नेपालगन्ज : भेरी अस्पताल आजभन्दा एक सय ३५ वर्ष अगाडी कस्तो थियो होला ? धेरैलाई अस्पतालको इतिहास सुन्दा अचम्म लाग्न सक्छ । अस्पतालको ऐतिहासिक यात्रा संघर्षपूर्ण छ । वि.सं.१९४७ साल साउन १२ मा ‘पृथ्वी–वीर डिस्पेन्सरी’का नाममा ७ वटा शैयाबाट अस्पतालले स्वास्थ्य सेवा सुरु गरेको हो । एक सय ३५ वर्ष लामो इतिहास बोकेको यस अस्पताल हाल ३ सय शैयाको क्षमतामा चलिरहेको छ । यति लामो इतिहास बोकेको अस्पतालका थुप्रै आरोह-अवरोह रहेका छन् ।
संघिय राजधानी काठमाडौंमा रहेको बीर अस्पताल सँग–सँगै स्थापना भएपनि सुरुका चरणमा भेरी अस्पताल सरकारको प्राथमिकतामा खासै पर्न सकेन । सायद, मोफसलको स्वास्थ्य संस्था भएर होला, संघिय सरकारको नजरबाट भेरी अस्पताल प्रायःजसो टाढा नै रह्यो । राणाकालिन त्यो समयमा सर्बसाधारण नागरिकले गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य उपचार सेवा पाउनु त दिवा सपना जस्तै हुन्थ्यो ।
राणा शासन अन्त्य भएको लामो समयपछि यस अस्पताललाई वि.सं.२०१६ सालदेखी २०२१ सम्म रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृहका रुपमा नामाकरण गरियो । जसलाई तत्कालिन राजा महेन्द्रले २०२० साल फागुन १८ मा उद्घाटन गरे । राजाले तत्कालिन प्रसुति गृहको उद्घाटन गरेपछि भने यहाँ केन्द्रको नजर केही पर्यो । त्यसपछि विं.सं. २०२२ सालमा ‘भेरी अञ्चल अस्पताल’ नामाकरण गरी ५० शैयामा पुर्याइयो । प्रसुति गृहबाट अस्पतालमा परिणत भएपछि यसको कार्यक्षेत्र केही फराकिलो भयो ।
अस्पतालमा शैया थपिएसँगै जनशक्ती पनि थपेर काम थालियो । पश्चिम क्षेत्रका मानिसहरु उपचारका लागि भेरी अञ्चल अस्पतालमा आउने क्रम बढ्न थाल्यो । जनताको आवश्यकता र सरकारको योजना अनुसार अस्पताललाई वि.सं. २०४३ सालमा स्तरोन्नति गरेर एक सय शैयामा पुर्याइयो । अस्पताल विकास समितिको तर्फबाट थप ५० शैया गरी कुल एक सय ५० शैया कायम गरियो । लामो समयसम्म सोही क्षमतामा अस्पतालले नागरिकको उपचार गर्यो । वि.सं. २०६१ भदौं २९ मा सरकारले उक्त अस्पताललाई २ सय शैयाको अनुमति दिएपनि त्यो कार्यान्वयनमा भने आउन सकेन ।
२०७२ सालमा संविधान जारी भएसँगै तत्कालिन विकास क्षेत्र र अञ्चलको अस्तित्व मेटियो । ‘भेरी अञ्चल’ अस्पतालको नामले चिनिएको यसको अस्तित्व भने कायमै रह्यो । संघियता कार्यान्वनसँगै मुलुकलाई ७ प्रदेशमा विभाजित गरियो । भेरी अस्पताललाई पनि केही समयसम्म प्रादेशिक संरचनामा लगियो । सरकारले वि.सं. २०७५ पुसमा ‘भेरी प्रादेशिक अस्पताल’ घोषणा गर्यो । तर, त्यो घोषणा दुई महिना पनि टिक्न सकेन ।

