कोहलपुर : कोहलपुर नगरपालिकाले आफ्नो १२ औं स्थापना दिवसलाई विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाले यही बैशाख २५ गते स्थापना दिवस मनाउँदैछ । नगरपालिकाले स्थानीय कला, सँस्कृतिको उत्थान, निजीक्षेत्रसँगको साझेदारी र क्रियाशिल ब्यक्तिहरुलाई सम्मान लगायतका कार्यक्रम गरेर उत्सवकै रुपमा मनाउन लागेको १२ औं स्थापना दिवस सचिवालय उपसमिति संयोजक वीरेन्द्रकुमार शाहले जानकारी दिए ।
दिवसलाई भव्य र सभ्य बनाउनका लागि नगर प्रमुख पूर्णप्रसाद आचार्यको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल समारोह समिति, वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको संयोजकत्वमा सचिवालय उपसमिति, वडाअध्यक्ष लालबहादुर रानाको संयोजकत्वमा अतिथी सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति, वडाअध्यक्ष हरि कठायतको संयोजकत्वमा खेलकुद उपसमिति र वडाअध्यक्ष मुबारक अलि गुजरको संयोजकत्वमा स्वास्थ्य तथा सरसफाई उपसमिति मार्फत तयारी तिब्र पारिएको छ । स्थापना दिवसलाई भव्यता दिन बैशाख २१ गतेदेखी २५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
पञ्चे बाजा, टप्पा, थारु, गन्धर्व, मयूर, खाँडो, र ख्याली सहितको स्थानीय मौलिक पहिचान झल्कने कला सँस्कृतिको प्रर्दशनी, सामुहिक नृत्य प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, कर्मचारी, जनप्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकार बीच भलिवल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएका छन् । यसैगरी उत्कृष्ट करदाता सम्मान, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, बिद्यालय स्तरीय दौड, उत्कृष्ट खेलाडी सम्मान, विशेष योदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिने संयोजक शाहले जानकारी दिए ।
स्थापना दिवसको दिन कोहलपुर नगरपालिका वडा नम्बर ११ न्यूरोड स्थित खुला मैदानमा भव्य समारोहका बीच औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना प्रमुख अतिथीका रुपमा रहने नगरपालिकाले जनाएको छ । उक्त समारोहमा नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थाहरुलाई सम्मान गरिने जनाइएको छ ।