बाँके (सम्शेरगन्ज) : राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले महिलाहरु स्वरोजगार नबन्दासम्म आर्थिक समृद्धि र सभ्य समाजको परिकल्पना गर्न नसकिने कुरामा जोड दिएका छन् । राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोगमा ‘पुजाको अचार’ कोहलपुर-८ बाँकेले महिलाहरुका लागि सञ्चालन गरेको ‘अचार बनाउने सिप मुलक तालिम’ समापन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रमुख अतिथी पौडेलले महिलालाई स्वरोजगार बनाउन सकेपछि मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने स्पष्ट पारे ।
गाउँपालिकाले स्थानीय महिलाका लागि थुप्रै स्वरोजगार मूलक तालिमहरु सञ्चालन गरेको र केही महिलाहरु अहिले सफल उद्यमीका रुपमा अगाडी बढिरहेको उनले बताए । पछिल्लो समयमा पढेर पनि रोजगारी पाउन मुस्किल भइरहेको अवस्थामा यस्ता तालिमले महिलालाई स्वरोजगार बनाउन टेवा पुर्याउने अध्यक्ष पौडेलको विश्वास छ ।
‘आर्थिक समृद्धिका लागि गाउँपालिकाबाट यो तालिम दिइएको हो, हामीले गाउँपालिकाभित्र थुप्रै तालिम चलाएका छौं,’ उनले भने, ‘तालिम चलाउनु एउटा कुरा हो, अहिले रोजगारी छैन, युवाहरुको शक्ति विदेश गइरहेको छ, पढेर पनि रोजगारी पाउन सकेका छैनौं, महिलाले केही गर्न सकेनन् भने सभ्य समाजको परिकल्पना गर्न सकिदैन ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगीले महिलालाई उद्यमशिल बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । आफ्नो वडाभित्रका केही महिलाहरु सिपमुलक तालिम लिएर आत्मनिर्भर बनेको उनले जानकारी दिए । अचार बनाउने तालिम सिकेका महिलालाई पनि आत्मनिर्भर बनाउने वडाअध्यक्ष डाँगीको विश्वास छ । ‘महिलालाई उद्यम क्षेत्रमा अगाडी बढाउन हामी तयार छौं, सिप सिकेपछि महिलाले गर्न सक्छन् भन्ने उदाहरण हाम्रै वडामा पनि छन्, यो तालिमले पक्कैपनि धेरैलाई स्वरोजगार बनाउनेछ,’ उनले भने ।
त्रिशक्ति सामुदायिक वन उपभोक्ता समुह राप्ती सोनारी-८ की अध्यक्ष उमा बस्नेतले अचार बनाउने तालिम महिलाका लागि निकै उपयोगीमूलक रहेको बताइन् । तालिमलाई सदुपयोग गर्न सबैलाई उनले आग्रह गरिन् । ‘तालिम लिएर मात्र हुदैन, यसलाई सही तरिकाले सदुपयोग गर्न सक्नुपर्छ,’ अध्यक्ष बस्नेतले भनिन् ।
यस्तै पत्रकार अर्जुन ओलीले थोरै लगानीबाट पनि पछिल्लो समयमा अचार बनाएर धेरै महिलाहरु आत्मनिर्भर बनिरहेको बताए । उद्यम क्षेत्रमा लागेका महिलालाई सञ्चार माध्यमहरु जहिले पनि साथ दिने उहाँले प्रतिवद्धता जनाए । ‘गाउँपालिकाले महिलालाई दिएको तालिम उपयोगीमूलक छ, यसले अवश्यपनि महिला दिदी बहिनीहरुलाई स्वरोजगार बनाउनेछ,’ उनले भने ।
पुजाको अचार कोहलपुर-८ की सञ्चालक एवम् प्रशिक्षक पुजा शर्माले दिएको जानकारी अनुसार उक्त तालिममा २२ जना महिलाहरु सहभागी भएका थिए । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको छ । समापन कार्यक्रममा तालिमका सहभागीलाई प्रमाणपत्र तथा अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
तालिममा सहभागी महिलाहरुले सिकेको सिपलाई ब्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् । सो क्रममा नेपाली कांग्रेसका नेता पवनकुमार शाह, तालिमका सहभागी लगायतको उपस्थिती रहेको थियो । तालिम समापन कार्यक्रमको सञ्चालन टिका डाँगीले गरेकी थिइन् ।
सम्बन्धित समाचार पढ्नुस् :
राप्ती सोनारीमा अचार बनाउने तालिम सुरु