नेपालगन्ज : नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यबाहक अध्यक्ष दीपक आचार्यले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक मिडिया मैत्री नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले पत्रकार र सञ्चार माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त विधेयक ल्याउन लागेको तर्क गरे ।
‘यो विधेयकप्रति नेपाल पत्रकार महासंघको असहमति छ,’ आचार्यले भने, ‘हामीले बुँदागत रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छौं, विधेयकका बुँदाहरु सच्याएर लैजानुपर्छ ।’ अर्को प्रसंगमा उनले पत्रकार महासंघको सदस्यता शुद्धिकरण पेचिलो विषय रहेको बताए । महासंघको अघिल्लो कार्यसमितिले थालेको सदस्यता शुद्धिकरण अभियानलाई वर्तमान समितिले पनि निरन्तरता दिनुको विकल्प नभएको उनले सुनाए ।
‘पत्रकार महासंघले आफ्ना सदस्यहरुको दस्तावेजिकरण गर्न जरुरी छ, कुन सदस्यले के काम गर्दैछ ? कहिले सदस्यता पायो, कहिले पत्रकारिता पेशा छाड्यो, उसको पछिल्लो अवस्था के छ ? यि विषयमा थाहा पाउनका लागि दस्तावेजिकरण गर्न जरुरी छ,’ उनले भने । पत्रकारिता बाहेक अन्य पेशा गर्नेले स्व-घोषणा गरेर सदस्यता त्याग्नुपर्ने महासंघका वरिष्ठ उपाध्यक्ष आचार्यको सुझाव छ । हरेक साधारण सदस्यले वार्षिक शुल्क बुझाईसकेपछि त्यसलाई महासंघले कदर गर्ने बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त भेटघाट कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य एवम् प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्याल, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, पुर्वअध्यक्ष निरजकुमार गौतम, प्रेस युनियन लुम्बिनी प्रदेशका सदस्य गौरब गिरी, युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, सामुदायिक रेडियो प्रशारक संघ(अकोराव)का केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी, युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका सचिव देवेन्द्रराज पौडेल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।