नेपालगन्ज : आफ्नै सहोदर मामाले एक बालिकालाई भारत पुर्याएको घटना सार्वजनिक भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी बालिका ६ वर्षको उमेर छदा करिव १० वर्ष अघि आफ्नै मामाले घरबाटै भारत पुर्याएका थिए ।
बालिका भारतको अल्मोडा जिल्लाको राजकिय बालगृह ‘किशोरी बख’ मा थिईन् । बालिकाको परिवारले दिएको जानकारी सहोदर मामाले बालिकालाई कोही नभएको मौका छोपी घरबाटै ‘चोरेर’ भारत पुर्याएका हुन् । भान्जीलाई भारतमै राखेका मामाले यौन दुब्र्यवहारको समेत प्रयास गरेपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलायो । अदालतमा मुद्दा चलेपछि मामा जेल गए, भने बालिकालाई बालगृहमा राखियो ।
विगत चार वर्षदेखी बालगृहमा बस्दै आएपनि उनको पहिचान गर्न समस्याका साथै कानुनी जटिलताका कारण सहजै फर्काउन कठिनाई भएको थियो । मामाविरुद्ध अदालतमा मुद्दा चलिरहेको र बालिका बालगृहमा रहेको भन्ने जानकारी घर परिवार कहाँ आइपुगेपछि मात्र घटनाको वास्तविक रहस्य पत्ता लागेको हो ।
बालगृहले सरकारी प्रतिनिधीकै रोहबरमा बालिकालाई जिम्मा लगाउने बताएपछि नेपालगन्जबाट वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्राकुमारी पुरी, निर्मला पौडेल, बाल अधिकार अभियन्ता सल्मान सल्मानी, परिवारका सदस्य लगायत ब्यक्ती केहीदिन अघि भारत पुगेका थिए । १६ वर्षीया ति बालिकालाई उनीहरुले नै उद्धार गरेर घर ल्याएका हुन् ।
दश वर्षपछि छोरीलाई सकुशल पाउँदा धेरै खुसी लागेको आमाले बताइन् । ‘धेरै वर्षदेखी खोजी गरिरहेका थियौं, छोरीलाई सकुशल अवस्थामा पाउँदा खुसी लागेको छ,’ उनले भनिन् । विपन्न परिवारकी बालिकालाई पुर्नस्थापना गर्नका लागि सरकारी तथा गैर सरकारी निकायबाट सहयोग आवश्यक रहेको वडा नम्बर २ का वडाअध्यक्ष हमालले बताए ।
‘डिएनएन परिक्षण रिपोर्ट मिलेपछि बालिका आफ्नो घरमा फर्किन पाईन, अब यिनलाई पुर्नस्थापना गर्नुपर्ने अवस्था छ,’ उनले भने । सबैको सहयोग र सहकार्यले बालिकालाई घर फिर्ता गराउन सफल भएको हमालले बताए ।
भिडियो हेर्नुस् :