बाँके,(नरैनापुर) : नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय स्तरमै सहज रूपमा कर सेवा उपलब्ध गराउने उद्देश्यका साथ करदाता सेवा केन्द्रमार्फत औपचारिक रूपमा सेवा सुचारु गरिएको छ । सेवा शुभारम्भ भएसँगै कार्यालयले आफ्नो पहिलो आन्तरिक राजस्व कार्यालय नेपालगन्ज अन्तर्गतको व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा पहिलो करदाताको रूपमा नरैनापुर गाउँपालिका वडा नम्बर २, बैउहवा निवासी जन्नतुल पठानिनलाई प्यान प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
पठानिनले आफ्नो व्यवसाय (मदिना परफ्युम एण्ड जनरल स्टोर)का लागि स्थायी लेखा नम्बर ९६२५२६८८४३० प्राप्त गरेकी छन्, जसले अत्तर, जस्ता सुगन्धित एवम् सौन्दर्यवर्धक कस्मेटिक सामान, साबुन र किराना पसल लगायतका सामानहरूको थोक तथा खुद्रा बिक्री गर्नेछ । गाउँपालिकाभित्रै करदाता सेवा केन्द्र स्थापना भई सेवा सुचारु भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई प्यान नम्बर लिन, कर बुझाउन तथा कर सम्बन्धी अन्य प्रशासनिक कामका लागि सदरमुकाम नेपालगन्ज धाइरहनुपर्ने झण्झटिलो बाध्यताको अन्त्य भएको छ ।
प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत वलीले गाउँपालिकाले आफ्नै क्षेत्रभित्र कर सेवा विस्तार गरेपछि स्थानीय स्तरमै सहज, छिटो र छरितो ढंगले आर्थिक प्रशासनिक कामहरू अगाडि बढ्ने र यसले व्यवसायीहरूलाई कानुनी दायरामा आउन थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।
यस्तै शाखा प्रमुख मुकद्दर अली मुकेरीले अब नरैनापुरका करदाताहरूले आफ्नै घरपायक स्थानबाट कर सम्बन्धी सम्पूर्ण सेवाहरू सुरक्षित र व्यवस्थित रूपमा पाउने प्रतिवद्धता जनाए । करदाता सेवा केन्द्रको सुरुवातसँगै आगामी दिनमा गाउँपालिकाको राजस्व संकलन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।