नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि सामुहिक ऐक्यवद्धता जरुरी रहेको सम्वद्धहरुले जोड दिएका छन् । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा शनिबार बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
उनीहरुले बाँके राष्ट्रिय निकुञ्जले संरक्षणका लागि बनाएका योजना तथा कार्यक्रममा ऐक्यबद्धता जनाउँदै सहभागी हुन सकेमा पर्यावरणीय संरक्षण हुनुका साथै पर्यापर्यटनले पनि फड्को मार्ने बताएका हुन् । कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कँडेलले अहिले वन्यजन्तुको संख्यामा बृद्धि भएको बताउँदै स्थापनाको उद्देश्य अनुसार कार्य भइरहेको बताए । उनका अनुसार बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ ।
सन् २०२२ को गणना अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेका छन् । यस्तै स्तनधारी बन्यजन्तु ३४, चरा २ सय ७६, सरिसृप २४, उभयचर ९ र माछा ५५ गरी ४ सय २२ प्रजाति रहेका छन् । जसमा दुर्लभ र सामान्य गरेर समेत प्रजातिको विभाजन गरिएको छ ।
यस्तै निकुञ्जका संरक्षण अधिकृत मन्दिप पंगेनीका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा ८० वटा कृत्रिम पोखरी निर्माण गरिएतापनि १६ वटा मात्र सञ्चालित अवस्थामा रहेका छन् । जसमध्ये १३ वटामा सोलार सिस्टम जडान गरिएको छ । नेपालको १० औं राष्ट्रिय निकुञ्जको रुपमा स्थापना भएको निकुजले सबै सरोकारवालासँग समन्वयात्मक रुपमा कार्य अगाडी बढाइएको पनि संरक्षण अधिकृत पंगेनीले बताए ।
उक्त कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले पत्रकार महिलाहरुले जंगल सफारीका साथै जैविक विविधता संरक्षणका लागि स्थलगत रिपोर्टिङ्ग गर्दा विविध वातावरणीय सवालका बारेमा उजागर भएको बताइन् । यस्तै क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीले स्थलगत रिपोर्टिङ्गले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु र तिनको बासस्थान, बनेका भौतिक संरचना, वन्यजन्तुको आहार ब्यहारका साथै मध्यवर्ती क्षेत्र ब्यवस्थापनका विषयमा पनि मिडियामा सवाल उठाउन सहज भएको बताइन् ।
अध्यक्ष गिरीले वातावरणीयसँगै आगामी दिनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत विविध बिषयगत क्षेत्रको सामुहिक अवलोकन गर्ने र बिषयवस्तु उठान गर्ने बताइन् । जंगल सफारी र अन्तरक्रिया कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।