नेपालगन्ज : राष्ट्रिय सभाका सदस्य युवराज शर्माले प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल भएको टिप्पणी गरेका छन् । गृहनगर नेपालगन्ज आईपुगेका शर्माले दूरसञ्चारसँगको विशेष संवादमा भने, ‘प्रतिनिधि सभा विघटन नगरेको भए जेन–जी आन्दोलनले उठाएको एजेण्डा सम्बोधन हुन्थ्यो, तर वर्तमान प्रधानमन्त्री जीले जानेर हो या बुद्धि नपुगेर हो, प्रतिनिधि सभा विघटन गराउनुभयो ।’
वर्तमान संबिधानबाट प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनै नसक्ने राष्ट्रिय सभा सदस्य शर्माको भनाई छ । ‘यो संविधानबाट प्रत्यक्ष कार्यकारी निर्वाचनको सम्भावना छैन, प्रतिनिधि सभा विघटन नगरेको भए संशोधनबाट गर्न सकिन्थ्यो, किनकी धेरै दलहरु प्रत्यक्ष कार्यकारीको पक्षमा पनि थिए, संसद विघटन गरेर महा गल्ती भएको छ ।’ नेपाली कांग्रेसका पुराना नेता समेत रहेका शर्माले २००७ सालदेखी भएका जति पनि आन्दोलनको नेतृत्व युवा पुस्ताले नै गर्दै आएको बताए । तर आगजनी, तोडफोड, लुटपाट, हतियार कब्जा, जेल ब्रेक जस्ता गतिविधि विगतका आन्दोलनमा नभएको उनको जोड छ ।
मुलुकको अवस्था अहिले पनि अन्यौलपूर्ण रहेकाले पुराना दलहरु एक ठाउँमा उभिएर एउटै धारणा बनाउनुपर्ने राष्ट्रिय सभा सदस्य शर्माको सुझाव छ । देशमा केही पनि भएन, नेताहरु सबै भ्रष्ट छन् भनेर गलत प्रचार गरेका कारण जेन–जी पुस्ताहरु नेता हरुप्रति आक्रोशित बनेको उनले सुनाए । ‘कोही नेताहरु भ्रष्ट भए होलान्, तर सबै नेताहरु त भ्रष्ट छैनन् होला,’ उनले भने, ‘तर गलत भाष्य निर्माण गरेर गलत प्रचार मात्रै गरियो, त्यसको परिणाम स्वरुप नेताहरु टार्गेटमा परे ।’ वर्तमान सरकारलाई अधिकार भए नेताका सम्पत्ती छानविन गर्नुपर्ने उनको सुझाव छ । तर, वर्तमान सरकारमा भएका प्रधानमन्त्री तथा मन्त्रीले पनि आफुबाट सुरु गर्नुपर्ने शर्माले बताए ।
अर्को प्रसंगमा नेपाली कांग्रेस बाँकेका पुर्वसभापति समेत रहेका शर्माले पार्टीभित्र विशेष महाधिवेशन नै गर्नुपर्ने आवश्यकता नरहेको बताए । ‘१४ औं महाधिवेशन भएको चार वर्ष अवधि पुरा भईसक्यो, अवधि पुरा भईसकेको अवस्थामा विशेष महाधिवेशन गर्नुको कुनै औचित्य छैन,’ शर्माले भने, ‘बरु नियमित १५ औं महाअधिवेशन गरौं न, मलाई विशेष महाधिवेशनको कुरा त्यति उचित लाग्दैन ।’
पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको कुरा उठाउनु उचित नभएको बताए । ‘बरु उहाँहरुले क्रियाशिल सदस्यता अध्यावधिक गर्नतर्फ ध्यान किन दिनु भएन ? त्यो गर्न नसक्नु उहाँहरुको कमजोरी हो,’ शर्माले भने, ‘देश नै जलेको अवस्थामा विशेष महाधिवेशन गर्न खोजेर अरुको अधिकारलाई खोस्न मिल्दैन ।’ विशेष महाधिवेशन गर्दा पार्टीको तल्लो तहका कार्यकर्ताले आफ्नो अधिकार प्रयोग गर्न नपाउने उनको भनाई छ ।