नेपालगन्ज : नेपागन्ज उद्योग वाणिज्य संघले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उद्योगी, ब्यवसायीले आफ्ना दुखेसो मात्रै पोखेका छन् । संघले बिहीबार आफ्नो सभाकक्षमा बडा दसैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो ।
संघका अध्यक्ष चिरञ्जिवी ओलीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारी लाल अहिरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकांस उद्योगी, ब्यवसायीले आफुहरुले राज्यका निकायबाट धेरै दुःख पाएको गुनासो गरे । राज्यलाई कर तिरेर ब्यवसाय गर्दा पनि विभिन्न बहानामा दुःख पाउन गरेको उनीहरुको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् प्रदेशका मन्त्री अहिरले इमान्दारिताले मात्र देश बन्ने बताए । गलत गरेर आर्जन गरिएको सम्पत्तीको राष्ट्रियकरण गर्नुपर्ने उनले प्रस्ताव राखे । राज्यका नियम, कानुनलाई कार्यान्वयन गर्ने काम कर्मचारीको भएको र कर्मचारीले इमान्दारिता देखाउनुपर्नेमा मन्त्री अहिरले जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष ओलीले ब्यवसायीलाई विभिन्न बहानामा दुःख दिन नहुने बताए । तर, ब्यवसायीले गलत काम भने गर्न नहुने उनको भनाई छ ।
सो क्रममा विशिष्ट अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनाद्र्धन पौडेल, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पूर्ण न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख मोहन घर्तीमगर, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख सुरेन्द्र सिंह लगायतले बोलेका थिए ।
संघका प्रथम उपाध्यक्ष कमल कार्कीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रम सञ्चालन महासचिव विष्णु श्रेष्ठले गरेका थिए । कार्यक्रममा संघका पुर्वअध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ लगायत संघका वर्तमान र पुर्वपदाधिकारी, ब्यवसायी, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।