बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाभित्र ३८ वटा सामुदायिक र २० वटा संस्थागत बिद्यालय छन् । यि सबै बिद्यालयलाई गाउँपालिकाको शिक्षा शाखाले नै नियमन गर्छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा शैक्षिक गुणस्तर सुधारका लागि थुप्रै क्रियाकलाप गरेको छ ।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयको क्षमता अभिवृद्धि, विभिन्न कार्यक्रम र शैक्षिक पुर्वाधार निर्माणको काम तथा संस्थागत बिद्यालयको नियमन लगायतका काम गरेको छ । गाउँपालिकाको शिक्षा शाखाका अनुसार गाउँपालिकाले बिद्यालयमा पिटी सञ्चालनका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।
बाल विकास केन्द्रमा अध्ययनरत शिक्षकको दक्षता अभिवृद्धि तालिम प्रदान गरिएको छ । आधारभुत तहको परीक्षा सञ्चालन तथा ब्यवस्थापन गरिएको छ । शैक्षिक डकुमेन्ट्री निर्माण गरिएको छ । यस्तै गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ । अतिरिक्त क्रियाकलाप सञ्चालन, सामुदायिक र संस्थागत बिद्यालयका शिक्षकहरुको लागि पेशागत दक्षता अभिवृद्धि तालिम पनि सोही आर्थिक वर्षमा प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष एवम गाउँ शिक्षा समितिका अध्यक्ष प्रकाशबहादुर शाही शिक्षामा सुधार ल्याउनका लागि भौतिक पुर्वाधार निर्माणसँगै प्रधानाध्यापक तथा अध्यक्षसँग नियमित बैठक, तालिम, अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । शिक्षामा अनुगमन तथा नियमनको काम पनि भएको उनले बताए । ‘शिक्षामा अझै सुधार गर्न बाँकी छ र अहिलेसम्म धेरै सुधार गरेका छौं,’ उनले भने ।
गाउँ शिक्षा योजना निर्माण
शिक्षालाई माथी उठाउन गाउँपालिकाले गाउँ शिक्षा योजना समेत निर्माण गरिसकेको छ । बिद्यालयहरुका लागि सूचना प्रविधी प्रवद्र्धन ब्यवस्थापन कार्यक्रम, बिद्यालय सञ्चालन र ब्यवस्थापन अनुदान, स्थानीय पुस्तक लेखन तथा कार्यान्वयन अभिमुखिकरण, गुणस्तरीय शिक्षाका लागि अनुगमन गरिएको छ ।
यसैगरी कक्षा ११ र १२ मा गाउँपालिकाभित्र सञ्चालन भएका सामुदायिक बिद्यालयका छात्राहरु, अल्पसंख्यक र सिमान्तकृतलाई पूर्ण निःशुल्क कार्यक्रम गरिएको छ । द्धन्द्ध पीडित, दलित, बेपत्ता पारिएका, घाइते जनजाति परिवारका छात्रालाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको छ । आधारभुत तह र एसइई परिक्षा केन्द्र व्यवस्थापनका लागि सिसी क्यामेरा जडान गरिएको छ ।
यसैगरी प्रविधीमैत्री सिकाइका लागि शैक्षिक सामाग्री खरिद, बिद्यालयमा आवश्यकतामा आधारित फर्निचर वितरण, आवश्यकताका आधारमा बिद्यालयमा खानेपानी र शौचालय ब्यवस्थापन, बैजनाथ-८ स्थित भगवती माबि र बैजनाथ १ स्थित सुर्योदय माबिको भवन निर्माण तथा बिद्यालय भवन निर्माणमा साझोदारी कार्यक्रम गरिएको छ ।
गाउँपालिकाभित्र ४ वटा बिद्यालयमा अध्ययन गर्ने छात्राको ५० प्रतिशत शुल्क गाउँपालिका कार्यालयले ब्यहोरेको छ । गाउँपालिकाले ति छात्राका लागि छात्रवृत्ति वापतको रकम सम्बन्धित बिद्यालयको खातामा पठाएर उनीहरुलाई लक्षित कार्यक्रममा समेटेको छ । विशेषगरी गरिवीका कारण पढ्न नसक्ने अवस्थामा रहेका ति छात्रालाई स्थानीय सरकारले कार्यक्रम ल्याएको शाखाले जनाएको छ ।