सरकारले भेरीलाई २०७५ साल फागुनमा पुनः संघिय अस्पतालका रुपमा घोषणा गर्यो । २०७५ सालदेखी उक्त अस्पताल संघिय सरकारको मातहतमा रहेको छ । प्रदेश सरकार मातहतमा होस् या संघिय सरकारको मातहतमा रहेपनि सर्बसाधारणको बोलीचाली भाषामा अहिले पनि ‘भेरी अञ्चल’ अस्पताल कै रुपमा चिनिन्छ । आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा सरकारले भेरीलाई ५ सय शैयामा स्तरोन्नती गरेर विशिष्टकृत सेवाको अस्पताल घोषणा गर्यो, तर त्यो कार्यान्वयनमा आउन सकेन । यो बीचमा अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न थुप्रै प्रयासहरु भए । तर, ति प्रयासले सार्थकता पाउन सकेनन् ।
अस्पतालले २०७७/०७८ मा कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण गर्नमा खेलेको भूमिका प्रशंसनीय रह्यो । वि.सं. २०८० सालमा अस्पतालको शैया २ सय ७० पुर्याइएकोमा त्यसलाई निरन्तरता दिदै २०८१ को अन्तिमतिर संघिय सरकारको स्वीकृत र अस्पताल विकास समितिको समेत गरेर अहिले ३ सय शैयामा पुर्याइएको छ । अस्पतालको पुरानो भवन र नयाँ भवन दुबै ठाउँबाट बराबर सेवा दिइएको छ ।
विकास समितिमा टण्डन हुँदै शाहको नेतृत्व :
भेरी अस्पताल स्थापना भएको झण्डै एक सताब्दीपछि मात्र अस्पताल विकास समितिहरु नागरिक स्तरबाट गठन भएको पाइएको छ । अस्पतालका दस्ताबेजहरु हेर्दा वि.सं. २०४२ साल असोज २३ मा समाजसेवी कृष्ण गोपाल टण्डन अस्पताल विकास समितिको अध्यक्ष भएर काम गरे । त्यसपछि क्रमशः नवराज गुरुङले २०४५ साल असार २७ मा जिम्मेवारी सम्हाले ।
उनीपछि गम्भिर प्रधान २०४६ साल माघ ९ मा अध्यक्षको जिम्मेवारीमा पुगेको अस्पतालको दस्ताबेजमा देखिन्छ । २०५२ जेठ ८ मा पद्मा भट्टराई अस्पताल विकास समितिको अध्यक्ष भईसकेपछि त्यसको ८ महिनापछि विष्णुप्रसाद दवाडी २०५२ फागुन २३ मा अध्यक्ष भए । त्यसपछि मधुसुदन रिजाल २०५४ बैशाख २० मा अध्यक्ष भए । उनीपछि २०५४ कात्तिक ८ मा हाजी रौनक अली इद्रसी अस्पताल विकास समितिको नेतृत्वमा पुगे । तर, उनले दुई महिना मात्रै काम गरेको देखिन्छ ।
२०५४ पुस २९ मा डा. केशव राज शर्मा विकास समितिको अध्यक्ष भए । उनीपछि २०५९ मंसिर ११ मा रतनकुमार टण्डन अध्यक्षको जिम्मेवारीमा पुगे । त्यसपछि २०६१ मंसिर २३ मा विना मल्ल अध्यक्ष भए । उनीपछि २०६३ फागुन २१ मा बेदप्रसाद आचार्यले अध्यक्षको जिम्मेवारी सम्हाले । त्यसपछि डा. रमेशकुमार श्रेष्ठ २०६६ बैशाख २१ र गोविन्दबहादुर श्रेष्ठ २०६६ पुस २९ मा अध्यक्ष भए । त्यसैगरी २०६८ असार १५ मा भरत प्रसाद प्रसाई अध्यक्षको जिम्मेवारीमा पुगे ।
