बाँके (बैजनाथ) : बैजनाथ-४ बानियाभारकी निस्ता खत्रीको दैनिकी अचेल लाला-बाला हुर्काउनमै बितेको छ । २०७४ सालदेखी उनले बाख्रा पाल्न थालेकी हुन् । त्यसपछि २०७५ सालमा ‘वनगारी बाख्रा फर्म’ दर्ता गरेर उनले करिव ३५ वटा जति बोयर जातका बाख्रा पाल्न थालिन् ।
त्यसको केही वर्षसम्म बाख्राको संख्या बढाउँदै लगिन् । ‘पहिल्यैदेखी बाख्रा पाल्ने रहर थियो, मेरो मनले मानेन, त्यसपछि रहर पुरा भयो,’ उनले भनिन् । बाख्राहरु हेर्दै रहर लाग्दा देखिएपछि उनले आधुनिक खालको खोर तयार गरिन् । खत्रीसँग अहिले पनि ‘सिरेउ’ र ‘लोकल’ जातका १५ वटा जति बाख्रा रहेका छन् । यो सामाग्री तयार पार्दासम्म यि मध्ये तीन वटा बाख्रा ब्याउने अवस्थामा छन् । ‘बाख्रा पालनबाट राम्रो आम्दानी भईरहेको छ, घरको खर्च चलाउन यसले पनि मद्धत गरेको छ,’ उनले भनिन् ।
बाख्राको लागि डालेघाँस नै प्रमुख आहारा रहेको छ । बाख्रालाई आहारा पुर्याउन खेतबारीमा निस्ताले पर्याप्त मात्रामा घाँस रापेकी छन् । करिव अढाई कठ्ठा जमिनमा उनले किम्बु, बगाईनो, झिंगट, मकैचरी घाँस रोपेकी छन् । ब्यवसायिक रुपले बाख्रा पालन गर्न थालेपछि उनलाई स्थानीय सरकारले पटक–पटक अनुदानका कार्यक्रममा जोड्दै आएको छ ।
बैजनाथ गाउँपालिकाले सुरुमा २०७८ सालतिर उनलाई अनुदानमा ‘बोयर’ जातको बोका दिएको थियो । त्यसपछि २०८१ मा ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ मार्फत ७० प्रतिशत अनुदानमा ‘सिरेउ’ जातको बोका दियो । २०८१ सालमै गाउँपालिकाले ७० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन पनि दियो । यस्तै २०८२ मा ७० प्रतिशत अनुदानमा बोका दियो । गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा बाख्रालाई घाँस हाल्ने डुर दिएको छ ।
गाउँपालिकाबाट अनुदान पाउँदा उनमा उर्जा थपिएको छ । गाउँपालिकाबाट सहयोग पाउँदा उत्साहित भएको निस्ता बताउँछिन् । ‘अनुदान पाउनकै लागि हामीले बाख्रा पालन गरेका होईनौं, तर हाम्रो मेहनतको कदर गरेर नै गाउँपालिकाले हौसला बढाउनको लागि अनुदान दिएको हो,’ उनले भनिन् ।
बाख्रा पालन व्यवसायलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने उनको सोच छ । बाख्राको लागि घाँस अपुग हुने भएकाले अझैपनि घाँस खेतीलाई बढाउँदै लैजाने खत्री बताउँछिन् । ‘बाख्रालाई खुल्ला छाड्दैनौं, खोरमै राख्छौं,’ उनले भनिन्, ‘बाहिर चराउन लैजान सम्भव पनि छैन, त्यसैले घाँस धेरै आवश्यक पर्छ ।’
गाउँपालिकाले आफुहरु जस्ता मध्यवर्गिय किसानलाई हौसला प्रदान गर्न अनुदान कार्यक्रममा जोडेको निस्ता बताउँछिन् । कार्यक्रमले आफुहरु जस्ता धेरै किसानको आर्थिक अवस्थालाई माथी उठाएको उनको बुझाई छ ।