नुवाकोट : भोटेकोसी नदीमा आएको बिनाशकारी बाढीले बगाएको त्रिभुवन त्रिसुली माध्यामिक विद्यालय नुवाकोट, विदुरका बिद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको छ । एफकेवी युकेको सहयोगमा उक्त बिद्यालयका १ हजार ४ सय ३७ बिद्यार्थीलाई आवश्यक सामाग्री सहयोग गरिएको हो । बास नेपालको टोली बिद्यालयमै सहयोग गरेको हो ।
एफकेबी युकेको सहयोगमा २ सय ५० छात्राहरुलाई महिनावारी हुँदा आवश्यक पर्ने पुनः प्रयोग गर्न मिल्ने प्याड सहितको फ्रिडम किट व्याग, ३ सय जना छात्र, छात्रहरुलाई दैनिक उपभोग्य सामाग्री, स्वास्थ्य सामाग्री, प्राथमिक उपचारको सामाग्री सहितको हाईजेनिक किट प्रदान गरियो ।
यसैगरी जनजीवन फाउण्डेशन भारत र नेपालगन्ज स्थित विभिन्न संस्था र व्यक्तिहरुको सहयोगमा १ हजार २ सय ८६ वटा स्टेशनरी, ४ सय ७२ जना बिद्यार्थीहरुलाई लत्ताकपडा, १ सय ३७ वटा भाँडाकुडा, २३ थान ओढ्ने, ओछ्याउने कपडा, ५१ जनालाई झोला प्रदान गरिएको छ । बिद्यार्थीलाई १० लाख बढीको सहयोग प्रदान गरिएको बास नेपालले जनाएको छ । विदुर नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष लेलिन रञ्जितको प्रमुख आतिथ्यता, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सर्मिला श्रेष्ठको अध्यक्षतामा सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शिवराज बोगटी, बिद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, बाग्मती प्रदेश ईन्चार्ज सागर बोहरा, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, जनसम्पर्क अधिकृत माधव कार्की, शिक्षा अधिकृत मिना घर्तीमगर, जनसम्पर्क सहायक सुमिता कुमालको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष लेलिन रन्जितले सहयोगका लागि बास नेपाललाई धन्यवाद ज्ञापन गर्दै भौतिक निर्माणका लागि सहयोगका लागि आग्रह गरे । बिद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले सहयोग प्रति अनुग्रहित भएको उल्लेख गरे । बालबालिकालाई मनोसामाजिक सेवा प्रदान गर्न बास नेपाललाई उनले आग्रह गरे ।
बाढी आउँदै गरेको मौखिक सूचनाका आधारमा त्रिसुली नदी किनारमा रहेको सो बिद्यालयका १ हजार ६ सय बढी बालबालिकालाई बिद्यालयले घर तर्फ जान पठाएको थियो । जसका कारण कुनै मानतिय क्षति भएन । बिद्यार्थी, शिक्षकहरु घर गएको केही समयमै सो बिद्यालय पूर्णरुपमा बगेको थियो ।
पूर्णरूपमा बिद्यालय बगाएपछि बन्द भएको बिद्यालयले वडा नम्वर १ कै कलोनी स्थित यातायात तथा भौतिक मन्त्रालय अन्तरगतको भवन निर्माण शाखाको भवनमा अस्थाई रुपमा गत असोज १ गतेदेखि पठन पाठन सञ्चालनमा ल्याएको छ । बिद्यालयमा पुगेर बास नेपालले सहयोग सामाग्री हस्तान्तरण गर्नुका साथै मनोसामाजिक शिक्षा र महिनावारी शिक्षा प्रदान गरेको बासका कार्यकारी निर्देशक शाहले बताए ।
मनोसामाजिक शिक्षा बास नेपालका कार्यकारी निर्देशक शाह र बाग्मती प्रदेश ईन्चार्ज सागर बोहराले प्रदान गरेका थिए, भने महिनावारी शिक्षा शिक्षा अधिकृत मिना घर्ती मगरले दिएकी थिईन् । सहयोग प्राप्त गरिसकेपछि बालबालिकहरु खुसी भएका छन् । उनीहरुले आवश्यक सहयोग प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।