त्यस्तै डा. श्याम सुन्दर यादवले २०७० साउन ४ मा नेतृत्व सम्हाले । त्यसपछि २०७१ भदौं २६ मा डा. बद्री चापागाई अध्यक्ष भए । अस्पताल विकास समितिमा २०७३ पुस १४ मा डा. उषा शाह नेतृत्वमा पुगिसकेपछि डा. बिनोद कुमार गिरीले २०७५ भदौं १ मा अध्यक्ष पद सम्हाले । यस्तै २०७७ जेठ १३ मा प्रमोद कुमार धितालले जिम्मेवारी सम्हालेपछि २०८० असार २४ देखी हालसम्म बीरेन्द्रबहादुर शाह अध्यक्षको जिम्मेवारीमा छन् ।
भेरी अस्पतालको लामो इतिहास भएपनि संघिय अस्पतालको प्राथमिकतामा खासै पर्न नसकेको अस्पताल विकास समितिका वर्तमान र पुर्वपदाधिकारी बताउँछन् । समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाह काठमाडौंमा रहेको बीर अस्पतालसँग-सँगै स्थापना भएपनि भेरी अस्पताल सधैं सरकारको प्राथमिकता पर्न नसकेको बताउँछन् । ‘भेरी अस्पताल स्थापना भएको एक सय ३५ वर्ष पुग्यो, काठमाडौंको बीर अस्पताल सँग–सँगैको अस्पतालका रुपमा यसलाई लिईन्छ, तर जुन हिसाबले स्तरउन्नती हुनुपर्ने हो, त्यो अवस्था अझैपनि नपुगेको जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘अन्य नयाँ-नयाँ स्थापना भएका अस्पतालले पनि धेरै स्तरउन्नती गरिसकेका छन्, धेरै पहिलादेखी साविकको मध्य र सुदुरपश्चिम क्षेत्रको मुख्य केन्द्रको रुपमा रहेपनि भेरी अस्पताल सरकारको प्राथमिकतामा परेन ।’ अस्पतालको सेवाहरु भने पहिलेको भन्दा धेरै राम्रो भएको उनी बताउँछन् ।
‘हाम्रो कोशिस जारी छ, म आफु पनि अध्यक्ष भएर आईसकेको दुई वर्ष पुरा भएर तेस्रो वर्षमा चल्दैछ, केही सेवा विस्तार भएका छन्, तर भौतिक निर्माणमा हामी अहिले पनि अगाडी बढ्न सकेको अवस्था छैन, अस्पतालमा बिरामीको चाप अत्यधिक छ, हामीले धेरै पहल गरेका छौं, तरपनि हामीले सहयोग पाईरहेको अवस्था छैन,’ अध्यक्ष शाह थप्छन् । भौतिक पुर्वाधार र जनशक्ती अभावले गर्दा चाहेका कामहरु गर्न नसकिएको उनको दुखेसो छ । ‘अझैपनि धेरै भौतिक पुर्वाधारको अभावले नै भनेको जस्तो काम गर्न सकेको अवस्था छैन, स्वीकृत दरबन्दी बाहेक हामीले ३ सय बेड सञ्चालनमा ल्याएका छौं, यसमा हामीलाई जनशक्तिको ठुलो अभाव छ,’ अध्यक्ष शाह भन्छन् ।
संघिय सरकारले भेरी अस्पतालका लागि ५ सय बेडको ‘ओएनएम’ गरेतापनि कुनैपनि दरबन्दी स्वीकृत नभएको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालका लागि वर्षेनी बजेटको ‘भोलुम’ बढ्दै जानुपर्नेमा झन् घट्दै गईरहेकोमा विकास समितिका पदाधिकारी चिन्तित हुनुहुन्छ । अस्पताल विकास समितिका सदस्यहरु डा. डक्टप्रसाद धिताल, किरण आचार्य र समिर गुरुङको पनि एउटै भनाई छ, ‘सरकारले भेरी अस्पताललाई आफ्नो विशेष प्राथमिकतामा राखोस् र यहाँ पर्याप्त भौतिक पुर्वाधार, जनशक्ति ब्यवस्थापन र स्वास्थ्य उपकरणको ब्यवस्था गरियो भने यसक्षेत्रका नागरिकलाई अझ गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्थ्यो ।’ अस्पताललाई अझ दक्ष जनशक्ति र भौतिक पुर्वाधारयुक्त बनाउने विकास समितिको सपना छ । तर, यसलाई पुरा गराउन संघिय सरकारकै भर पर्नुपर्ने अवस्था रहेको छ ।
