गर्ने र मातृ मृत्युदर घटाउन यसले मद्धत गर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले यस्ता नयाँ कार्यक्रम र नियमित गरेर आर्थिक वर्ष २०८२/०८३ मा थुप्रै कार्यक्रम गरेको छ । स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीका अनुसार बैजनाथको ८ वटै वडामा स्थानीय सरकारको मातहतमा स्वास्थ्य संस्था सञ्चालनमा छन् । बैजनाथ-५ बनकटवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकसहित स्वास्थ्यकर्मी कार्यरत छन् । यस्तै बैजनाथ-१ चिसापानी, बैजनाथ-३ नौवस्ता र बैजनाथ-८ टिटिहिरियामा स्वास्थ्य चौकी तथा वडा नम्बर २, ४, ६ र ७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।
गाउँपालिकाले पहिलो पटक सुरुवात गरेको रक्तअल्पता जाँच कार्यक्रम जिल्लाकै नमुना रहेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाही बताउँछन् । ‘जसले आधारभुत तहका स्वास्थ्य सेवा प्रदान गर्छ, त्यसरी सबै वडामा स्वास्थ्य संस्था स्थापना भईसकेपछि पक्कैपनि त्यहाँको स्थानीय बासिन्दाहरुलाई त्यहाँको संस्थाले दिने स्वास्थ्य सेवाहरु अनुसार उहाँहरुले सेवा लिईराख्नु भएको छ,’ शाखा प्रमुख शाहीले भने, ‘अझै तल समुदाय स्तरमा घर–घरमै सेवा पुग्ने भनेको महिला स्वास्थ्य स्वयं सेविका हुनुहुन्छ, जो स्वास्थ्यको मेरुदण्ड पनि हो, उहाँहरुबाट धेरै खालको सूचना र परामर्शहरु, स्वास्थ्य सेवा प्रवाह भईरहेको छ ।’
बैजनाथका स्थानीय बासिन्दाले कुनैपनि स्वास्थ्य समस्या पर्यो भने स्वास्थ्य संस्थामा जाने, परामर्श लिने, सामान्य औषधी उपचार लिने गर्छन् । यसका साथै स्वास्थ्य संस्थाहरुमा ‘आरआरटी’ अर्थात् रेपिड रेसपोन्स टिम रहेको छ । ‘कुनैपनि स्वास्थ्य सम्बन्धी विपद आयो भने तल्लो तहको स्वास्थ्य सेविकाले तुरुन्तै जानकारी दिनुहुन्छ, त्यसपछि स्वास्थ्य संस्थाले आफ्नो तहबाट गर्छ, त्यहाँबाट हुन नसकेका कुराहरु गाउँपालिकामा हुन्छ, गाउँपालिकामा पनि पालिका स्तरिय विपद प्रतिकार्य टिम छ, त्यहाँबाट हामीले ब्यवस्थापन गर्छौ, अझै ठुलो विपदहरु, महामारी आयो भने हामीले जिल्ला, प्रदेश र समन्वय गरेर महामारीको निरुपन गर्छौ,’ शाखा प्रमुख शाहीले भने । गाउँपालिकाले स्वास्थ्य शाखाका लागि आर्थिक वर्ष २०८२/०८३ मा कुल १ करोड ८२ लाख ३८ हजार रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटमध्ये गाउँपालिकाले १ करोड ६८ लाख ३८ हजार खर्च गरेर कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले करार सेवा शुल्क बिद्यालय नर्सिङ कर्मचारीहरुको पारिश्रमिक तथा चाडपर्व र पोशाक वापत ३६ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यस्तै महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको प्रोत्साहन तथा पोशाक खर्च वापत मासिक ३ हजार रुपैयाँका दरले ४० लाख ४८ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी ८ लाख रुपैयाँमा अत्यावश्यक औषधी खरिद, ६ लाख रुपैयाँको लागतमा आइरन चक्की तथा क्याल्सियम खरिद, ५ लाख ४० हजार रुपैयाँ बजेटबाट प्राथमिक स्वास्थ्य केन्द्र बनकटवा र स्वास्थ्य चौकी नौवस्ताको कर्मचारी ब्यवस्थापन गरिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले ५ लाख रुपैयाँ बजेटबाट साझेदारी रुपमा जेष्ठ नागरिक शिविर, ४ लाख रुपैयाँ बजेटबाट स्वास्थ्य संस्थाहरुलाई एचएमआईएस/डिएचआईए,ईएलएमआईएस, ईएचआईआरआरएस लगायत अन्य स्वास्थ्य उपकरणलाई वैकल्पिक उर्जा (इन्भर्टर, जेनेरेटरतथा ब्याट्री आदी) ब्यवस्थापन, ३ लाख रुपैयाँको लागतमा विशेषज्ञ स्वास्थ्य शिविर, ३ लाख रुपैयाँकै लागतमा सुत्केरी महिलाहरुलाई पोषण कार्यक्रम र ३ लाख रुपैयाँमा ९२ जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको स्वास्थ्य बीमा नवीकरण शुल्क तथा स्वास्थ्य बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम, ३ लाख रुपैयाँमा आयुर्वेद औषधालयका लागि औषधी खरिद गरिएको छ ।
