नेपालगन्ज : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले गत मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीले गठबन्धन गरेकै कारण धेरै सिट जित्न सफल भएको दाबी गरेका छन् । नेपाली काँग्रेस बाँकेको कार्यालयमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामीले एक्लै परिणाम ल्याउन सक्ने अवस्था थिएन, विशेष ठाउँको विशेष परिस्थिती होला, तर देशभरी हामीले मुल्यांकन गर्दा आउने थिएन, हामीले ८९ सिट ल्यायौं, यो सब गठबन्धनका कारणले गर्दा ल्याएका हौं,’ उनले भने । यसपटकको निर्वाचनमा पार्टीभित्र नयाँ रोग देखा परेको प्रवक्ता महतले खुलाए ।

यसअघिका निर्वाचनमा पार्टीभित्र प्रत्यक्षतर्फका उम्मेदवारमाथी अन्तरघात गर्ने प्रवत्ती रहेकोमा यसपटकको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारमाथी पनि अन्तरघात भएको बताए । पार्टीभित्रको अन्तरघातकै कारण पार्टीले समानुपातिकतर्फ कम सिछ ल्याएको उनको भनाई छ ।
काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, पुर्वमन्त्री कृष्णमान श्रेष्ठ, प्रदेश सांसद बादशाह कुर्मी, लुम्बिनी प्रदेशका निर्वतमान मन्त्री सुरेन्द्र हमाल, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी लगायत अगुवा नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।