नेपालगन्ज : गत असोज २७ गते बेलुका भे २ ह ४१४६ नम्बरको इलेक्ट्रिक रिक्साले ५५ वर्षका पैदल यात्री हरिबहादुर कसेरालाई ठक्कर दियो । प्रत्यक्षदर्शीका अनुसार रिक्साको ठक्करबाट टाउकोमा गम्भिर चोट लागेका कसेराको सञ्जीवनी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भयो । अन्दाजी १६ वर्षका रिक्सा चालकसँग न सवारी चालक अनुमति पत्र थियो, न त रिक्साको दुर्घटना बीमा । ठक्कर दिने रिक्सा र चालकलाई बाँके प्रहरीले नियन्त्रणमा लिईसकेको छ । प्रहरीले उक्त दुर्घटनाको अहिले अनुसन्धान गरिरहेको छ ।
यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । इलेक्ट्रिक रिक्साबाट बाँकेमा दिनहुँ यस्ता दुर्घटनाहरु भइरहेका छन् । अधिकांस रिक्सा चालकसँग सवारी चालक अनुमति पत्र छैन, भने रिक्साको दुर्घटना बीमा समेत गरिएको छैन । इलेक्ट्रिक रिक्सा चलाउनेमा अधिकांस निम्न वर्गका ब्यक्तिहरु छन् । ट्राफिक प्रहरी, नेपालगन्ज उपमहानगरपालिका, यातायात कार्यालयले चालक अनुमति पत्र बिना नै निर्वाध रुपमा रिक्सा चलाउन दिदाँ दुर्घटना बढिरहेका छन् । अनुमति पत्र बिना रिक्सा चलाउन दिदाँ उनीहरुमा मनपरी बढेको यहाँका सरोकारवाला बताउँछन् ।
ट्राफिक प्रहरी, उपमहानगरपालिका, यातायात लगायत सरकारी निकायबाट कडाई नहुँदा इलेक्ट्रिक रिक्सा सञ्चालनमा मनपरी चलेको सरोकारवालाको बुझाई छ । ‘अधिकांस रिक्सा चालकसँग लाइसेन्स नै छैन, जसले मन लाग्यो उसले रिक्सा चलाएको छ,’ स्थानीय अगुवा श्रीराम सिग्देल भन्छन्, ‘नेपालगन्ज उपमहानगरपालिका, ट्राफिक प्रहरी, यातायात कार्यालय कसैलाई मतलब छैन, दिनहुँ दुर्घटना भईरहेका छन्, मान्छेको अकालमा ज्यान गइरहेको छ, पीडित पक्षलाई क्षतिपुर्ति कहाँबाट दिने भन्ने अन्यौलपूर्ण स्थिती छ ।’ इलेक्ट्रिक रिक्सा ब्यवस्थापन र नियमन कार्य समयमा नभए झन् ठुलो बिकृती निम्तिने खतरा रहेको उनी बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका प्रमुख कनकबहादुर शाही भने इलेक्ट्रिक रिक्सालाई ब्यवस्थापन गर्न अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँछन् । नेपालगन्जमा इलेक्ट्रिक रिक्सा ब्यवस्थित हुन नसकेको स्वीकार गर्दै उनले भने, ‘हामीले ब्यवस्थित गर्न धेरै प्रयास गरेका छौं, सबै रिक्सावालासँग चालक अनुमति पत्र (लाइसेन्स) छैन ।’ रिक्सा चालकसँग लाइसेन्स नहुनु, रिक्साको बीमा नहुनुमा साक्षरताको कमी रहेको ट्राफिक प्रहरी प्रमुख शाही बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/०८३ मा १ सय ७९ वटा इलेक्ट्रिक रिक्सा दुर्घटनामा परेका छन् । त्यसअघि आ.व. २०८१/०८२ मा १ सय ४ र २०८०/०८१ मा १२ वटा दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । दुई वर्षअघि नेपालगन्ज उपमहानगरपालिकाले कागजात नभएका ठुलो संख्याका रिक्साहरु नष्ट गरेको थियो ।
कागजात बिना वर्षाैदेखी गुडिरहेका रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपाकिाले कानुन बमोजिम नष्ट गरेर केही सुधारको प्रयास थालेको थियो । तर, रिक्सा ब्यवसायी तथा मजदुरहरुबाट बिरोध भएपछि उपमहानगरपालिका कार्यालयले थप ब्यवस्थित गर्नबाट पछाडी हटेको थियो । नेपालगन्जमा कति संख्यामा रिक्सा छन्, भन्ने एकिन तथ्यांक कसैसँग छैन । नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा करिव १ हजार ७ सयको हाराहारीमा मात्रै रिक्सा दर्ता भएका छन् । यसबाहेक १० हजार भन्दा बढी संख्यामा अबैध इलेक्ट्रिक रिक्सा गुडिरहेको बताइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट इलेक्ट्रिक रिक्सा ब्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँछन् । रिक्सालाई ब्यवस्थित गर्न यातायात कार्यालयले आवश्यक सहयोग नै नगरेको उनको गुनासो छ । ‘रिक्साको संख्या बढ्दै जादाँ नियमन गर्न कठिन भईरहेको छ, यातायात कार्यालयलाई आवश्यक सहयोग माग्दा सहयोग गर्दैन,’ उनले भने । ट्राफिक प्रहरीले अन्य सवारी साधनलाई जस्तै गरेर इलेक्ट्रिक रिक्सालाई कारबाही गर्न नसकेको मेयर बिष्ट बताउँछन् ।
‘एकातिर हामीलाई पुराना रिक्सालाई ब्यवस्थापन गर्न कठिन भईरहेको छ, अर्कोतिर दिनहुँ नयाँ रिक्साको संख्या बढ्दै गएको छ, सडकमा लाईसेन्स बिना नै रिक्सा चलाईरहेका छन्, अधिकांस रिक्साको बीमा र कागजपत्र नै छैन, यातायात कार्यालयलाई दर्ता रोकिदेउ भन्दा सहयोग गर्दैन,’ बिष्टले भने । उनका अनुसार करिव १० प्रतिशत रिक्सावाला सँग मात्र अनुमति पत्र रहेको छ । रिक्साबाट दिनहुँ दुर्घटना निम्तिरहँदा ठुलो समस्या खडा गरेको मेयर बिष्टले बताए ।
-नागरिक दैनिकबाट