बाँके (ढकेरी) : गणेश माध्यामिक बिद्यालयको कक्षा ११ र १२ मा पढ्ने छात्रालाई आइतबार साईकल वितरण गरिएको छ । राप्ती सोनारी गाउँपालिकाले बिद्यालयका ७८ जना छात्रालाई साईकल हस्तान्तरण गरेको हो ।
बिद्यालयका कुल ९७ जना छात्रालाई वितरण गर्ने योजना रहेकोमा आइतबार एकैदिन ७८ जनालाई हस्तान्तरण गरियो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रतिनिधी सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पुर्णाकुमारी सुवेदी, लुम्बिनी प्रदेश सभाका सांसद कृष्णा केसी, पुर्वसभासद एवम माओवादी नेता अशोक रोकाय, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री लगायतले छात्रालाई संयुक्त रुपमा साईकल हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले यसवर्ष गाउँपालिकाले छात्रालाई साईकल प्रदान गर्ने कार्यको सुरुवात मात्र गरेको बताए । ‘हामीले यसवर्षबाट छात्रालाई मात्र साईकल वितरण गरेर यो कामको सुरुवात गरेका छौं, आगामी वर्षबाट बिद्यालयमा पढ्ने छात्र भाईहरुले पनि साईकल पाउनु हुनेछ,’ उनले भने ‘छात्रालाई मात्र साईकल दिदाँ भेदभाव गरेको जस्तो देखियो होला, तर अर्को वर्ष छात्रले पनि साईकल पाउनु हुन्छ ।’ गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि धेरै काम गरेको अध्यक्ष थारुले बताए । गाउँपालिकाले यसवर्ष १ हजार २ सय १७ जना छात्रालाई साईकल वितरण गर्ने टुंगो लागिसकेको उनले जानकारी दिए ।
प्रतिनिधी सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीले साईकल पाएपछि छात्रालाई शैक्षिक कुरा हासिल गर्न धेरै सहज हुने विश्वास गरिन् । ‘छात्राले साईकल पाएपछि शैक्षिक गुणस्तर वृद्धिमा अवश्य पनि टेवा पुग्नेछ,’ उनले भनिन् । साईकल पाउँदा उक्त बिद्यालयका छात्रा हर्षित भएका छन् ।
टाढाबाट बिद्यालयमा पढ्न आउने छात्राले साईकल पाउँदा धेरै राहत महसुस गरेको बिद्यालय मावि तहका ईन्चार्ज एवम् गणित विज्ञान शिक्षक खडानन्द डाँगीले बताए । ‘टाढाबाट बिद्यालयमा पढ्न आउने छात्रालाई ठुलो राहत मिलेको छ, गाउँपालिकाले गरेको यो कार्य निकै प्रशंसनीय छ,’ उनले भने ।
साईकल वितरणका क्रममा राप्ती सोनारी गाउँपालिका कार्यपालिका सदस्य मिना बिष्ट, राप्ती सोनारी गाउँपालिकाका लेखा शाखा प्रमुख गौरवकुमार लामिछाने, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घनबहादृर ओली, प्रधानाध्यापक हरिप्रसाद अधिकारी, बिद्यालय ब्यवस्थापन समितिका सल्लाहकार श्रीधर उपाध्याय र भाईराम ओली, शिक्षक, अभिभावक, बिद्यार्थी, सञ्चारकर्मी लगायतको पनि उपस्थिती रहेको थियो ।
