नेपालगन्ज : प्रधानमन्त्रीको भारत भ्रमणको पुर्वसन्ध्यामा नेपालगन्ज-दिल्ली उडानको मुद्दा पुनः उठाइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा बिहीबार सर्बपक्षिय तथा सर्वदलिय छलफल गरिएको हो । उक्त छलफलमा सम्वद्ध सरोकारवालाले नेपालगन्ज-दिल्ली सिधा हवाई उडानले दुबै देशका नागरिकलाई प्रत्यक्ष फाईदा पुग्ने बताए । दुबै देशको फाईदाका लागि हवाई उडानमार्फत भारतसँग पश्चिम नेपालको ‘कनेक्टीभिटी’ गर्न जरुरी भएको उनीहरुको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यो विषयमा ठोस् निर्णय गर्नुपर्ने सुझाव दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा भएको छलफलमा बाँकेका राजनीतिक दल, प्रदेश सांसद, नागरिक समाज, उद्योगी, ब्यवसायी, विमानस्थल कार्यालयका अधिकारी, हवाई कम्पनीका प्रतिनिधी लगायत उपस्थित भएका थिए । उक्त छलफलमा नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुमत चौधरीले हालै बनेका भौतिक पुर्वाधार अन्र्तराष्ट्रिय मापदण्डका भएकाले नेपालगन्ज-दिल्ली उडानलाई सहज बनाएको बताए ।
‘नेपालगन्जबाट अहिलेसम्म जुन अवस्थाका जहाजहरु उडिरहेका छन्, यि जहाजबाट जुनसुकै ठाउँमा पनि उडान गराउन सकिन्छ, अन्र्तराष्ट्रिय उडानलाई टार्गेट गरेर नै विमानस्थल बनेको छ,’ उनले भने ‘नेपालगन्ज-दिल्ली उडानको अनुमति हुने वित्तिकै हामी कहाँ उडिरहेका एटिआर सिरिजका जहाजबाट तत्कालै उडान भर्न सकिन्छ, हामीसँग ठुलो क्षमताको टर्मिनल भवन बनिसकेको छ ।’ अन्र्तराष्ट्रिय उडानका लागि आवश्यक पर्ने भन्सार र क्वारेन्टाईन कार्यालय पनि स्थापना गर्न सकिने प्रमुख चौधरीले बताए । विमान कम्पनी बुद्ध एअर र श्रीएअरले नेपालगन्ज-दिल्ली उडान गर्न तयार रहेको भन्दै यसअघि नै सँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन बुझाईसकेको बताइन्छ ।
नेपालगन्ज विमानस्थलमा अन्र्तराष्ट्रिय मापदण्डका टर्मिनल भवनसहित नयाँ भौतिक पुर्वाधार निर्माण भइसकेका छन् । विमानस्थलको नयाँ टर्मिनल भवनको ब्लक ए, बी र सी सहित एप्रोन, सवारी साधन पार्किङ, गेष्ट हाउस, नाला, फुटपात, शौचालय लगायतका संरचना निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राई दिल्ली उडानका लागि अब कानुनी रुपमा अनुमति मात्रै आवश्यक रहेको बताए ।
‘अहिले उडिरहेको एटिआर सिरिजका जहाजका लागि अहिलेकै रनवे पर्याप्त रहेको कुरा विमानस्थलको हाकिमले भन्नुभयो, अन्य सबै पुर्वाधार निर्माण भईसकेको अवस्था छ,’ राईले भने ‘अनुमति पाउने वित्तिकै यहाँ जहाज र यात्रुको समस्या नै हुदैन ।’ सिधा हवाई उडानले पश्चिम नेपालका नागरिकहरु सहज रुपमा दिल्ली जान सक्ने र दिल्लीबाट पनि भारतीय नागरिकहरु सहजै नेपालगन्जसहित पश्चिम नेपालमा आउन सक्ने विश्वास गरे ।
कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले हवाई उडानले नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा भारतीय नागरिकलाई आवत-जावतमा सहज हुने बताइन् । नेपालगन्जका पुर्वमेयर एवम् वरिष्ठ अधिवक्ता विजय गुप्ताले नेपालगन्ज-दिल्ली सिधा हवाई उडानको मुद्दा धेरै पहिलादेखी उठेपनि त्यसले सार्थकता नपाएको बताए ।
२०५२ सालमा आफु तत्कालिन नेपालगन्ज नगरपालिकाको नेतृत्वमा रहँदा पनि नेपालगन्जलाई दिल्लीसँग सिधा हवाई मार्गमा जोड्न पहल थालिएको स्मरण गरे । तर, अहिले नेपालगन्ज विमानस्थलसँग अन्र्तराष्ट्रिय मापदण्डको पुर्वाधार पर्याप्त मात्रामा बनिसकेकाले उडान अनुमति दिनुपर्ने बताए । ‘नेपालगन्ज शहर नेपालकै गेटवे हो, देशकै नामबाट नामाकरण भएको ऐतिहासिक शहरलाई मित्र राष्ट्र भारतको राजधानीसँग सिधा हवाई मार्गमा जोड्ने हो भने दुबै देशलाई फाईदा पुग्नेछ,’ गुप्ताले भने । नेपालगन्ज-दिल्ली हवाई उडान सम्बन्धमा विभिन्न समिति पनि गठन गरिएको छ ।