बाँके(अगैया) : राप्ती सोनारी गाउँपालिकालाई समृद्ध बनाउन एउटा महत्वपूर्ण आधार स्तम्भ हो, शिक्षा । शिक्षा नहुँदा कुनैपनि कुरा अपुरो हुन्छ । शिक्षा नहुँदा नागरिकमा चेतनाको स्तर माथी नउठ्दासम्म समृद्धिको सपना अधुरै हुन्छ । तसर्थ, गाउँपालिकाले शिक्षामा समृद्धि खोज्दै वर्षेनी ठुलो बजेट लगानी गर्दै आएको छ । गाउँपालिकामा ५४ सामुदायिक(मदरसा सहित) र संस्थागत बिद्यालय १६ वटा रहेका छन् । गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा सर्शत बाहेक ३० करोड ७४ लाख ३१ हजार र गाउँपालिकाको तर्फबाट ७ करोड ९३ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उक्त आर्थिक वर्षमा गाउँपालिकाले २८ वटा बिद्यालयमा कक्षा कोठा मर्मत तथा शौचालय र खानेपानी व्यवस्थापनको काम गरेको छ । यस्तै एउटा बिद्यालयमा पुस्तकालय तथा एउटा बिद्यालयमा विज्ञान प्रयोगशाला र एउटा बिद्यालयमा ‘आईसिटी’ ल्याब स्थापना गरेको छ । बिद्यालयमा शिक्षक बिद्यार्थीको अनुपातको आधारमा शिक्षक व्यवस्थापनको काम सुरु गरिएको छ । गाउँपालिकामा स्थायी बसोबास भई उच्च तथा प्राविधिक शिक्षा अध्ययन गर्ने ६६ जना बिद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ ।
यसैगरी २४ वटा बाल विकास केन्द्रलाई खेल सामाग्री प्रदान गरिएको छ । शिक्षा शाखाका अनुसार गाउँपालिका अनुदानमा १ सय ३९ जना शिक्षक कर्मचारीलाई व्यवस्थापन गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ बाट सुरु गरिएको बिद्यालय समायोजन निरन्तर भईरहेको छ । हालसम्म १४ वटा बिद्यालयलाई समायोजन गरिसकिएको छ । स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक कक्षा ५ सम्म छपाई तथा वितरण गरिएको छ ।
त्यस्तै कक्षा ६ देखी ८ सम्मको स्रोत सामाग्री छपाई तथा वितरण गरिएको छ । शिक्षक छनोट कार्यलाई व्यवस्थित गर्न प्रश्न बैंकबाट तयार गरी शिक्षक छनोट कार्य सुरु गरिएको छ । तीन वटा बिद्यालयमा शौचालय सहितको ४ कोठे भवन निर्माण कार्य सम्पन्न गरिएको छ । वडा स्तरीय शिक्षा समिति गठन गरी शैक्षिक व्यवस्थापन कार्यलाई थप व्यवस्थित गरिएको छ ।
शिक्षा शाखा प्रमुख एवम् गाउँपालिकाका सूचना अधिकारी जीवन न्यौपानेका अनुसार गाउँपालिकाको शैक्षिक ब्यवस्थापनमा मुख्य गरी तीन चार वटा प्राथमिकता क्षेत्र तोकिएको छ । शिक्षक व्यवस्थापन, बिद्यालयमा पुराना जस्तापाता मर्मत र पञ्च वर्षिय शिक्षा योजना निर्माण । गाउँपालिकाले व्यवस्थापन गरेका १ सय ३९ जना शिक्षकको तलब, भत्ताका लागि वार्षिक रुपमा शिक्षण अनुदान उपलब्ध गराउने गरेको छ ।

आधारभुत तह कक्षा १ देखी ८ सम्म राप्ती सोनारीको बिद्यार्थी अनुपात हेर्दा शिक्षक पर्याप्त नै भएको देखिन्छ । तर, माध्यामिक तहमा विषयगत रुपमा शिक्षक व्यवस्थापन अझैपनि प्रभावकारी रुपले हुन सकेको छैन । ‘त्यही भएर हामीले विगत ६/७ महिना अगाडी देखी एउटा दरबन्दी मिलान गर्नुपर्छ र बिद्यालयमा विषयगत शिक्षक ब्यवस्थापन गर्नुपर्छ भनेर लागेका छौं, त्यो सम्बन्धी एउटा मापदण्ड पनि तयार गरेर हामीले स्वीकृत भईसकेको छ, संघिय शिक्षक ब्यवस्थापन भनेर जुन अनुदान आउँछ, त्यसमा हामीले करिव ५५ जना खासगरी मुख्य विषय गणित, विज्ञान र अंग्रेजीका शिक्षक ब्यवस्थापन गरेकोले धेरै हदसम्म पुगेको अवस्था छ, तर यसभन्दा अगाडी नै जुन साविकमा शिक्षा विभागबाटै जिल्ला शिक्षा कार्यालयबाट वितरण गरिएका दरबन्दी छन्, त्यहाँ एउटै बिद्यालयमा एउटै विषयको दुई वटा दरबन्दी रहेको सन्दर्भ छ, त्यसलाई पनि हामी मिलाउने तयारी गरिरहेका छौं,’ न्यौपानेले भने ।
