नेपालगन्ज : समाजमा यस्ता ब्यक्ती हुन्छन्, अरुको सम्पत्ती माथी मात्रै आँखा लगाउँछन् । तर, यही समाजमा कोही यस्ता पनि ब्यक्ती छन्, जसले आफुले जीन्दगीभर कमाएको सम्पत्ती अर्कैलाई दान गर्छन् । यस्तै मध्येका एक दानबीर हुन्, जयकेश सिंह । आफुले जीन्दगीभर कमाएको सम्पत्ती दान गरेर उनले समाजका सामु उदाहरणीय काम गरेका छन् ।
नेपालगन्ज-९ मा बस्दै आएको सिंह परिवारले आफ्नो ४ विघा १२ कठ्ठा ६ धुर जमिन मध्ये महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई २०६७ साल भदौमा ४ विघा २ कट्ठा जमिन दान गर्यो । उक्त जमिनसँगै करिव ४ हजार रुख बिरुवा पनि दान गरेका छन् । सम्पत्ती दान गर्ने श्रृंखला यतिमा मात्रै रोकिएन । भाडामा चलिरहेको मानव सेवा आश्रमको नेपालगन्ज शाखालाई पनि आफ्नै भवन निर्माण गर्न जमिन अभाव भइरहेको थियो । ठिक त्यही बेला आश्रमको टिमसँग सिंहको भेट भयो । भवन बनाउने जमिन खोज्दा कतै नपाइएपछि सिंहले आफुसँग रहेको १० कठ्ठा जमिन पनि आश्रमलाई दिए । उक्त जमिनमा आश्रमले भवन निर्माण गर्न शिलान्यास गरिसकेको छ ।
नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरमा सिंह परिवारले दान गरेको जमिन १५ करोड भन्दा बढी रुपैयाँको रहेको बताइन्छ । आफुसँग भएको जति सम्पत्ती दान गरेर सिंह परिवारसँग अब नेपालगन्ज–९ मा साढे ६ धुरमा बनेको घर मात्र बचेको छ । यही घरमा दम्पत्ती अहिले बसिरहेका छन् ।
सिंह दम्पत्तीको सन्तान जन्मेपनि जिवित रहेनन् । आफुहरु ‘निसन्तान’ भएपनि उनीहरुले सन्तानको अभाव खड्किन दिएनन् । सिंह परिवारले दान गरेको जमिनमा भवन बनाएर महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले केही वर्षदेखी बाल सुधार गृह चलाएको छ । सम्मान स्वरुप सरकारले दानबीर जयकेश र उनकी पत्नी इन्दुको नामबाट ‘जयन्दु बाल सुधार गृह’ नामाकरण गरिदिएको छ । सोही परिसरमा जयकेशका पिता स्वर्गीय तप्तबहादुर सिंह र माता स्वर्गीय हेमरानी सिंहको अर्धकदको शालिक पनि राखिएको छ । अहिले पछिल्लो समयमा बाल सुधार गृहमा २ सय २ जना बालकहरु बसिरहेका छन् ।
यस्तै मानव सेवा आश्रमले पनि सिंह परिवारबाट प्राप्त गरेको जमिनमा भवन बनाउन शिलान्यास गरिसकेको छ । ‘बरु पहिला धेरै तनाव हुन्थ्यो, जग्गा–जमिन दान गरेपछि मलाई वास्तवमा एकदमै आनन्द छ, अहिले मलाई कुनै प्रकारको टेनसन छैन, अहिले मलाई अभाव पनि छैन,’ दाता जयकेश भन्छन् । सरकारले बाल सुधार गृहसँगै बृद्धाश्रम, महिला तथा अपांगता ब्यक्तीका लागि आश्रय स्थल निर्माण गर्ने उद्देश्यका साथ आफुसँग जमिन लिएपनि सम्झौता अनुसार काम नगरेको दाता परिवारको दुखेसो छ ।
