नेपालगन्ज : नेपालगन्जमा सोमबारदेखि डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरेको हो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले अहिलेको डिजिटल युगमा डिजिटल मिडियाको महत्व बढेको बताए ।
बिष्टले पत्रकारितामा पछिल्लो समय स्वघोषित पत्रकारहरुको संख्या बढिरहेको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको आवश्यकतामा जोड दिए । उनले राज्यको चौथो अंगको रुपमा हेरिने पत्रकारिता स्वस्थ, निर्भिक र मर्यादित हुनुपर्ने बताए । उनले पत्रकारितालाई लोकतन्त्रको आधार स्तम्भको रुपमा चित्रित गर्दै पत्रकारिता डग्मगाउन नहुने उल्लेख गरे ।
नगर प्रमुख बिष्टले उपमहानगरपालिकाले सञ्चार नीति निर्माण गरेर कार्यान्वयनमा ल्याइसकेको भन्दै आगामी दिनमा मिडिया सहकार्यलाई अझ फराकिलो र मजबुत बनाउने बताए । उनले नेपाल पत्रकार महासंघ बाँकेसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले अहिले पत्रकारहरुको पेशागत सुरक्षा मुख्य चुनौतिको विषय बनिरहेको बताए ।
पत्रकार स्वयं पनि यसमा सजग हुनुपर्नेमा उहाँको जोड छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले नेपालगन्ज उपमहानगपालिकाले गरिरहेका असल काम र अभ्यासहरुको बारेमा लेख्न तथा कमी कमजोरीहरु औंल्याईदिन आग्रह गरे । नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकास गर्ने र पेशाप्रति जिम्मेवारीबोध गराउने उद्देश्यतले तालिम आयोजना गरिएको बताए । उनले तालिमलाई सिक्ने सिकाउने प्रक्रियामा लिन आग्रह गर्दै तालिम उपयोगी हुने विश्वास ब्यक्त गरे ।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्षहरु निरज गौतम र झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी र समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए भने, सह-सचिव भगतराम थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
चार दिनसम्म चल्ने तालिम दुई चरणमा सञ्चालन हुनेछ । जेठ २६ र २७ गते पहिलो चरण र जेठ २८ र २९ गते दोस्रो चरणमा तालिम सञ्चालन हुनेछ । दुई चरणमा गरी तालिममा ८० जनाको सहभागिता रहनेछ । तालिममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल र पत्रकार केपी ढुंगानाले सहजीकरण गरिरहेका छन् । ढुंगानाले डिजिटल मिडिया र दाहालले मर्यादित पत्रकारिता र पत्रकार आचार संहिताका विषयमा प्रशिक्षण दिनेछन् ।