गाउँपालिकाले २ लाख ५० हजार रुपैयाँका दरले प्राथमिक स्वास्थ्य केन्द्र बनकटवा, चिसापानी स्वास्थ्य चौकी, नौवस्ता स्वास्थ्य चौकी र टिटिहिरिया स्वास्थ्य चौकीको कार्यालय सञ्चालन तथा व्यवस्थापन गरिएको छ । यसैगरी २ लाख रुपैयाँमा योग शिक्षा, व्यवहार परिवर्तन तथा भान्सा सुधार सम्बन्धि तालिम कार्यक्रम, २ लाख रुपैयाँमा खोप सेवा सञ्चालन तथा औषधी एवम् अन्य स्वास्थ्य सामाग्री ढुवानीकर्तालाई यातायात खर्च ब्यवस्थापन गरिएको छ ।
त्यस्तै १ लाख ७५ हजारका दरले आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ७ पेडारी, आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ बानियाभार, आधारभुत स्वास्थ्य केन्द्र गडरही र आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर २ डिगिया कार्यालय सञ्चालन तथा व्यबस्थापन गरिएको छ । यसैगरी १ लाख ५० हजार रुपैयाँमा स्वास्थ्यकर्मी तथा नर्सिङ कर्मचारीहरुलाई गर्भवती महिला तथा सुत्केरी सम्बन्धि अभिमुखीकरण, १ लाख ५० हजार रुपैयाँमा ९२ आमा समुहलाई ६ महिनाको स्वास्थ्य आमा समुहहरुमा बैठक सञ्चालनको दिन खाजा खर्च प्रदान गरिएको छ ।
एक लाख ५० हजार रुपैयाँमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई स्वास्थ्य सम्बन्धी तालिम सञ्चालन, १ लाख रुपैयाँमा बौलाहा कुकुर तथा अन्य जनावरले टोकेको अवस्थामा के गर्ने भन्ने विषयमा समुदाय स्तरमा सचेतना तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
शाखाले १ लाख रुपैयाँका दरले सर्पदंशको रोकथाम तथा उपचार सम्बन्धी समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन, क्यान्सर रोग सम्बन्धी समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालन, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई रजिष्टर, फिल्पचार्ट तथा अन्य कागजात राख्ने झोला, बिद्यालय स्तरिय किशोरीहरुलाई रक्त अल्पता सम्बन्धि परिक्षण साथै रक्त अल्पता भएका किशोरीहरुलाई स्वास्थ्य परामर्श तथा उपचार कार्यक्रम, सिकलसेल एनिमियाको समुदाय स्तरमा सचेतना तथा रक्त नमुना परिक्षण, आयुर्वेद औषधालयका लागि कार्यालय सञ्चालन खर्च, गर्भवती महिलालाई ग्रामिण अल्ट्रासाउण्ड जाँचको लागि एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्था खटिने स्वास्थ्यकर्मी तथा अन्य सहभागी र सहजकर्तालाई यातायात खाजा र सो कार्यक्रम सञ्चालनमा सामाग्री खरिद, गाउँपालिकाका ८ वटै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य क्षेत्रको सामाजिक परिक्षण गरिएको छ ।
त्यस्तै ५० हजार रुपैयाँ बजेटबाट सबै वडाहरुमा क्षयरोगका बिरामीहरुलाई पोषण प्याकेज वितरण कार्यक्रम सञ्चालन, ५० हजार रुपैयाँमै ८ वटै वडाहरुमा स्वास्थ्य संस्था जन्य फोहोर ब्यवस्थापनका लागि पिएचसी को मेसिन सञ्चालनमा ल्याउने तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय स्वास्थ्य क्षेत्रमा थुप्रै कामहरु सम्पन्न भएको बताउँछिन् ।
‘किशोरीहरुमा देखिने रक्तअल्पताको समस्याका विषयमा हामीले विशेष कार्यक्रम चलाएका छौं, यो समस्या अहिले न्यूनिकरण गरेका छौं,’ उनले भनिन्, ‘स्वास्थ्यमा अन्य कामहरु जस्तै बर्थिङ सेन्टरहरु भएको ठाउँमा हामीले ल्याब सञ्चालन पनि गरेका छौं, ल्याबहरु पनि राखेका छौं, निःशुल्क एम्बुलेन्सको ब्यवस्था पनि छ, सुत्केरी, अपांगता भएका ब्यक्ती र जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्सको सुविधा पनि गराएका छौं ।’ गाउँपालिकाले बर्थिङ सेन्टरमै प्रयोगशाला परिक्षणको ब्यवस्था पनि गरेको उनले बताइन् । ‘सुत्केरी महिलालाई भिडियो एक्सरे सुविधा दिएका छौं, त्यसले पनि धेरै गर्भवती महिलालाई राहत भएको छ,’ उपाध्यक्ष रोकायले अगाडी थपिन् ।
गाउँ कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक भूमिसरा रानाले बैजनाथबासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि थुप्रै कार्यक्रम भएको बताइन् । गर्भवती, सुत्केरी, नवजात शिशु, जेष्ठ नागरिकको स्वास्थ्यका विषयमा विशेष कार्यक्रम सञ्चालन गर्नुका साथै स्वास्थ्य संस्थालाई नयाँ प्रविधिसँग जोड्ने काम गरिएको बताइन् ।