बाल सुधार गृहमा समय-समयमा तनाव उत्पन्न हुँदा र भौतिक संरचनामा क्षति पुग्दा सिंह दम्पत्ती बढी चिन्तित हुन्छन् । ‘आफुले दान गरेको सम्पत्तीमा बनेका संरचनाहरु जल्दा धेरै दुःख लाग्दो रहेछ, अर्को कुरा आफुले कमाएको, चर्चेको सम्पत्ती दिएपछि त्यसको पनि सही सदुपयोग भएन भने दुःख लाग्नु स्वभाविक कुरा हो ।’
आफूसँग बचेको ६ धुर जमिनमा निर्मित भवन पनि बुढेशकालमा दान गरेर आश्रममै बस्ने योजना बनाएको सिंह दम्पत्ती बताउँछन् । ‘धेरैजसो मान्छे दुई वटा कुराको लागि मर्छन्, एउटा त सन्तानको लागि, दोस्रो सम्पत्तीको लागि हो,’ सिंह दम्पत्ती भन्छन् ‘समाजमा हेर्दा जसको तमाम सन्तान छन्, ती सन्तानवाला नै झन् दुःखी छन् ।’
पछिल्लो समयमा सन्तान नभएका भन्दा सन्तान भएकाहरु धेरै चिन्ता बोकेर बाँच्नु परिरहेको उनीहरुको बुझाई छ । ‘अहिलेको पुस्तालाई धेरै राम्रो शिक्षा दिइयो भने विदेश पलायन हुन्छन्, राम्रोसँग पढ्न सकेनन् भने कि बेरोजगार हुन्छन् कि त दुब्र्यशनीमा फसेर बाबुआमालाई झनै तनाव दिन्छन्,’ सिंह दम्पत्ती भन्छन्, ‘सन्तान नहुँदा हामीलाई कुनै टेनसन र दुःख छैन, सन्तानले बाबुआमाको नाम राख्छन् भन्नु भ्रम मात्रै हो ।’
जयकेशले समाज सेवामा गरेको लगानीलाई उनकी धर्मपत्नी इन्दुको पनि पूर्ण रुपले साथ रहेको छ । जसले गर्दा सिंह परिवार पछिल्लो समयमा समाजका सामु ‘दानबीर’ का रुपमा चिनिएको छ । ‘दान गर्न पाउँदा हामीलाई आनन्द लाग्छ, अझैपनि हामी सँग जे, जति चिज छ, दान गर्छौ,’ इन्दु भन्छिन् । सिंह परिवारले दान गर्दा उनका केही आफन्तहरु रिसाए ।
सम्पत्ती फुत्काउने दाउमा रहेका आफन्तहरु सिंह परिवारले जमिन अर्कैलाई दिन थालेपछि आवत–जावत नै बन्द गरे । तरपनि सिंह दम्पत्ती आफ्नो निर्णयबाट पछि हटेनन् । ‘जसले हाम्रो सम्पत्ती माथी आँखा लगाएका थिए, हामीले जमिन दान गरेपछि उनीहरु रिसाए, आफ्नै सम्पत्तीलाई पनि उनीहरुले जोगाउन सकेनन्,’ विगतलाई स्मरण गर्दै इन्दु भन्छिन् ।
२०२२ साल साउन २७ गते जन्मेका जयकेश परिवारका एक्ला छोरा हुन् । पिता स्वर्गिय तप्तबहादुर र माता स्वर्गीय हेमरानीको कोखबाट जन्मेका उनको बाल्यकाल संघर्षमै बित्यो । सामान्य परिवारका सिंहले स्थानीय शिख्खनपुर प्राविमा कक्षा १ देखि ३ सम्म पढे । यस्तै युद्ध निमावि नेपालगन्जमा कक्षा ४ देखि ७ सम्मको पढाइ पूरा गरे ।
यसैगरी कक्षा ८ र ९ नेपालगन्जकै नारायण माविमा पढे । त्यसपछि नेहरु स्मारक इन्टर कलेज रुपैडिहा भारतमा कक्षा १० को पढाई पूरा गरे । महाराज सिंह इन्टर कलेज बहराइच भारतमा कक्षा ११ र १२ को पढाइ पूरा गरेपछि गायत्री विद्यापीठ महाविद्यालय रिसिया बहराइचबाटै बि.कम र राममनोहर लोहिया विश्वविद्यालय भारतबाट एम.ए उर्तीण गरे ।