अस्पताल विकास समितिका पुर्वअध्यक्ष बेदप्रसाद आचार्य संघिय सरकार परिवर्तन हुने बित्तिकै भेरी अस्पतालमा पनि त्यसको असर पर्दा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पर्ने गरेको बताउँछन् । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा सरकार परिवर्तनले पनि असर नगर्ने खालको नीति बनाउन आवश्यक रहेको उनको सुझाव छ । भेरी अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा विकास गर्ने पहिलेदेखीको योजना पुरा हुन नसकेपनि पछिल्लो समयमा एमडी/एमएस विषय पढाई सुरु हुँदा थोरै भएपनि बाँकेबासीमा आशा जगााएको पुर्वअध्यक्ष आचार्य बताउँछन् ।
‘भेरीमै मेडिकल कलेज सञ्चालन गर्न पाएको भए एमबिबिएस र त्यसपछि एमडी/एमएसको पढाई बिस्तार गर्न सजिलो हुन्थ्यो, आफ्नै बिद्यार्थीबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिन्थ्यो, तर त्यो प्रयासले सार्थकता पाएन,’ आचार्य भन्छन् । काठमाडौंको बीर अस्पताल सँग–सँगै स्थापना भएको भेरी अस्पताल संघिय सरकारको प्राथमिकतामा नपर्नुका पछाडी बाँकेस्थित राजनीतिक नेतृत्वको समस्या रहेको उनको तर्क छ ।

श्रेष्ठदेखी सुवेदीसम्म मेडिकल सुपरिटेन्डेण्ट :
स्थापनाको एक सय ३५ वर्ष पुगेपनि २०४२ सालदेखी मात्र भेरी अस्पतालमा सरकारले मेडिकल सुपरिटेन्डेण्ट(मेसु)को जिम्मेवारी दिएको छ । २०४२ देखी हालसम्म अस्पतालले २२ औं पटक मेडिकल सुपरिटेन्डेण्ट परिवर्तन गरिसकेको छ । २०४२ साल असोज २२ मा डा. गोपालप्रसाद श्रेष्ठले पहिलो मेसुका रुपमा जिम्मेवारी निभाएको अस्पतालको दस्ताबेजमा उल्लेख गरिएको छ ।
श्रेष्ठको झण्डै एक महिने कार्यकाल पश्चात २०४२ कात्तिक १८ मा डा. दुर्गाप्रसाद मानन्धर मेडिकल सुपरिटेन्डेण्टमा नियुक्त भए । २०४२ मै दुर्गाप्रसाद प्रधान मेसुको जिम्मेवारीमा पुगे । यस्तै २०५१ चैत १६ मा डा. मोहीउद्दिन किदवाई मेसु बने । यसैगरी २०५५ कात्तिक १७ मा डा. अरुणकुमार कोईराला जिम्मेवारीमा पुगे । त्यसपछि २०५८ माघ १२ मा डा. दुर्गाप्रसाद प्रधान पुनः मेसु बने । यस्तै २०६२ असोज २३ मा डा. उषा शाहले मेसुको जिम्मेवारी पाइन् । यसैगरी २०६४ असार २० मा डा. श्यामसुन्दर यादव मेसु बनेको उल्लेख छ ।
