नेपालगन्ज : सर्बसाधारण नागरिकले औषधी नखाईदिएपछि सरकारले यसवर्ष पनि बाँकेमा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई निरन्तरता दिएको छ । यसपटक हुन लागेको यो १६ औं अभियान हो ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका सबै वडा तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा यसपटक पनि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइँदैछ ।
एकै पटक कम्तिमा ८० प्रतिशत सर्बसाधारण नागरिकले औषधी सेवन नगर्दासम्म हात्तीपाइले रोग निवारण गर्न सम्भव हुँदैन । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार ६२ प्रतिशत नागरिकले मात्र यि स्थानीय तहमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेको पाइएको छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत महत्तोले बाँकेका यि स्थानीय तहमा मापदण्ड अनुसारको औषधी सेवन हुन सकेको छैन । ‘नेपाल सरकारले १६ औँ पटक अभियान सञ्चालन गर्दैछ, सर्बसाधारण नागरिकले औषधी खाईदिनु भयो भने सरकारको उद्देश्य पुरा भईहाल्थ्यो, औषधी नै नखाईदिदाँ हात्तीपाइले रोग निवारण अभियान नेपालमाचुनौतीपूर्ण बनाइरहेको छ,’ उनले भने ।
नेपालगन्जमा सञ्चारकर्मीसँग गरिएको अन्तरक्रियामा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताइन् । उक्त कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगज्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले नेपाल सरकारले थालेको हात्ती पाइले रोग निवारण अभियानलाई सबैले औषधी सेवन गरेर सफल बनाउनुपर्ने बताए ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अभियानको उद्देश्यबारे प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन कार्यालयका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माले सहजीकरण गरेका थिए ।