२०४६ सालमा जानकी माध्यमिक विद्यालयबाट शिक्षण कार्य सुरु गरेका उनी त्यसपछि नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयमा लामो समयसम्म शिक्षण गरे । सोही बिद्यालयबाट सिंह २०७६ चैतमा सेवा निवृत्त भए । २०८१ मंसिरदेखी उनी सोही बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा छन् ।
बिद्यालयको शैक्षिक अवस्थालाई दिगो रुपमा सुधार गर्ने उनको सपना छ । बिद्यालयका प्रत्येक कक्षालाई सिसी क्यामेराबाट निगरानी गरिन्छ । बिद्यालयको कक्षा १ देखी १२ सम्म करिव तीन हजारको हाराहारीमा बिद्यार्थी छन् । हालै ‘नमुना’ घोषित उक्त बिद्यालयको कक्षा ६ देखी १२ सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुन्छ ।
समाजसेवी सिंह स्थानीय फत्तेबाल आँखा अस्पतालको कार्यसमिति सदस्य, जयन्दु बाल सुधार गृहको पदेन सदस्य, उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको सदस्य, हर्ट(मुटु) फाउण्डेशनको सदस्य, मानव सेवा आश्रम बाँके शाखाको संयोजक तथा दर्शन सेवा समाज बाँकेको सदस्य छन् । ‘मेरो बाजेको पालामा सम्पत्ति पुग्दो नै थियो, तर बुवाको पाला सम्म आईपुग्दा दैनिक छाक पनि टार्न समस्या भयो, त्यसपछि बुवाले धेरै मेहेनत गर्नुभयो, मैले पनि आफ्नो पढाई सकेपछि समाजका लागि केही गर्नुपर्छ भन्ने सोच बन्यो,’ उनी सम्झिन्छन् ।
२०४५ सालमा जयकेशले इन्दुसँग बैबाहिक सम्बन्ध जोडेका हुन् । जयकेश र इन्दुको कोखबाट जन्मेका सन्तान जिवित रहेनन् । ‘त्यसपछि मैले सामाजिक कामतिर समय दिन थालें, मेरो श्रीमतीलाई पनि मैले सम्झाएँ,’ सिंह भन्छन्, ‘श्रीमतीको सहयोगले मलाई समाज सेवामा अग्रसर रहने र दान गर्ने हौसला जाग्यो ।’
मान्छेले आर्जन गर्ने धन सम्पत्ति र सन्तानबारे सिंहको बुझाई अरुको भन्दा फरक छ । ‘सुख सुविधा र नामका लागि मान्छेले सम्पत्ति जोड्छ, नामका लागि कसैले सन्तानको रहर गर्छ भने एक पुस्ता बढी समयसम्म त्यो रहँदैन,’ उनी भन्छन्, ‘मेरो आत्मज्ञानमा आयो कि नाम नै राख्ने हो भने आजीवन कालसम्म रहने गरी राख्नुपर्छ, त्यसकारण मैले दान गर्नुपर्छ र पुण्य कमाउनुपर्छ भन्ने सोच बन्यो, मानवका लागि पितृ ऋण, देव ऋण, राष्ट्र ऋण र सामाजिक ऋण हुन्छ, त्यसैले धेरै सम्पत्ति जोड्नु त भ्रम मात्र हो ।’
दानबीर सिंह दम्पत्तीबाट समाजका अन्य ब्यक्तीहरु पनि प्रभावित भएका छन् । पछिल्लो समयमा उनीहरुबाट प्रभावित भएर अरु ब्यक्तीमा पनि आफुसँग भएको सम्पत्ती दान गर्ने सँस्कृतिको विकास हुन थालेको छ । यहाँ धार्मिक, सामाजिक लगायत विभिन्न संस्थाहरुमा दान गर्ने सँस्कृतिको विकास हुदै गएको देखिन्छ ।
