बाँके(बैजनाथ) : बजारको 'कोलाहल' वातावरण भन्दा अलि बाहिर जानु परेमा पछिल्लो समयमा सर्बसाधारणको रोजाईमा परेको छ, 'सुतैया ताल' । बाँकेको कोहलपुर बजारबाट करिव ६ किलोमिटर उत्तरतर्फ सुर्खेत रोडको छेउमै पर्ने उक्त ताल बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेकाले ताल प्राकृतिक रुपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नेहरुका लागि उत्तिकै महत्वपूर्ण पनि मानिएको छ ।
जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त तालमा पुगेपछि जो कोहीको मन आनन्दित हुन्छ । स्थानीयका अनुसार पानी खान आउने दुर्लभ वन्यजन्तुको यहाँ सहज रुपले आवत-जावत हुन्छ । यो ताललाई स्थानीय बासिन्दाले विगत एक दशकदेखी निरन्तर रुपले संरक्षण, सम्बर्दन गरिरहेका छन् ।
स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले तालको संरक्षण, सम्बर्दन गर्दै आएको छ । स्थानीय बादिन्दाका अनुसार ताल करिव ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वन समुहका पूर्वअध्यक्ष महेन्द्र थारुका अनुसार विगत १२ वर्षदेखी स्थानीय बासिन्दाले ताल संरक्षण गर्न सुरु गरेका हुन् ।
‘ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तुहरु पानी खान आउन थालेका छन्,’ उनले दुर सन्चारसँग भने ‘यहाँ पाटेबाघ, चित्तल, बँदेल लगायत थुप्रै वन्यजन्तुहरु आउँछन, यहाँ आएर वन्यजन्तु सहजै हेर्न पाइन्छ, यो ताल वन्यजन्तुको गन्तव्य बनेको छ ।’ ताललाई स्थानीयले ‘कन्वा ताल’ भनेर पनि चिन्दै आएका छन । ताललाई वरिपरी घना जंगलले घेरेको छ । यसले गर्दा वन्यजन्तुका लागि पानी खाने उपयुक्त स्थान बन्न पुगेको छ ।
ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका गतिविधि गर्न सकिने प्रसस्त सम्भावना देखिन्छन् । तर, स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोत, साधन छैन । स्रोत अभावका कारण तालमा कुनै गतिविधी बढाउन सकिएको छैन । ताल अवलोकन गर्न थुप्रै ब्यक्ती पुग्ने गर्छन् । तर, यहाँ पुर्वाधार खासै बन्न सकेको छैन । राज्यले ध्यान नदिदाँ पर्यटकीय सम्भावना बोकेको तालको सौन्दर्य नै ओझेलमा परेको स्थानीय बताउँछन् ।
स्थानीय सरकार(बैजनाथ गाउँपालिका) ले तालका लागि केही मात्रामा बजेट छुट्याउँदै आएको छ । तर, स्थानीय सरकारको बजेटले मात्र पर्याप्त नहुने स्थानीय बताउँछन् । ताल बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले संरक्षणमा थप टेवा पुगेको सरोकारवाला बताउँछन ।
ताललाई संरक्षण गर्न गाउँपालिका कार्यालयले केही काम थालेको छ । ताल संरक्षणका लागि यहाँ बैजनाथ गाउँपालिकाले वरिपरी ड्याम निर्माण गरेको छ । गाउँपालिकाले तालको डिपिआर समेत तयार गरिसकेको छ ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही डिपिआर निर्माण गरेर ताललाई थप संरक्षण सम्बन्धी कामको गरिएको बताउँछन । ‘हामीले तालको डिपिआर तयार गरिसकेका छौं, संघ र प्रदेश सरकारले बजेट हालेपछि पर्यटकीय गन्तब्यको रुपमा पनि यसलाई विकास गर्ने योजना छ,’ उनले भने । स्थानीय सरकारसँग सिमित बजेट हुने भएकाले चाहेर पनि गर्न नसकिने अवस्था रहेको अध्यक्ष शाही बताउँछन् ।