नेपालगन्ज : अनलाइन टिभी पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णराज अधिकारी निर्विरोध निर्वाचित भएका छन् । अनलाइन टिभी पत्रकार संघको नेपालगन्जमा सम्पन्न भएको प्रथम भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति, पदाधिकारी निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा दिपक न्यौपाने, उपाध्यक्षमा रञ्जित शाह, सचिवमा साबित्री गिरी, सह-सचिवमा मनबहादुर सहकारी र कोषाध्यक्षमा भावना बुढा मल्ल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा चन्द्रेश्वरराज त्रिपाठी, इरफान अलि, कुशल बि.क र श्वेता गिरी निर्वाचित भए । थप एक जना सदस्यलाई कार्यसमितिको बैठकले मनोनित गर्ने भएको छ ।
कार्यसमिति चयन गर्नुअघि डिजिटल एआई प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा अधिवेशन उदघाट्न कार्यक्रम गरिएको थियो । अनलाइन टिभी पत्रकार संघका केन्द्रीय प्रतिनिधि रोहित लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले यो समय डिजिटल मिडियाको भएकाले अबको दिनमा डिजिटल मिडियामा कार्यरत पत्रकारको क्षमता विकास लगायतका कार्यक्रमको लागि सहयोग गर्ने प्रतिवद्धता गरे ।
कार्यक्रममा विशिष्ठ अतिथी एवम् बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले डिजिटल मिडियामा एआईको प्रयोग हुनु राम्रो कुरा भएतापनि पत्रकार सधै सृजनशिल बन्नुपर्ने सुझाव दिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले लुम्बिनी प्रदेशले डिजिटल मिडियामा कार्यरत पत्रकारका लागि तालिम सञ्चालन गरिरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आजको युग डिजिटल पत्रकारिताको युग भएकाले अनलाइन टिभी पत्रकार संघले गरिरहेको कार्यलाई सबै पत्रकार माझ पुर्याएर पत्रकार आचार संहिताबारे जानकारी दिन सुरु गरेको यस अभियानको प्रशंसा गरे ।
उक्त कार्यक्रममा एआई प्रयोगबारे तालिमको सहजिकरण गरेका अनलाइन टिभी पत्रकार संघका केन्द्रीय अध्यक्ष जीवन भण्डारीले एआईको प्रयोग गरेर पत्रकारिता गरेमा समयको बचत हुनुका साथै पत्रकारको कामको गुणस्तर राम्रो हुने बताए । सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक राजकुमार जिटी, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी लगायत बाँके, बर्दिया, रुपन्देही, पाल्पा, दाङ लगायत सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अनलाइन टिभीमा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।