नेपालगन्ज : नेपाली काँग्रेसका सह-महामन्त्री किशोर सिंह राठौरले आफू पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्ने बताएका छन् । पार्टीलाई अनुशासित र मर्यादित बनाउने पनि उनको दाबी छ । नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर २ को कार्यसमिति घोषणा सभालाई सोमबार नेपालगन्जमा सम्बोधन गर्दै प्रमुख अतिथी राठौरले पार्टीको नेतृत्व लिने आफूभन्दा अर्को कोही नभएको पनि बताए ।
‘पार्टीभित्र अनुशासन छैन, मर्यादा छैन, न्याय दिने अनुभूति छैन, यो माथिबाट जे भयो त्यही तल भइरहेको छ, यसले पार्टी एकताबद्ध भएर अघि बढ्न सक्दैन,’ उनले भने । सह-महामन्त्री राठौंर पार्टीका महामन्त्री गगन थापाप्रति बढी आक्रामक देखिए । पार्टी बनाउने नाममा महामन्त्री थापाले गुट विस्तारमा लागेको आरोप लगाउँदै थापा पार्टी सभापति भएमा काँग्रेसलाई चार टुक्रा पारिदिने ठोकुवा गरे ।
महामन्त्री थापाले गुटको राजनीति गर्दै पार्टी भित्र अराजकता बढाउने काम गरिरहेको आरोप लगाए । राठौरले भने, ‘लावालस्कर लगाएर, हाहा-हुहु गरेर पार्टी चल्दैन, भ्रष्ट मान्छेलाई साथमा राखेर लोकप्रिय भइदैन ।’ २०५७ देखि देश दौडाहमा ननिस्केको बताउँदै राठौरले अब गगनको कार्यक्षेत्रमा उनका विरोधीलाई राखेर बैठक बस्ने चेतावनी दिए ।
‘अस्ति गगन जी आउनु भयो, म सह-महामन्त्री जिल्लामै छु, २०७४ मा चुनाव लड्दा अर्को पार्टीबाट चुनाव लड्ने, एमालेको पैसा खाने ब्यक्तिलाई पार्टी प्रवेश गराउने कार्य भयो, यो विधि, प्रक्रिया र विधान विपरित कार्य हो । पार्टीका सभापति, सचिवले विधान पढ्नुपर्छ, पार्टीविरुद्ध लडेकालाई पार्टी प्रवेश गराउने कार्य हास्यास्पद र लाजमर्दो कुरा हो ।’
नेपाल किसान महासंघ बाँकेका सभापति लाहुराम थारुको सभापतित्वमा भएको उक्त कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह थापा, काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, महासमित सदस्य, महाधिवेशन प्रतिनिधी, लुम्बिनी प्रदेशका सांसद लगायतले आफ्नो धारणा राखेका थिए ।
सोही क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ बाट विभिन्न पार्टी त्यागेर आएका एक दर्जन नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरे । पार्टीका सह-महामन्त्री राठौरले अविर र खादा ओढाएर उनीहरुलाई प्रवेश गराएको किसान महासंघ बाँकेका सचिव महेन्द्र मल्लले जानकारी दिएका छन् ।