बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकामा बुधबारदेखी आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । राप्ती सोनारी गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ बाँकेले अगैयामा उक्त तालिम सुरु गरेको हो । तालिमको प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गरेका हुन् ।
तालिम उद्घाटन गर्दै उनले आगामी वर्षको बजेटबाट स्थानीय सञ्चार नीति बनाउने प्रतिवद्धता ब्यक्त गरे । स्थानीय सञ्चार माध्यम र स्थानीय सञ्चारकर्मीका लागि सञ्चार नीति बन्न आवश्यक रहेको बताए । स्थानीय सरकारले स्थानीय सञ्चार माध्यम र स्थानीय सञ्चारकर्मीको विकासमा जोड दिदै आएको उनको भनाई छ ।
गाउँपालिकाले स्थानीय सञ्चार माध्यमसँगै बाहिरका सञ्चार माध्यमलाई पनि समेट्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए । राप्ती सोनारी क्षेत्रका सञ्चार माध्यम गाउँपालिकाको प्राथमिकतामा रहेको उनले जिकिर गरे । पत्रकारले कोही माथीको आक्रोश, पीडा र कुण्ठालाई कलमको माध्यमबाट ब्यक्त गर्न नहुनेमा जोड दिए ।
विशिष्ट अतिथी एवम गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले पत्रकारिताले समाजमा रहेका कुरालाई बाहिर ल्याउने भएकाले यसको महत्व धेरै रहेको बताइन् । महासंघ बाँकेका अध्यक्ष गिरीले स्थानीय सरकारले स्थानीय सञ्चार माध्यमको विकासमा ध्यान दिन आवश्यक रहेको बताए । स्थानीय सञ्चार माध्यम बलियो भएपछि मात्र पत्रकारिता फस्टाउने उनको भनाई थियो । स्थानीय सञ्चार नीति बनाउन उनले गाउँपालिकालाई आग्रह गरे ।
महासंघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन शत्रमा राप्ती सोनारी ३ का वडाअध्यक्ष मिनकुमार चौधरी, वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारु, वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगी लगायतले बोलेका थिए । तालिम उद्घाटन कार्यक्रम सञ्चालन महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए ।
आगामी तीन दिन सम्म चल्ने उक्त तालिममा राप्ती सोनारीका विभिन्न वडाबाट करिव ३ दर्जन बढीको सहभागिता रहेको छ । तालिमको पहिलो दिन पत्रकार शंकर खनाल र अर्जुन ओली प्रशिक्षण दिएका छन् ।