नेपालगन्ज : रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ ।
गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, उनीहरू अहिलेसम्म पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् । ‘उहाँहरू हिजो बिहानैदेखि हिँड्नुभएको हो, अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन, पालिकालाई समस्या परेको छ,’ बुढामगरले भने । साँझ ७-८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २४ गते बिहान थबाङबाट निस्किएको उनले बताए ।
सूचना अनुसार, कार्यालयको भुक्तिनीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका थिए । उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि नभेटिएको पालिकाको सूचनामा उल्लेख छ ।
‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको छ ।
उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट समपर्क गर्दा पनि सबैको मोबाइल स्वीच्ड अफ रहेको गाउँपालिकाले जनाएको छ ।