नेपालगन्ज : बाँकेमा रहेका सार्वजनिक यातायात ब्यवसायीले आफ्ना सवारी साधन नचलाउने घोषणा गरेका छन् । सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै बाँकेस्थित सार्वजनिक यातायात बचाउ संघर्ष समिति बाँकेले घोषणा गरेको हो ।
नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका संयोजक एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य टंकप्रसाद बस्यालले माग सम्बोधन नगरेपछि सोमबार (भोलि) देखी आफ्ना सवारी साधन नचलाएर घर, ग्यारेज र बसपार्कमा थन्काउन लागिएको बताए ।
संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरी निजी सवारी साधन(रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ‘ज’ तत्काल खारेज गर्नुपर्ने, सर्वोच्च अदालतबाट संघ, संस्था दर्ता ऐन २०३४ मा रहेका संघ, समिति नविकरण सम्पत्ती फुकुवाको लागि अदालतले दिएको परमादेश तत्काल कार्यान्वयन गर्नुपर्ने ब्यवसायीको माग छ ।
यस्तै सार्वजनिक यातायात क्षेत्र योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्नुपर्ने, मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमता कडाईका साथ लागु गर्नुपर्ने, विमा दर निर्देशिका २०७३ लाई समयानुकुल संशोधन गरी दुर्घटना क्षतिपुर्ति तथा उद्धार राहतका लागि दुर्घटना राहत कोष स्थापना गरी दुवारी ऐन लागु गरी माल बस्तुमा अनिवार्य विमा गर्ने नीति बनाई यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्ता मुखी प्रविधिमैत्री बनाउन अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने लगायत मागहरु रहेका छन् ।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपमहासचिव सम्भु रिजालले आफ्ना माग पुरा नहुँदासम्म सवारी साधन नचलाउने बताए । बागेश्वरी यातायात ब्यवसायी प्रा.लि. कोहलपुरका अध्यक्ष मनप्रसाद आचार्यले आफुहरुले सरकारले तोकेको बैज्ञानिक भाडा यात्रुबाट लिइरहेपनि हवाई सेवा प्रदायक कम्पनीले मनपरी भाडा असुल्ने काम गरिरहेको आरोप लगाए । हवाई कम्पनीलाई पनि सरकारले नियमन गर्नुपर्ने बताए ।
