नेपालगन्ज : पूर्व बालक्लब सदस्यहरुद्वारा सञ्चालित सहयात्री नेपालले एक क्यान्सर पीडित महिलासहित नीलसागर सेवा आश्रमलाई नगद सहयोग गरेकोछ । सहयात्री नेपालले मंगलबार पत्रकार सम्मेलन गर्दै पाठेघर क्यान्सर पीडित दाङ राप्ती गाउँपालिका–४ मौरीघाट निवासी पार्वता मल्ल र नेपालगन्जस्थित नीलसागर सेवा आश्रमलाई उक्त सहयोग रकम प्रदान गरेको हो ।
‘एक चिया, एक जीवन, एक परिर्वतन’ नारा सहित सहयात्री नेपाल, बाँकेले राष्ट्रसेवक स्वर्गीय बिन्दू कुँवरको स्मरणमा क्यान्सर पीडित तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ ‘सहयोगका लागि चियापान’ अभियान गत साउन ९ गते सञ्चालन गरेको थियो । उक्त चियापानमा दुई सय जना मनकारी मनहरु प्रत्यक्ष उपस्थित भइ चियापान गरेको सहयात्री नेपालले जनाएको छ ।
सो क्रममा उपस्थित भएका सहयोगी मनकारीहरुले क्यूआरमार्फत र ‘दान बाकस’मा स्वइच्छाले रकम दान गर्दा कुल ६० हजार ७ सय एक रुपैयाँ संकलन भएको थियो । स्वर्गीय बिन्दू कुँवरको स्मृतिमा नीलसागर सेवा आश्रमको भवन निर्माणका लागि ५० हजार ५१ रुपैयाँ र बाँकी बचेको रकम १० हजार ६ सय ५० रुपैयाँ राप्ती गाउँपालिका वडा नम्बर–४ मौरीघाट दाङ निवासी पाठेघर क्यान्सर पीडित पार्वता मल्ल (३८ वर्ष) लाई उपचारार्थ सहयोग प्रदान गरिएको हो ।
सहयात्री नेपालका कोषाध्यक्ष सलमान सल्मानीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलन तथा सहयोग हस्तान्तरणमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, सहयात्रीका सचिव अञ्जना चर्तुवेदी, सदस्यद्वय श्वेता गुरुङ्ग र दीपा सुनारले संयुक्त रुपमा सो रकम प्रदान गरेका हुन् । नीलसागर सेवा आश्रमका सदस्य आकाश गौतम र पार्वताका भाई विजय मल्लले सहयात्रीले प्रदान गरेको सहयोग रकम ग्रहण गरेका थिए ।
सो क्रममा नीलसागरले आर्थिक सहयोग गर्ने सहयात्री नेपाललाई कदर पत्र प्रदान गरेको थियो । पत्रकार सम्मेलनमार्फत सहयात्री नेपालकी सदस्य श्वेता गुरुङ्गले अभियानलाई सहयोग पुर्याउने सम्पूर्ण मनकारी सहयोगी मनहरुप्रति कृतज्ञता प्रकट गरेकी थिइन् ।उनले यसअघि नै अभियानबाट उठेको रकम र खर्चको हिसाब पारदर्शीरुपमा सार्वजनिक गर्ने उद्घोष गरेअनुसार सहयोगका लागि चियापान अभियानबाट कुल ६० हजार ७ सय एक रुपैयाँ संकलन भएको जानकारी दिइन् ।
यस्तै उनले अनलाईनमार्फत रकम २६ हजार ५ सय ३३ रुपैयाँ र दान बाकसबाट नगद ३४ हजार एक सय ६८ रुपैयाँ प्राप्त भएको जानकारी गराइन् । उक्त अभियान सञ्चालन गर्दा गरिएको पत्रकार सम्मेलन र ‘सहयोगका लागि चियापान’ सञ्चालन गर्दा कुल ७ हजार ४ सय ७५ रुपैयाँ खर्च भएको र सो रकम सहयात्री नेपालका सदस्यहरुबाट संकलन गरि खर्च गरिएको बताउँदै अभियानबाट संकलित रकम जस्ताको त्यस्तै सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिएको सहयात्री नेपालकी सचिव अञ्जना चर्तुवेदीले जानकारी गराईन् ।
पत्रकार सम्मेलनमा सहभागी नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले युवाद्वारा चालिएको अभियान नयाँ र राम्रो भएको बताए । उनले स्वर्गीय बिन्दू कुँवरको योगदानलाई स्मरण गर्दै क्यान्सर पीडित र कुँवरका लागि सहयात्रीले गरेको कार्यको प्रशंसा गरे । सो क्रममा सहयात्री नेपालका कोषाध्यक्ष सलमान सल्मानीले सफलतापूर्वक सम्पन्न ‘सहयोगका लागि चियापान’ अभियानबाट हामीलाई थप उर्जा प्राप्त भएको बताए ।
अभियानमा सहयोग गर्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, अधिकारकर्मी, अभियन्ता, विभिन्न संघसंस्था, पत्रकार तथा मनकारी मनहरुलाई धन्यबाद दिदैँ सलमानले आगामी दिनमा पनि थप यस्तै रचनात्मक अभियानका गतिविधि गरिने बताए । ‘हामीले यसअघि पत्रकार सम्मेलनमार्फत अभियानबाट प्राप्त सहयोग रकम सहयात्री नेपाल, बाँकेले ८० प्रतिशत नीलसागर सेवा आश्रममा स्वर्गीय बिन्दू कुँवरको स्मृतिमा कोठा निर्माणमा र २० प्रतिशत रकम संस्थामा राखेर क्यान्सर पीडितलाई सहयोग गर्ने लक्ष्य लिए अनुसार नीलसागर सेवा आश्रममा स्वर्गीय बिन्दू कुँवरको स्मृतिमा नीलसागर सेवा आश्रमको भवन निर्माणका लागि ५० हजार ५१ रुपैयाँ र बाँकी भएको रकम १० हजार ६५० रुपैयाँ दाङ जिल्ला राप्ती गाँउपालिका वडा नम्बर-४ मौरीघाट निवासी पाठेघर क्यान्सर पीडित पार्वता मल्ल (३८ वर्ष) लाई प्रदान गर्ने संस्थाको निर्णय भएको जानकारी गराउदछौं । यो सानो सहयोगले पाठेघर क्यान्सर जस्तो रोगसँग लडिरहनुभएकी पार्वताको थप उपचारमा सहयोग पुग्ने आशा लिएकाछौं । हामी उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै क्यान्सरलाई जित्नेमा पूर्ण विश्वस्त छौं,’ सहयात्री नेपालद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
लामो समयसम्म महिला तथा बालिबालिका कार्यालय बाँकेमा रहेर काम गरेकी बाँकेकी तत्कालिन महिला विकास निरीक्षक स्वर्गीय विन्दू कुँवर क्यान्सरबाट मृत्युवरण हुनुपर्यो । कुँवरले सबैको मन जितिन, तर क्यान्सरलाई जित्न सकिनन् । क्यान्सर विरुद्ध लामो समय लडिरहेकी सबैको प्रिय बिन्दूलाई सन् २०२० मा त्यही रोगले अन्नतः लग्यो ।
अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धा पक्षमा उनले पुर्याएको योगदान अनुसरणीय छ । क्यान्सरबाट ग्रसित रहँदा समेत कुँवर अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धाका पक्षमा जस्तो सुकै चुनौतीसँग डटेर काम गर्ने निडर स्वभावकी थिइन नै स्वर्गीय कुँवर आफ्नो काम प्रति त्यतिकै संवेदनशील थिइन् ।