आधारभुत तहसम्म शिक्षक ब्यवस्थापनमा त्यति धेरै समस्या नभएको शाखाको बुझाई छ । माध्यामिक तहमा विषयगत शिक्षकको ब्यवस्थापन गरिएको छ । तर, केही बिद्यालयमा विषय दोहोरिएका कारण त्यसलाई मिलाउन चाही बाँकी रहेको शाखाले जनाएको छ । ‘कतिपय बिद्यालयहरु पुराना जस्तापाता प्रयोग गरेर बनाइएको छ, बिद्यार्थीलाई गर्मीमा, जाडोमा र बर्खामा पनि समस्या हुने हुँदा हामीले त्यसमा जिप्सन राप्ने, खानेपानीको ब्यवस्थापन गर्ने गरी बनाएका छौं,’ न्यौपानेले भने । गाउँपालिकाले निर्माण गरेको पञ्च वर्षिय गाउँ शिक्षा योजनामा शिक्षाका सबै क्षेत्रलाई समेटेर कार्यक्रम अगाडी बढाइएको शाखाले जनाएको छ ।
स्थानीय पाठ्यक्रमको प्रयोग
स्थानीय पाठ्यक्रम प्रारुपले सबै स्थानीय तहलाई खासगरी कक्षा १ देखी कक्षा ८ सम्मको स्थानीय वा मातृ भाषामा पाठ्यक्रम बनाउने अधिकार दिएको छ । त्यस अन्तर्गत राप्ती सोनारीले २०७९ सालदेखी नै स्थानीय तहको पाठ्यक्रम निर्माण गरेर कार्यान्वयन गरेको थियो । २०८० सालमा गाउँपालिकाले कक्षा १ देखी कक्षा ५ सम्मका बिद्यार्थीका लागि पाठ्यपुस्तक निर्माण गरेर वितरण गरिसकेको छ । ‘कक्षा ६, ७ र ८ का लागि एउटा सिंगल स्रोत सामाग्रीको रुपमा शिक्षकहरुलाई उपलब्ध गराइएको थियो, यसवर्ष पहिलाको पाठ्यपुस्तकमा भएका केही कमीकमजोरी, त्रुटीलाई परिमार्जन गरेर कक्षा १ देखी कक्षा ५ सम्मका प्रत्येक बिद्यार्थीले पाउने गरी पाठ्यपुस्तक ब्यवस्थापन र कक्षा ६, ७ र ८ मा जुन स्रोत सामाग्री छ, त्यो पहिला ६, ७ र ८ को संयुक्त थियो, भने अहिले कक्षागत रुपमा बिद्यार्थीले पाउने गरी ब्यवस्थापन गरिएको छ,’ शाखा प्रमुख न्यौपानेले भने ।
गाउँपालिकाले सामुदायिक बिद्यालयका साथै संस्थागत बिद्यालयको शैक्षिक अवस्था सुधार गर्नका लागि नियमन गर्ने गरेको छ । संस्थागत बिद्यालयलाई वर्तमान शैक्षिक प्रणालीमा सरकारबाट नियमन गर्नुपर्ने कानुनी प्रावधान छ । तर, संस्थागत बिद्यालयमा त्यति धेरै प्रभावकारी हुन सकेको छैन । ‘हाम्रो ग्रामिण ईलाका भएको हुनाले खासगरी भौतिक पुर्वाधारमा पनि समस्या देखिन्छ भने खासगरी शिक्षक ब्यवस्थापन गर्दा पनि हामीले पटक-पटक उहाँहरुलाई निर्देशन गर्ने, छात्रवृत्ति, कक्षा कोठाको कुरा उठाउँछौं,’ शाखा प्रमुख न्यौपानेले भने, ‘भौतिक पुर्वाधारको कुराहरुमा निर्देशन गर्दा अहिले पहिलाको भन्दा सुधार हुदै आएको छ, केही बिद्यालयले नयाँ मापदण्डको आधारमा भवन पनि निर्माण गर्दै जानु भएको छ, कक्षा कोठा अनुगमन गर्न जादाँ पनि केही सुधार भएको छ, तर गर्न चाही अझै बाँकी नै छ ।’
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल शैक्षिक सुधारका लागि शिक्षा शाखामार्फत थुप्रै प्रयासहरु भएको बताउँछन् । ‘हामीले गुणस्तरीय शिक्षादेखी लिएर बिद्यालयमा टिन (जस्ता पाता)को छानालाई परिवर्तन गरी जिप्सन लगाउने, बिद्यालयमा पिउने पानी र शौचालयको ब्यवस्थापन गर्ने, शिक्षक दरबन्दी नभएको बिद्यालयमा करार शिक्षकको ब्यवस्थापन गरिरहेको अवस्था छ,’ गाउँ शिक्षा समितिका संयोजक समेत रहेका अध्यक्ष पौडेलले भने ।

गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् राप्ती सोनारी ४ का वडाअध्यक्ष मिनराज खड्का ‘सन्तोष’ शैक्षिक गुणस्तर सुधार गर्नका लागि राप्ती सोनारीमा धेरै कामहरु भएको बताए । ‘टिनको छानो भएका बिद्यालयमा जिपसन लगाउने, खानेपानीको ब्यवस्था गर्ने, शौचालय मर्मत गर्ने जस्ता काम भएका छन्, बिद्यार्थीलाई पढाईमा केन्द्रित गर्न शैक्षिक क्रियाकलाप पनि भएका छन्,’ उनले भने ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारुले शैक्षिक गुणस्तर सुधारका साथै भौतिक पुर्वाधार निमार्णको काममा धेरै कामहरु गरेको बताउँछन् । ‘गाउँँपालिकाले अनुदानका शिक्षक राखेर धेरै समस्या समाधान गरेको छ, यो एउटा महत्वपूर्ण काम हो,’ उनले भने, ‘बिद्यालयमा टिनको छानोमा जिप्सन लगाउने, शौचालय मर्मत सम्भार गर्ने र शुद्ध खानेपानी खुवाउन ९ वटै वडामा कार्यक्रम भएका छन् ।’ गुणस्तरिय शिक्षा कायम गर्नका लागि शिक्षक, बिद्यार्थी, ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सबैको उतिकै दायित्व रहनु उनी बताउँछन् ।
गाउँकार्यपालिका सदस्य समेत रहनु भएका वडाअध्यक्ष थारु भन्छन्, ‘राज्यले दिएको जिम्मेवारीलाई शिक्षक, अभिभावक, बिद्यार्थी, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सक्रिय भएपछि मात्र शिक्षामा परिवर्तन हुन्छ, अहिले धेरै हदसम्म निःशुल्क शिक्षाको अवधारणालाई पुरा गराउन हाम्रो गाउँपालिका लागेको छ ।’ गाउँ कार्यपालिका सदस्य यमकुमारी ओली शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेको लगानी उपलब्धीमूलक रहेको बताउँछन् । ‘गाउँपालिकाको लगानी अनुसार बिद्यालयको अवस्थामा सुधार आएको छ,’ उनले भने । लक्ष्मी माध्यामिक बिद्यालय राप्ती सोनारी-२, मदुईका सहायक प्रधानाध्यापक डिल्ली डाँगी राप्ती सोनारी क्षेत्रको शैक्षिक अवस्थामा धेरै सुधार आएको र शैक्षिक उपलब्धी तुलनात्मक रुपले क्रमशः बढ्दै गएको बताउँछन् । ‘कुनै कुराको समस्या भएर शैक्षिक गतिविधी रोकिएको भन्ने कतै छैन, शिक्षामा राम्रा कामहरु भएका छन् ।’
गाउँपालिकाले संघिय कोटाले अपुग भएको ठाउँमा आन्तरिक स्रोतबाट शिक्षक ब्यवस्थापन गर्नु आधारभुत तह (कक्षा ८) को परिक्षालाई ब्यवस्थित गर्न अन्यत्र बिद्यालयबाट केन्द्राध्यक्ष खटाएर परिक्षालाई ब्यवस्थित र मर्यादित बनाउनु, बिद्यार्थी संख्या कम भएको ठाउँमा ‘डाउन साइज’ र ति शिक्षकलाई बिद्यार्थी संख्या धेरै भएको ठाउँमा खटाउने कार्य शिक्षा क्षेत्रका लागि महत्वपूर्ण मानिएको माध्यामिक तह अंग्रेजी विषयका शिक्षक डाँगी बताउँछन् । उनका अनुसार राप्ती सोनारीका बिद्यालयले भौतिक संरचना अपर्याप्त भएको ठाउँमा प्राथमिकता पाएका छन् । प्रत्येक वडाका ‘लिडर’ बिद्यालयमा ई-हाजिरीको ब्यवस्था गरिनु, साधारण र प्राविधिक विषयमा उच्च शिक्षा पढ्न छात्र तथा छात्रालाई छात्रवृत्ति गाउँपालिकाले उपलब्ध गराउनु प्रभावकारी कार्यक्रमहरु भएको शिक्षक डाँगी बताउँछन् ।