वरिष्ठ साहित्यकार एवम् समाजसेवी किरण आचार्यका नजरमा सिंह परिवार ‘विशाल हृदय’ भएका दानबीर हुन् । आफुले जीन्दगीभर कमाएको सम्पत्ती दान गर्ने सामान्य कुरा नभएको उनको तर्क छ । ‘जयकेश सिंहलाई मैले जहिले देखी चिनेकी छु, इमान्दार र भलाद्मी मान्छे हुनुहुन्छ,’ आचार्य भन्छिन् ‘सन्तान नभएपनि आफुसँग भएको सबै सम्पत्ती दान गर्नु भनेको सामान्य कुरा होइन, आफ्नो सम्पत्तीको माया सबैलाई हुन्छ, आर्थिक सुरक्षाको चिन्ता सबैलाई हुन्छ, भविष्यको चिन्ता सबैलाई हुन्छ, विशाल हृदयको मान्छेले समाज सेवामा लगानी लगाउनु भएको छ ।’
पछिल्लो समयमा कतिपयले अरुको सम्पत्तीमा आँखा लगाउने प्रवृत्ति बढिरहेका बेला आफ्नो सबै सम्पत्तीलाई विशाल हृदय भएका ब्यक्तीले मात्र दान गर्न सक्ने उनको बुझाई छ । समाजमा यस्ता ब्यक्ती अझै जन्मिनुपर्ने आचार्यको विश्वास छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जहिलेदेखी सिंह परिवारको पृष्ठभुमी र उनको योगदानबारे थाहा पाए, त्यसपछि उनी पनि प्रभावित भए ।
‘आफुसँग भएको जमिन मानव सेवा आश्रम र बाल सुधार गृहलाई दान गरेर सिंह परिवारले ठुलो पुण्यको काम गर्नु भएको छ, आफु बस्ने घर मात्रै राखेर सबै सम्पत्ती दान गर्नु सामान्य कुरा होईन, यस्ता दानबीरहरु समाजका लागि सधैं खड्किन्छन् ।’ दानबीर जयकेश सिंह अरु ब्यक्तीका लागि पनि प्रेरणाको श्रोतका रुपमा रहेको श्रेष्ठ बताउँछन् ।
‘सिंह परिवार एकदमै ठुलो हृदय भएको दानबीर हुनुहुन्छ, उहाँहरुको योगदानलाई समाजले सधैं सम्झिरहनेछ,’ उनी भन्छन् । दानबाट प्राप्त भएको सम्पत्ती संरक्षणमा विशेष ध्यान दिनुपर्ने श्रेष्ठको सुझाव छ । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस, भेरी अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय लगायत थुप्रै सरकारी तथा सामाजिक संघ, संस्थाका संरचनाहरु दाताले दिएको जग्गा, जमिनमै बनेका छन् । तर दानबीरको मान सम्मानमा कतै न कतै कन्जुस्याई गरेको देखिन्छ । यस्ता कार्यले दाता परिवारमा उर्जा नभएर निराशा छाउने निश्चित छ ।
तसर्थ, दाताको सम्मानमा कन्जुस्याई गर्न नहुने यहाँका समाजसेवीहरु बताउँछन् । ‘कसैले आफुले कमाएको सम्पत्ती आफैले खर्च गरेर सिध्याउँछन्, हामीले आफै मेहेनत गरेर कमाएको सम्पत्ती समाजका लागि दिएका हौं, म यसमै सन्तुष्ट छु, तर मेरो आग्रह छ, हामीले दिएको सम्पत्तीको संरक्षण होस्, दुरुपयोग नहोस्,’ दानबीर सिंह भन्छन् । -नागरिक दैनिकबाट