नेपालगन्ज : नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवनको काम डेढ महिना अगावै पुरा भएको छ । विमानस्थलको नयाँ टर्मिनल भवन (ब्लक ए, बी र सी), विमान पार्किङ क्षेत्र, सवारी साधन पार्किङ, गेष्ट हाउस, ढल ब्यवस्थापन, बगैचा, फुटपात, शौचालय लगायतका संरचना निर्माण गर्न ठेकेदार ‘शर्मा एण्ड कम्पनी’ ले सन् २०२२ डिसेम्बर १६ मा सम्झौता गरेर काम सुरु गरेको थियो ।
‘नेपालगन्ज विमानस्थल टर्मिनल भवन निर्माण आयोजना’ कार्यालयका अनुसार उक्त कम्पनीले सन् २०२५ डिसेम्बर १५ मा सबै काम सम्पन्न गर्ने गरी मुल्य अभिवृद्धि कर(भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँमा सम्झौता गरेको थियो । आयोजना प्रमुख नलबिक्रम थापाले म्याद सकिनुभन्दा करिव डेढ महिना अगावै निर्माण कम्पनीले काम पुरा गरेको जानकारी दिए ।
प्रायः आयोजनाका काममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्ने प्रवृत्ती बढिरहेका बेला शर्मा एण्ड कम्पनीले म्याद सकिनुभन्दा अगाडी नै सम्पन्न गरेकाले सम्झौतामा भएको ब्यवस्था अनुसार ‘बोनस’ प्रदान गरिने उनले सुनाए । ‘ठेकेदार कम्पनीले सम्झौताको म्याद सकिनुभन्दा डेढ महिना अगावै काम पुरा गरेको छ,’ थापाले भने ‘काम एकदमै सन्तोषजनक छ, सबै काम गुणस्तरिय छन्, हाम्रा इन्जिनियरको प्रत्यक्ष निगरानीमा काम सम्पन्न भएको छ ।’
आयोजनाको काम सम्पन्न भएसँगै केहीदिन भित्रमा निर्माण पक्षबाट हस्तान्तरण हुने र त्यसपछि पनि नागरिक उड्ययन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिने आयोजना प्रमुख थापाले बताए । उनले थपे, ‘विज्ञले अनुगमन गरे पश्चात पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिन लगायत आवश्यक सामानहरु नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँबाट सेवा सुरु हुनेछ ।’ नेपालगन्जमा निर्मित टर्मिनल भवन आन्तरिक र बाह्य दुबै उडानका लागि उपयुक्त रहेको आयोजना कार्यालयले जनाएको छ । टर्मिनल भवन अन्र्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको छ ।
तत्कालका लागि आन्तरिक उडानमा नयाँ टर्मिनल भवनलाई प्रयोग गरेपनि भविष्यमा बाह्य उडानका लागि पनि उपयोग गर्न सकिने आयोजना प्रमुख थापा बताउँछन् । ‘नेपालगन्जबाट पनि बाह्य उडान गर्ने कुराहरु चलिरहेको छ, त्यो कुरालाई मध्यनजर गरेर पनि पुर्वाधार अहिले नै निर्माण गरिएको छ,’ उनले भने ‘यदी बाह्य उडान गर्ने अवस्था आयो भने आन्तरिक र बाह्यको लागि टर्मिनल भवनलाई पार्टेशन गरेर सेवा सुरु गर्ने गरि निर्माण गरिएको छ ।’
निर्माण पक्षका अनुसार अण्डर ग्राउण्डसहित तीन तल्लाको ५५ हजार स्क्वायर फिटमा नयाँ टर्मिनल भवन निर्माण गरिएको छ । भवनमा प्रतिघण्टा ६ सय ९८ जना यात्रु अटाउन सक्ने क्षमता रहेको छ । ‘हामीले अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको टर्मिनल भवन बनाएका छौं,’ शर्मा एण्ड कम्पनीका प्रतिनिधि बिनोद सुवेदीले भने, ‘तोकिएको समयभन्दा अगाडी नै सबै काम सम्पन्न गर्न सफल भयौं ।’ अबको केही दिनमै कम्पनीले सरकारलाई टर्मिनल भवन हस्तान्तरण गर्ने उनले बताए ।
उक्त कम्पनीले यसअघि ‘नेपालगन्ज–गुलरिया’ हुलाकी सडक खण्डको काम पनि तोकिएको समयभन्दा १० महिना अगावै पुरा गरेको थियो । कम्पनीले विमानस्थलको नयाँ टर्मिनल भवनसहितका संरचनाको निर्माण पुरा गरी गत साउनमै हस्तान्तरण गर्ने योजना बनाएपनि भुक्तानी लगायत समस्याका कारण केही महिना पछाडी धकेलिएको बताइएको छ । कामको प्रगति अनुसार सरकारबाट समयमा भुक्तानी नपाउँदा बीचमा समस्या आएको निर्माण कम्पनीको गुनासो छ ।