यस्तै सिमान्तकृत समुदायका र अतिविपन्न परिवारका छात्राका लागि भने गाउँपालिकाले शतप्रतिशत मासिक शुल्क गाउँपालिकाले नै ब्यहोरेको छ । यस्तो कार्यक्रम सञ्चालन गर्नेमा सम्भवतः बैजनाथ नै जिल्लाको एक मात्र स्थानीय सरकार भएको शाखाको दाबी छ । यसैगरी उच्च शिक्षा अध्ययनका लागि प्रत्येक वडाबाट सम्बन्धित वडा कार्यालयको सिफारिसमा अतिविपन्न परिवारका एक जना छात्र गरी कुल ८ जना छात्रालाई पनि उच्च शिक्षा छात्रवृत्तीको ब्यवस्था गरिएको शिक्षा शाखाले जनाएको छ ।
सिसी क्यामेरा जडान
शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत गाउँपालिकामा सञ्चालित बिद्यालयका परीक्षा केन्द्रमा सिसी क्यामेरा जडान गरिएको हो । परिक्षालाई मर्यादित र ब्यवस्थित बनाउनका लागि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट २० लाख रुपैयाँको लागतमा गाउँपालिकाले कुल १२ वटा परीक्षा केन्द्रमा सिसी क्यामेरा जडान गरेको थियो । शाखाका अनुसार उक्त परीक्षा केन्द्रमा रहेका १ सय ३४ वटा कोठामा जडान गरिएको छ ।
‘आधारभुत तहको परीक्षा गाउँपालिकाले सञ्चालन गर्छ, एसइई परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्छ,’ शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक शोभा ढकालले भनिन्, ‘ति परीक्षा केन्द्रमा सिसी क्यामेरा जोड्नुपर्छ भनेर विशेषगरी गाउँपालिका अध्यक्ष ज्युको पहलमा जडान गरिएको हो, जसमा एसइई परीक्षा केन्द्रमा ४ वटा र आधारभुत तह परीक्षा केन्द्रमा ८ वटा गरी कुल १२ वटा सिसी क्यामेरा जडान गरिएको छ ।’
सिसी क्यामेरा जडान गरेपछि २०८१ सालको आधारभुत तह र एसइई परीक्षा मर्यादित रुपले सम्पन्न भएको उनले बताइन् । क्यामेरा जडानले स्थलगत रुपमा अनुगमन गर्ने पद्धतिलाई केही कम पनि गरेको उनले सुनाइन् । ‘विगतका दिनमा कक्षा कोठाभित्रै पसेर परीक्षा अनुगमन गर्ने गरिन्थ्यो, त्यसले परीक्षा दिइरहेका बिद्यार्थीहरुमा डर, त्रासको वातावरण सिर्जना हुन्थ्यो, शान्त वातावरणमा परीक्षा दिइरहेका बेलामा कक्षा कोठामा एक्कासी बाहिरका मान्छेहरु पुग्दा कतिपय हात नचल्ने समस्या सिर्जना हुन्छ, यसले परिक्षाको नतिजामा प्रतिकुल असर पर्ने खतरा रहन्छ,’ उनले भनिन्, ‘परिक्षा केन्द्रमै गएर अनुगमन गर्ने विगतमा पद्धति जुन थियो, त्यो चाही सिसी क्यामेरा जडान गरेपछि अलिकति घट्यो ।
उपाध्यक्ष निर्मला रोकाय भन्छिन्, ‘त्यसरी कार्यक्षेत्रमै धेरै मान्छेहरु जाँदा परीक्षामा नकारात्मक प्रभाव पर्ने र त्यसको प्रभावकारिता नहुने हुँदा गाउँपालिकाबाट नै सिसी क्यामेराबाट सुक्ष्म तरिकाले अनुगमन गर्नुपर्छ, जो कि बालबालिकालाई थाहा नहोस् भनेर सिसी क्यामेरा जडान गर्नुपर्ने अवस्था आयो ।’
सिसी क्यामेरा जडान गर्दा कतिपयले बिद्यार्थीको मनोबल घट्ने, हतोत्साहित हुने, परिक्षामा लेख्न नसक्ने जस्ता समस्या आउँछन कि भन्ने आशंका पनि गरेका थिए । तर, गाउँपालिकाले सिसी क्यामेरा जडान गर्नुअघि नै सम्बन्धित बिद्यालयमा सिसी क्यामेरा किन जडान गरिदैछ ? यसको सकारात्मक पक्षहरु के–के छन् ? यसले के–के राम्रो काम गर्छ ? सिसी क्यामेरासँग डराउनु पर्दैन । निर्धक्क भएर लेख्नुपर्छ भनेर बिद्यार्थीलाई बुझाएको थियो ।
