नेपालगन्ज : नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । क्याम्पसले चालु वर्षका लागि बि.एस्सी सिएसआईटी र बिसिए कार्यक्रमका लागि १२/१२ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
क्याम्पसले नेपालगन्जमा आइतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । क्याम्पसले प्रत्येक कार्यक्रममा २ जना बिद्यार्थीलाई शत प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । यसका लागि त्रिभुवन विश्वविद्यालयद्धारा लिइने प्रवेश परीक्षामा प्रथम हुने दुई जना बिद्यार्थीलाई प्रथम सेमेष्टरको मात्र सम्पूर्ण शुल्क (ट्युसन फी) मा शत प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
यस्तै २ जना बिद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति, थप २ जना बिद्यार्थीलाई ५० प्रतिशत र ६ जनालाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । क्याम्पसले यसरी प्रदान गर्ने छात्रवृत्तिमा बि.एस्सी सिएसआईटीतर्फ १९ लाख ४० हजार र बिसिएतर्फ १५ लाख ६० हजार अर्थात कुल ३५ लाख रुपैयाँ बराबरको रहेको क्याम्पस प्रमुख निशान्त राज शाक्यले जानकारी दिए ।
उनका अनुसार बि.एस्सी सिएसआईटी कक्षा सञ्चालनका लागि यही भदौं ११ गतेसम्म र बिसिए कक्षा सञ्चालनका लागि भदौं १५ गतेसम्म प्रवेश फाराम भर्न सकिनेछ । छात्रवृत्तिका लागि बिद्यार्थी छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक हुनेछ । यसका लागि त्रिभुवन विश्व विद्यालय प्रवेश परीक्षाको नतिजा ४० प्रतिशत, क्याम्पसले आफै लिने छात्रवृत्ति परीक्षा ४० प्रतिशत, महिला उम्मेदवारलाई प्रोत्साहन १० प्रतिशत र गरिब/जेहेन्दार बिद्यार्थीको मुल्यांकन १० प्रतिशत मुल्यांकन मापदण्ड रहने क्याम्पसका एकेडेमी कोर्डिनेटर अंकित श्रीवास्तवले बताए ।
क्याम्पस सञ्चालक ब्रिजेश बैश्यले नाफा भन्दा बढी समाजप्रतिको प्रभावलाई प्राथमिकता दिने गरिएको बताए । गरिव, जेहेन्दार र महिला बिद्यार्थीलाई अवसर दिदै समानता र समावेशीता सुनिश्चित गरिने उनको भनाई छ । ‘हामी नाफा भन्दा बढी समाजप्रतिको प्रभावलाई प्राथमिकता दिन्छौं,’ उनले भने ।
‘बिद्यार्थीलाई गुणस्तरीय आईटी शिक्षा आफ्नै शहरमा उपलब्ध गराउनका लागि क्याम्पसले आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ,’ क्याम्पस प्रमुख शाक्यले भने ‘यसले बिद्यार्थीलाई न केबल आफ्नो परिवारसँगै बसेर शिक्षा हासिल गर्ने अवसर दिनेछ, बरु विदेशिने अनावश्यक दबाव कम गर्ने र स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा ठुलो योगदान पुर्याउनेछ ।’