नेपालगन्ज : नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सुु कोइरालाले आफु झुटो आश्वासन बाँड्नका लागि जनताको घरदैलोमा नआएको प्रष्ट्याएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उनले चुनावको मुखमा झुटो बोल्ने प्रवृत्तिकै कारण विगतमा राजनीतिप्रतिको विश्वास विगतमा घटेको बताए ।
बाँकेको क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपलिकामा मतदाता भेटघाटका क्रममा आइतबार उम्मेदवार कोइरालाले नेपाली कांग्रेसका उम्मेदवारले जनतासँग कहिल्यै झुटो नबोल्ने बताए । ‘म तपाईहरुलाई झुटो आश्वासन दिदैन, मेरो क्षमताले गर्न सक्ने काम मात्रै गर्छु भन्छु, आफुले गर्न नसक्ने काममा उधारो र झुटो आश्वासन दिदैन,’ उनले भने, ‘बरु चुनाव जितेपछि क्षेत्र नम्बर २ को विकास के कसरी गर्ने भनेर तपाईहरुबाट सल्लाह, सुझाव लिएर अगाडी बढ्नेछु ।’
भेटघाटका क्रममा जनताले उठाएका समस्यालाई सरकार र सदन समक्ष पुर्याएर समाधान गर्न ठोस रुपमा पहल गर्ने युवा उम्मेदवार कोइरालाले प्रतिवद्धता जनाए । कामको अवस्था हेरेर स्थानीय, प्रदेश र संघिय सरकारबाट आफुले आवश्यक पहल गर्ने उनको भनाई छ । सो क्रममा डुडुवाका स्थानीय बासिन्दाले सिक्टा सिंचाई आयोजनाको निर्माणाधिन सिधनिया शाखा नहरका विषयमा आफ्नो जिज्ञासा तथा गुनासो पोखेका थिए । नहर निर्माणको काम अधुरो हुँदा हरेक वर्ष खेतीयामको समयमा सिंचाई गर्न समस्या हुने गरेको उनीहरुको गुनासो थियो ।
मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी ‘पप्पु’ले स्थानीय सरकारको बजेटबाट हुन सक्ने कामहरुलाई आफुले प्राथमिकतामा राखेको र ठुलो आकारको बजेटबाट हुने कामका लागि भावी कांग्रेसका युवा नेता कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।
‘हामीले गर्न सक्ने काम गाउँपालिकामार्फत गर्छौ, हाम्रो क्षमताले नसक्ने काममा उहाँ (कोइराला) मार्फत संघिय सरकारबाट बजेट ल्याएर पुरा गर्नेछौं,’ चौधरीले भने । उम्मेदवार कोइरालाले आइतबार डुडुवाको कम्दी हलकारापुर्वा, बालापुर्वा, सिधनिया लगायत गाउँ तथा नेपालगन्जका विभिन्न स्थानमा भेटघाट गरेको कांग्रेसका युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।