नेपालगन्ज : भोटेकोसीमा आएको बाढीमा परेर ज्यान गुमाउने, बेपत्ता तथा घाइते एवम् बाढी पीडितका लागि नेपालगन्जका अस्पतालले मल्हम पट्टी लगाएका छन् । मल्हम पट्टी स्वरुप अस्पतालले रकम सहयोग गरेका हुन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आधा दर्जन भन्दाबढी अस्पतालले ६० लाख ७८ हजार ५ सय १३ रुपैयाँ जम्मा गरेका छन् ।
बाढी पीडितका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले २५ लाख रुपैयाँ उक्त कोषमा जम्मा गरेको छ । उक्त अस्पतालले विपदको सामना गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत रकम सहयोग गरिएको जनाएको छ ।
यस्तै सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रा.लि.नेपालगन्जले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक सन्तोष खनालले बाढी पीडितको उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने हेतुले रकम सहयोग गरिएको बताएका छन् ।
यसैगरी नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले ५ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माका अनुसार अस्पतालमा आबद्ध समाजसेवी, कार्यरत कर्मचारी तथा अस्पतालको तर्फबाट सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको हो । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।
बाढी पीडितका लागि नेपालगन्जमै रहेको एचसीआरसी अस्पतालले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । अस्पताल परिवारका तर्फबाट उक्त रकम प्रदान गरिएको हो । यस सहयोगले विपदमा परेका परिवारलाई थोरै भएपनि राहत पुग्ने विश्वास गरिएको अस्पतालका प्रमुख डा. कुमार सान शाहले बताएका छन् । विपद्को घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनस्र्थापनामा सक्दो सहयोग गर्ने अस्पतालले प्रतिबद्धता पनि जनाएको छ ।
त्यस्तै नेपालगन्ज न्यूरो अस्पतालले १ लाख १६ हजार ५ सय १३ रुपैयाँ उद्धार कोषमा जम्मा गरेको छ । अस्पतालका सञ्चालक डा. जोशन न्यौपानेले विपदको समयमा सरकारलाई हौसला बढाउन बाढी पीडितका लागि सहयोग गरिएको बताएका छन् ।
त्यसैगरी सागर अस्पताल नेपालगन्जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ जम्मा गरेको छ । अस्पतालका सञ्चालक डा. गोपाल सागर डिसीले विपद्को कठिन परिस्थितीमा प्रभावित भएका नागरिकलाई राहत उपलब्ध गराउन रकम जम्मा गरिएको बताए ।
बाढी पीडितका लागि लाईफ लाइन जनरल अस्पताल नेपालगन्जले १ लाख रुपैयाँ सहयोग गरेको छ । अस्पतालका सञ्चालक डा. प्रतिक श्रेष्ठले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको बताएका छन् ।