नेपालगन्ज : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दल कांग्रेस र एमाले मिलेर अहिले सरकार चलाइरहेको बताएका छन् । जनताका आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्ने पोखरेलको विश्वास छ ।
एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनको शनिबार नेपालगन्जमा उद्घाटन गर्दै उनले भने, ‘बलिया राजनीतिक शक्तिलाई मतदान गरेर बलियो राजनीतिक शक्ति निर्माण गरी मुलुक निर्माण गर्ने अभियानमा साथ दिनुपर्दछ ।’ जनताले अब साना दललाई मतदान गरेर जनमत विभाजित नगर्ने प्रतिज्ञा गर्नुपर्ने बेला भएको पोखरेलले बताए ।
छिमेकी मुलुक चीन र भारतमा राजनीतिक स्थिरता रहेको बताउँदै पोखरेलले भने, ‘नरेन्द्र मोदीजी दुई पटक पूरा कार्यकाल ब्यतित गरी तेस्रो पटक प्रधानमन्त्री हुनुभएको छ, हाम्रो देशमा जनमत विभाजित हुँदा समस्या भएको छ ।’ छिटो–छिटो सत्ता समीकरण बद्लिँदा मुलुक निर्माणमा समस्या देखिएको उनले बताए ।
महाधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले मुस्लिम समुदायलाई हरेक क्षेत्रमा अगाडि बढाउन विभिन्न काम गरिहेको बताए । सरकारले जनतामा आशा र भरोसा उत्पन्न हुने गरी काम गरिरहेको जिकिर गरे ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन शत्रमा पूर्वमन्त्रीद्धय पदमा अर्याल र भानुभक्त ढकाल, प्रतिनिधि सभाका सांसद सूर्य ढकाल, दिपा शर्मा, एमाले केन्द्रिय सदस्य एवम् मुस्लिम विभाग इन्चार्ज मोहम्मद हारुन हलवाई लगायत नेताले बोलेका थिए । महाधिवेशनमा ६ सय बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षक सहभागी भएको आयोजकले जनाएको छ ।