नेपालगन्ज : बाँके चम्बर अफ कर्मसले सडक क्षेत्रभित्र परेका संरचना हटाउन दुई महिनाको समय माग गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरिएको हो ।
नेपालगन्ज-कोहलपुर सडक विस्तार गर्ने क्रममा सडक डिभिजन कार्यालयले पुर्ववत तयारी र आवश्यक प्रक्रिया नअपनाई विषम परिस्थिती सिर्जना गरिरहेको गुनासो गरिएको छ ।
कोभिडले बजार, ब्यवसाय धरासायी भएको अवस्थामा सडक डिभिजन कार्यालयले मापदण्डभित्र परेका संरचनाहरुमा मार्किङ गर्नुपर्ने, सरोकारवाला घरधनीलाई उचित समयावधि सहितको सूचना दिनुपर्ने लगायतको सर्वमान्य सिद्धान्त विपरित गरिएको बल (डोजर) प्रयोगको विरोध गर्दै कम्तिमा पनि दुई महिनाको समयसीमा दिनुपर्ने माग गरेको हो ।
ध्यानाकर्षण पत्र बुझाउँदै बाँके चेम्बर अफ कमर्सका अध्यक्ष सतिश कुमार अग्रवालले भने, ‘हामी विकास विरोधी होइन, विकासमा हाम्रो साथ र सहयोग छ, तर सडक डिभिजनले सर्वमान्य सिद्धान्त र प्रक्रिया विपरित एकाएक संरचना भत्काउनु गलत हो ।’
‘सडक मापदण्ड भित्र परेका अधिकाशं घरधनीलाई पुर्ववत कुनैपनि सूचना जानकारी दिइएको छैन, यो सडक विभागको कमजोरी हो,’ अध्यक्ष अग्रवालले भने, ‘सडक अतिक्रमित संरचना हटाउने भन्दै चालिएको कदमले सर्वसाधरण जनतामा आतंक मच्चाइरहेको छ, डोजर आतंक बन्द गरिनुपर्छ ।’
ध्यानाकर्षण पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उक्त विषय उच्च प्राथमिकताका साथ लिएको बताए । उनले यस विषयमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।
