बाँके (फत्तेपुर) : राप्ती सोनारी गाउँपालिका ६ पद्नाहामा मंगलबार निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । यसअघि वडामा विभिन्न गाउँ टोललाई समेटेर ८ वटा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएपनि पद्नाहाका पशुपालक कृषक छुटेकाले मंगलबार गाउँमै गएर शिविर सञ्चालन गरिएको हो ।
सबै किसिमका पशुहरुको स्वास्थ्य उपचारका लागि सञ्चालन गरिएको निःशुल्क शिविरको राप्ती सोनारी-६ का वडाअध्यक्ष लवराज खरेलले पशुपालक किसानलाई औषधी वितरण गरेर उद्घाटन गरेका हुन् । कृषिका लागि गाउँपालिकाले वडालाई छुट्याएको ५ लाख रुपैयाँ बजेटबाट निःशुल्क शिविर सञ्चालन गरिएको वडाअध्यक्ष खरेलले जानकारी दिए ।
पाँच लाख मध्ये यसअघि एक लाख रुपैयाँ बराबरको बजेटबाट बर्सिम घाँसको बीउ किसानलाई वितरण गरिएको थियो । बाँकी रहेको ४ लाख बजेटबाट करिव २३ वटा टोललाई समेट्ने गरी शिविर सञ्चालन गरिएको वडाअध्यक्ष खरेलले बताए । उक्त शिविर पशु प्रबद्र्धन गर्ने उद्देश्यले राप्ती सोनारी ६ को पद्नाहा सहित ९ स्थानमा सञ्चालन गरिएको जानकारी दिए ।

आर्थिक वर्ष २०८१/८२ मा वडाका विभिन्न टोलमा सञ्चालन गरिएको उक्त शिविरबाट ९ सय बढी पशुपालक किसान लाभाम्वित भएको वडाअध्यक्ष खरेलले बताए । शिविरबाट प्राप्त गरेको निःशुल्क औषधीलाई सही तरिकाले सदुपयोग गर्न उनले किसानहरुलाई आग्रह गरे ।
सञ्चालन गरिएको शिविरमा पद्नाहा गाउँका ७५ घरधुरीले आफ्ना पशुको स्वास्थ्य परिक्षण गराएको राप्ती सोनारी गाउँपालिकाका पशु चिकित्सक डा. पिताम्बर बुढामगरले जानकारी दिए । शिविरमा स्थानीयले लिएर आएका गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर, कुखुरा, हाँस, कुकुर, बिरालो लगायत सबै किसिमका पशुको स्वास्थ्य जाँच गरी देखिएका समस्या अनुसार आवश्यक औषधी निःशुल्क वितरण गरिएको उनले बताए ।
शिविरमा गाउँपालिकाका पशु चिकित्सक, गाउँपालिका र वडाका पशु प्रविधिक, पशु शाखाका कर्मचारी लगायत खटिएका थिए । पशुहरुमा आन्तरिक र बाह्य परजिवी पत्ता लगाएर भिटामिन, मिनरल र जुकाको औषधी लागयत निःशुल्क वितरण गरिएको छ ।