काठमाडौं : सरकारले निष्क्रिय रहेको विदेशी विनिमय सञ्चितिलाई सदुपयोग गर्न रणनीति बनाउने भएको छ। सदुपयोगबारे अध्ययन गर्नका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित पछिल्लो ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनको तथ्यांक बमोजिम अहिले नेपालसँग कुल ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ।
यो विदेशी विनिमय सञ्चिति रकम अमेरिकी डलरमा २५ अर्ब ८४ करोड पुगेको छ। यो सञ्चिति नेपालको १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। सामान्यतया ६ देखि ७ महिनाको वस्तु तथा आयात धान्न सक्ने सञ्चितिलाई सुरक्षित मानिने भए पनि अहिले नेपालमा आवश्यक भन्दा निकै बढी विदेशी विनिमय सञ्चिति रकम राष्ट्र बैंकमा बिना उपयोग निष्क्रिय भएर रहेको छ।
यही निष्क्रिय रहेको विदेशी मुद्रा सञ्चितिलाई के कसरी उपयोग सकिन्छ भन्नेबारे सरकारले अध्ययन गर्न समिति गठन गरेको छ। विदेशी मुद्राको यो ठुलो सञ्चितिलाई उत्पादनशील क्षेत्र र पूर्वाधार निर्माणमा लगानी गरी आन्तरिक रोजगारी सिर्जना गर्न सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा ‘सोभरेन वेल्थ फन्ड’ बनाउने घोषणा गरेको थियो ।
समितिमा अर्थ मन्त्रालयका सहसचिव र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू सदस्य रहेका छन्। समितिले निश्चित समयतालिका सहित विदेशी मुद्रा खर्च र लगानीको खाका तयार पार्ने जिम्मा पाएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बढ्दो विदेशी मुद्रा सञ्चितिलाई प्रभावकारी रूपमा उपयोग गर्न ‘सोभरेन वेल्थ फन्ड’ आवश्यक रहेको धारणा राख्दै आएका थिए। सोही अवधारणालाई आत्मसात् गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले ‘सोभरेन वेल्थ फन्ड’ सञ्चालन गर्ने घोषणा नै गरेको थियो।
सोही योजनाअनुरूप विदेशी मुद्रा सञ्चितिलाई के कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्न समित गठनको काम अघि बढेको हो।