काठमाडौं : निर्वाचन आयोगले दिएको समयको अन्तिम दिन दलहरुले समानुपातिक तर्फका सांसदको नामावली बुझाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका दलले नामावली आयोगमा बुझाएका हुन् । रास्वपाले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । रास्वपा केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
उनका अनुसार रास्वपाले खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय कार्यलयले जिम्मेवारी दिएर केही कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा तोकिएको समयभित्र निर्वाचन आयोगमा नामावली बुझाइने प्रवक्ता झाले बताए । निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दलहरूलाई आइतबार सम्मको समय दिएको थियो । रास्वपाले अहिले बुझाएको सूचीमा भएका नामहरू भने सार्वजनिक नगर्ने भएको छ ।
यस्तै प्रतिनिधि सभा निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम तय गरी निर्वाचन आयोगमा पठाएको छ । फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ २० सिटमा १५ जना महिला र ५ जना पुरूषको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
तत्कालिन सभापति शेरबहादुर देउवाको कार्यकालमा समानुपातिकतर्फ नाम निर्वाचन आयोगमा पठाइएको थियो । सोही सूचीबाट २० जनाको नाम अहिले सिफारिस गरिएको हो । प्रवक्ता चालिसेले पार्टीले समानुपातिकतर्फ नाम सिफारिस गरिएको सम्बन्धी विवरण पछि निर्वाचन आयोगले सार्वजनिक गर्ने पनि बताए ।
यसैगरी नेकपा (एमाले)ले प्रतिनिधि सभाको समानुपातिकतर्फ प्राप्त सिट अनुसार १६ जना सम्भावित सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । आइतबार पार्टीले उक्त सूची आयोगमा पेश गरेको हो । पार्टीका केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार विभिन्न समावेशी क्लस्टर मिलाएर सांसदका लागि नाम सिफारिस गरिएको छ । सूचीमा महिला, पुरुष तथा विभिन्न समुदायका प्रतिनिधिहरूलाई समेटिएको उनले बताए ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आयोगलाई समानुपातिकतर्फका सांसद सिफारिस गरेको छ । नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ । सो अनुसार ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको नेकपाका एक नेताले जानकारी दिए ।
त्यस्तै श्रम संंस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । धरानमा आइतबार बसेको बैठकले नाम तय गरी निर्वाचन आयोगलाई सिफारिस गरेको हो । समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जानकारी दिए ।
यसैबीच राप्रपाले पनि समानुपातिकतर्फ ४ जना सांसद छानेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले समानुपातिक ४ सिटका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो ।