नेपालगन्ज : अनलाईन टिभी पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशले एआईको प्रयोगलाई ब्यवस्थित बनाउँदै प्राविधिक विषयमा पत्रकारलाई ज्ञान बाँड्ने भएको छ । संघको नेपालगन्जमा शुक्रबार बसेको पहिलो बैठकले यि लगायत महत्वपूर्ण निर्णय गरेको सचिव सावित्री गिरीले जानकारी दिइन् ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकले स्थानीय, प्रदेश र संघिय सरकारसँग समन्वय गरी मिडियामा प्रविधिको सही प्रयोगमा सहजीकरण गर्ने र अनलाइन टेलिभिजनहरुले गरेको क्रियाकलापको अनुगमन गरी सही परामर्श दिने तथा विकासको काममा सहयोगी बनाउन अनलाइन टेलिभिजनहरुलाई एकिकृत गर्ने निर्णय पनि गरेको उनले बताइन् ।
बैठकलाई सम्बोधन गर्दै संघका लुम्बिनी प्रदेश अध्यक्ष अधिकारीले पत्रकार आचारसंहितालाई पुर्ण रुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता मात्र नभई नीति नियम संगत पत्रकारिता गर्न सबैलाई आग्रह गरे । डिजिटल मिडियाको युगमा अनलाईन टेलिभिजन पत्रकारितामा आउनेलाई स्वागत गर्दै पत्रकारिताका सिद्धान्त अनुरुप मार्गदर्शन गर्न काम गर्ने, अनलाईन पत्रकारिताको विकासका लागि भुमिका निर्वाह गर्ने र पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि सिप प्रदान गर्ने बताए ।
पत्रकार आचारसंहिता र पत्रकारको हकहितका लागि आफू सधैँ प्रतिबद्ध रहेको पनि अध्यक्ष अधिकारीले बताए । ‘जवाफदेहिता र पारदर्शिताका लागि अनलाईन टेलिभिजनले प्रस्तुत गरिरहेको भाषा र शैलीका बिषयमा थप संयमित हुँदै आवाज बिहिनको आवाजका रुपमा काम गर्नुपर्छ, यस बिषयमा लुम्बिनी प्रदेशभरी अभियान लिएर जानेछौं,’ उनले भने ।
संघको दोस्रो बैठक आगामी असार महिनामा दाङ जिल्लामा बस्ने र यही जेठ महिनाको अन्तिमतिर बर्दिया जिल्लामा संघको शाखा बिस्तार गर्ने समेत निर्णय गरिएको सचिव गिरीले जानकारी दिएकी छन् । उनका अनुसार क्रमशः लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा शाखा बिस्तार गरी विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।