पछिल्लो समयमा बिद्यार्थीहरु मल्टिमिडियातर्फ ब्यस्त देखिन्छन् । कतिपयले पढाईलाई छाड्ने र अन्यत्रै लाग्ने प्रवृत्ती छ । यस्तो प्रवृत्तीलाई रोक्न र शिक्षाको गुणस्तर माथी उठाउन सिसी क्यामेरा जडान योजना गाउँपालिकाको प्राथमिकतामा परेको उपाध्यक्ष रोकाय बताउँछिन् ।
‘मेहनत गरेर पढ्नु पर्दैन, परिक्षामा जसरी पनि चिट चोरेर पास भईन्छ भन्ने मनोविज्ञान कतिपय बिद्यार्थीहरुमा देखियो, उनीहरुले पढाईलाई अलिकति पनि ध्यान नदिने भएको हुनाले शिक्षाको स्तर बढाउन सिसी क्यामेरा जडान गर्ने विकल्प आएको हो,’ उनले भनिन् । गाउँपालिकाले क्रमशः अन्य बिद्यालयमा पनि सिसी क्यामेरा जडान गर्ने योजना बनाएको छ ।
गाउँपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक भूमिसरा रानाले शैक्षिक गुणस्तर सुधार गर्नका लागि बिद्यालय अनुगमन सहितका गतिविधी भएको बताए । ‘हामीले एकातिर अनुगमनको कामलाई अगाडी बढाउँछौं, अर्कोतिर बिद्यालयमा शैक्षिक र पुर्वाधार विकासको काम गर्छौ,’ उनले भनिन् ।
भौतिक र शैक्षिक सुधार
शैक्षिक गुणस्तर सुधारका लागि विशेष गरी बिद्यालयको भौतिक र शैक्षिक पक्षलाई गाउँपालिकाले विशेष ध्यान दिएको छ । भौतिक पक्षका रुपमा गाउँपालिकाले केही बिद्यालयमा भवन, कक्षा कोठा, पर्खाल, शौचालय जस्ता पुर्वाधार निर्माणको काम गरेको छ । यस्तै बिद्यालयमा फर्निचर ब्यवस्थापन कार्यलाई पनि गाउँपालिकाले जोड दिएको छ ।
गाउँपालिकाले कक्षा ११ र १२ को परीक्षालाई ध्यान दिएर फर्निचर ब्यवस्थापन गरेको छ । जीर्ण बिद्यालय मर्मत सम्बन्धी कार्यक्रम अन्तर्गत भवन, शौचालय, खानेपानी जस्ता भौतिक पुर्वाधार मर्मतका काम गरिएको छ । सामाजिक विकास समितिका संयोजक भूमिसरा रानाका अनुसार शैक्षिक पक्षका रुपमा शिक्षकलाई विभिन्न खालका पेशागत दक्षता सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
‘बाल विकास सहजकर्ताहरुको क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रम सञ्चालन गरिएको छ,’ संयोजक रानाले भनिन्, सामुदायिक बिद्यालयका शिक्षकको क्षमता अभिवृद्धि कार्यक्रम पनि राखिएको छ, गुणस्तर सुधारसँग सम्बन्धित अनुगमन कार्यलाई पनि बढी फोकस गरेका छौं ।’ गाउँपालिकाभित्र रहेका सबै बिद्यालयको सघन रुपमा गाउँ शिक्षा समितिका सम्पूर्ण पदाधिकारीलाई सहभागी गराएर बिद्यालयको वास्तविक चित्र के छ भनि बृहत अनुगमन कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
सिकाई उपलब्धी
शिक्षा शाखा प्रमुख, वरिष्ठ शिक्षा अधिकृत विष्णुप्रसाद ढकालका अनुसार परम्परागत रुपमा मापन गर्ने भनेको नै सिकाई उपलब्धी नै हो । ‘बिद्यालयको भवन, शैक्षिक सामाग्री, करेसाबारी, मैदान हुनुपर्यो, त्यसपछि नियमन गर्ने कुरामा शिक्षक र बिद्यार्थीका पोशाकको कुरा, शिक्षक र बिद्यार्थी समयमा उपस्थिती हुने कुरा, बिद्यार्थीलाई सिकाउने कुराले प्रभाव पार्छ,’ उनले भने ।
स्थानीय तहमा लागु भएका पाठ्यक्रमले बिद्यार्थीलाई ब्यवहारिक शिक्षा दिने प्रमुख ढकाल बताउँछन् । उनी भन्छन्, ‘बिद्यार्थी बसेको भुगोलको बारेमा जानकारी हुनुपर्छ भन्ने उद्देश्य राखेर स्थानीय पाठ्यक्रम राखिएको हो, पाठ्यक्रममा सबै कुराको बारेमा जानकारी राखेको हुँदा यो ब्यवहारिक शिक्षा हो ।’