नेपालगन्ज : नरैनापुर गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीको क्षमता अभिवृद्धि गर्न चार दिने क्षमता अभिवृद्धि तालिम समापन भएको छ । यही शुक्रबारबाट सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । तालिम मार्फत जनप्रतिनिधि र कर्मचारीबीच समन्वय, कार्य सम्पादनको प्रभावकारिता, सार्वजनिक खरिद ऐन, सेवा प्रवाहलाई चुस्त बनाउने उपायहरू र नेतृत्व विकास जस्ता विषयमा प्रशिक्षण दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए ।
उक्त तालिममा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले तालिमको महत्वबारे प्रकाश पार्दै काम गर्ने क्रममा जनप्रतिनिधी र कर्मचारीबीच तादात्म्यता मिलाउने र समन्वय गरेर कार्यसम्पादन गर्ने भन्ने विषयमा तालिम महत्वपूर्ण भएको भन्दै सार्वजनिक खरिद ऐनका प्रावधान र प्रक्रियाको सही कार्यान्वयनमा यसले ठूलो योगदान पुर्याउने बताए ।

गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मनोज शर्माले तालिमबाट प्राप्त सिकाइको महत्व दर्शाउँदै व्यक्ति चित्रले भन्दापनि चरित्रले चिनिनुपर्छ भन्दै तालिमले यही सन्देश दिएको बताए । गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतले स्थानीय तहमा सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन तालिमको योगदान उल्लेखनीय भएको बताए ।
जनप्रतिनिधी र कर्मचारीमार्फत सेवाग्राहीले सहज सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउँदै यसले स्थानीय प्रशासनलाई थप चुस्त–दुरुस्त बनाउन मद्दत गर्ने बस्नेतले विश्वास गरे । नरैनापुर गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा कर्णाली प्रदेश सरकारका सचिव धोलकराज ढकाल, कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्ज बाँकेका अधिकृत शरदराज गौतमले सहजीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।
संघीय शासन प्रणालीमा स्थानीय सरकारको भूमिका, नीति तथा कानुनी व्यवस्था, प्रभावकारी सेवा प्रवाहका उपायहरू र कार्यसम्पादन सुधार जस्ता विषयमा सहजिकरण उनीहरुले गरेका थिए । उक्त तालिममा जनप्रतिनिधि र कर्मचारी गरेर ५५ जनाको सहभागिता रहेको गाउँपालिकाका रोजगार शाखा संयोजक मकबुल अहमद मुकेरीले बताएका छन् ।