२०६६ कात्तिक २० मा डा. बिमल प्रसाद ढकाल मेसुको जिम्मेवारीमा पुगे । त्यसपछि २०६६ माघ ६ मा डा. नरेन्द्रकुमार राय मेसु बने । यसैगरी २०६९ साउन ३ मा डा. विनोदकुमार खेतान नियुक्त भए । त्यसपछि २०६९ चैत १२ मा डा. पिताम्बर सुवेदी मेसु बने । यस्तै २०७२ जेठ ३१ मा डा. श्याम सुन्दर यादव पुनः मेसु बने । त्यसपछि २०७३ मंसिर २१ मा डा. बीरेन्द्रबहादुर चन्द मेसुको जिम्मेवारीमा पुगेको देखिन्छ ।
त्यसैगरी डा. चन्दपछि डा. प्रकाशबहादुर थापा २०७५ जेठ ४ र डा. रुपानन्द अधिकारी २०७५ असोज ५ मा मेसुको जिम्मेवारीमा पुगे । त्यसपछि २०७६ फागुन ८ मा डा. प्रकाशबहादुर थापा पुनः मेसु बने । थापापछि २०७८ असोज १८ मा पुनः डा. बीरेन्द्रबहादुर चन्दले नै मेसु चलाए । त्यस्तै २०७९ असार १५ मा डा. बद्री चापागाई मेसु बने । त्यसपछि २०८० साउन २६ मा डा. पवनजंग रायमाझी मेसुको जिम्मेवारीमा पुगे । रायमाझीपछि २०८१ असार २१ मा डा. प्रकाशबहादुर थापा पुनः मेसुमा नियुक्त भए ।
तेस्रो पटक मेसुको जिम्मेवारीमा पुग्नु भएका थापापछि २०८१ असोज ९ गतेदेखी हालसम्म डा. निराजन सुवेदी मेसुको जिम्मेवारीमा छन् । अस्पतालले १ सय ३५ वर्षसम्म गरेको आरोह-अवरोहलाई प्रत्यक्ष अनुभव गरेका अधिकांस ब्यक्ति अहिले जिवित छैनन् । कतिपय मेडिकल सुपरिटेन्डेण्टहरु भेरी अस्पताल पश्चिम क्षेत्रका जनताको मन मुटुमा बस्न सफल भएको कुरामा भने सहमत छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. सुवेदी विभिन्न आरोह-अवरोह पार गर्दै यहाँसम्म आएको अस्पतालमा केही राम्रा सेवाहरु थपिदाँ नयाँ युगको सुरुवात भएको बताउँछन् ।
‘कुनै समयमा अञ्चल अस्पताल मात्रै रहेकोमा अहिले आएर यो संघिय अस्पताल हुँदा यसले आफ्नो सेवा धेरै नै फैलाईसकेको छ,’ मेसु सुवेदी भन्छन्, ‘पहिले स्पेशलिष्ट सर्भिस मात्रै दिईरहेको अवस्थामा पछिल्लो समयमा सुपरस्पेशलिष्ट सर्भिसहरु अस्पतालले प्रदान गरिरहेको छ, यसवर्षदेखी यस अस्पतालमा एमडी/एमएसको पढाई हुन थालिसक्यो, अहिले रेजिडेन्ट डाक्टरहरु चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट आईसक्नु भएको छ, यो पनि भेरी अस्पतालका लागि नयाँ युगको सुरुवात हो ।’ साविकको मध्यपश्चिम र सुदुरपश्चिमको रेफरल सेन्टरका रुपमा रही आएको उक्त अस्पताल अहिले विशिष्टकृत सेवादेखी डाक्टरी (एमडी/एमएस) पढाउने सम्मको अस्पताल हुनुलाई ठुलो उपलब्धीका रुपमा लिन सकिने उनको तर्क रहेको छ ।
