कोहलपुर : कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रले रोजगारीमा महिलाहरुको सहभागिता बढाउने उद्देश्य अनुरुप सोमवार वृहत संवाद गरेको छ । रोजगारीमा महिला सहभागिता विषयक उक्त संवादमा सहभागि भएका महिलाहरुले स्थानीय सरकारले आवश्यकताका आधारमा सीपहरु प्रदान गरे रोजगारीको वातावरण सिर्जना हुने बताए ।
उनीहरुले सीप प्रदान गर्ने सवालमा सबैको पहुँचलाई सुनिश्चित गर्न पनि माग गरे । कोहलपुर नगरपालिका वडा नं।२ लोकनगरकी लक्ष्मी अधिकारीले स्थानीय सरकारबाट आयआर्जन गर्न सक्ने खालका तालिम र सीपहरु आवश्यक रहेको बताइन । कोहलपुर नगरपालिका वडा नम्बर १२ की सिर्जना शर्माले आफु रोजगारीतर्फ उन्मुख हुन चाहेपनि सीपको अभावमा व्यवसाय गर्न नसकेको बताइन । उनी सीप सिकेर सिलाईकटाई व्यवसाय गर्न चाहेको पनि बताउँछिन ।
करिव दुई सय महिला सहभागि उक्त संवाद कार्यक्रमलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले महिलाहरुलाई उद्यमशिल बनाउन पालिकाले विभिन्न खाले सीपमुलक तालिम प्रदान गर्दै आएको बताए । उनले आवश्यकता र मागका आधारमा त्यस्ता तालिमहरु प्रदान गर्दै आएको बताउँदै प्राप्त तालिमको सदुपयोग गर्न पनि सुझाव दिए ।

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन सिलाई कटाई, व्यूटिसियन, कफी, खाजा तथा नास्ता बनाउने लगायतका वेसिकदेखि एडभान्ससम्मका तालिम प्रदान गर्दै आएको बताइन । उनले तालिमसँगै आवश्यक प्रविधिको समेत पालिकाले सहयोग गर्दै आएको बताइन ।
उनले पालिकाले पूर्वाधार विकासलार्य मात्रै नभएर रोजगारीको वातावरण सिर्जना गर्ने गरी आफुहरु लगि परेको बताइन । कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले उद्यमशिलता र रोजगारमा जोडिन सर्वप्रथम व्यक्तिनै सक्रिय हुनुपर्ने बताए । उनले रोजगारीमा महिलाहरुको ठूलो सम्भावना रहेको बताउँदै उद्योग बाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताए । सफल उद्यमी गीता विकले उद्यमी बन्नका लागि लगानीको भन्दा पनि इच्छाशक्तीको बढी जरुरी रहेको बताइन ।
कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक आशिष बर्माले महिलाहरुलाई रोजगार क्षेत्रको सम्भावना देखाउन संवाद कार्यक्रम गरिएको बताए । उनले कोहलपुर क्षेत्रका दुई सय महिलाहरुलाई कार्यक्रममा सहभागि गराएर रोजगारी क्षेत्रको अवस्था, पहिचान र सम्भावनाबारे संवाद गरिएको बताए ।