अस्पतालको नयाँ भवनबाट ‘अपरेशन थिएटर’का रुपमा ४ र पुरानो भवनबाट २ वटा गरी कुल ६ वटा टेबल सञ्चालनमा रहेका छन् । अस्पतालाई अझै राम्रो बनाउनका लागि भौतिक पुर्वाधार निर्माण र जनशक्ति ब्यवस्थापन नै प्रमुख चुनौती रहेको मेसु डा. सुवेदी बताउँछन् । ‘ओपिडी भवन धेरै पुरानो भईसक्यो, त्यसले गर्दाखेरी बिरामीहरुलाई एकदमै समस्या भईराखेको छ, त्यो पुरानो भवन भत्काएर गुरुयोजना अनुसार ७ तलाको जुन अस्पताल बनाउने योजना छ, त्यो गराउन सकियो भने अस्पतालले सेवामा आफुलाई अपग्रेट गर्न सक्थ्यो, मुख्य समस्या भौतिक पुर्वाधार र दोस्रो मानव स्रोत साधनको रहेको छ ।’
२०४७ सालको पुरानो ‘ओएनएम’ भेरी अस्पतालमा अहिलेसम्म पनि लागु अवस्थामा रहेको छ । ‘त्यतिबेला एक सय शैयाको लागि स्वीकृत अस्पताल हो, तर हामीले अहिले तीन सय शैया सञ्चालनमा ल्याएका छौं, त्यसकारण मानव स्रोत साधनको पनि आवश्यक छ, एक सय ८० जना जनशक्ती भेरी अस्पतालमा पनि थपिने भनेर समाचारमा आएको थियो । फेरी अर्थ मन्त्रालयबाट फाईल फिर्ता भयो भन्ने पनि समाचार सुनियो, यो २ वटा कुराको सम्बोधन भयो भने अस्पतालले आफ्नो सेवा, सविधाहरु धेरै नै बढाउन सक्थ्यो होला,’ डा. सुवेदी थप्छन् ।
अस्पतालका पुर्वमेसु डा. बिनोद खेतानका नजरमा अस्पतालले पछिल्लो समयमा धेरै फड्को मारिसकेको छ । अस्पतालमा थपिएका विशिष्टकृत सेवाले अस्पतालको उचाई थप बढाएको उनको बुझाई छ । ‘भेरीमा एमडी/एमएस पढाई सुरु गरिनु, मृगौला प्रत्यारोपनसहित अन्य जटिल रोग सम्बन्धी विशिष्टकृत सेवा थपिनु अत्यन्तै सकारात्मक कुरा हो,’ उनले भने । तर, अस्पतालका लागि राजनीतिक तहबाट खासै पहल नभएको डा. खेतान बताउँछन् । ‘भेरी अस्पतालको विकास गर्नका लागि बाँकेमा राम्रो नेता भएनन्,’ उनले भने, ‘सुशिल कोईरालाको निधन भईसकेपछि बाँकेको विकासमा नेतृत्व गर्ने गतिलो नेता जन्मिएन की भन्ने लाग्छ ।’

विशेषज्ञदेखी विशिष्टकृत सेवासम्म :
स्थापनाकालदेखी केही वर्षसम्म यस अस्पताल सामान्य औषधी उपचारमा मात्र सिमित रह्यो । पछि बिस्तारै विशेषज्ञ सेवा दिन थालेको अस्पतालले केही वर्षदेखी विशिष्टकृत सेवा प्रदान गर्दै आएको छ । अस्पतालले हाल एमआरआई, मुटुरोग(क्याथल्याब), नेफ्रोलोजी, मृगौला प्रत्यारोपन, डायलाइसिस, जलन, सिकलसेल/थालेसिमिया, स्पाइन सर्जरी, यूरोलोजी, ग्याष्ट्रो सर्जरी लगायत विशिष्टकृत सेवा सञ्चालन गर्दै आएको छ ।
यस्तै जनरल फिजिसियन सेवा, जनरल सर्जरी सेवा, स्त्री तथा प्रसुती सेवा, बाल तथा शिशु सेवा, एनेस्थेसियोलोजी सेवा, हाडजोर्नी, दन्त चिकित्सा, इएनटी (नाक कान र घाँटी), चर्म तथा यौन रोग, मानसिक रोग, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, आँखा रोग लगायतका विशेषज्ञ सेवाहरु सञ्चालन गरिरहेको छ ।
(भेरी अस्पतालले हालै प्रकाशनमा ल्याएको वार्षिक स्मारिका ‘अक्सिजन’ को अंक ५ बाट साभार गरिएको)