नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेले शुक्रबार पत्रकार महिलाका लागि तीज विशेष लेखनवृत्ति प्रतियोगिता गरेको छ । उक्त प्रतियोगितामा लक्ष्मी बिसी प्रथम भएकी छन् । बिसीले लेखेको ‘बढ्दो आधुनिकीकरण र तीजको मौलिकता’ विषयक लेखले पहिलो स्थान हासिल गरेको हो । उक्त प्रतियोगितामा आशा परियार दोस्रो र शिवानी बिक तेस्रो भएकी छन् ।
प्रतियोगितामा सहभागी भएका कुल ७ जना प्रतियोगी मध्ये अछरी पोखरेल, आरती कट्टेल, निर्मला चौधरी र शान्ति सुनारले सान्त्वना स्थान ल्याएको छनोट समितिका संयोजक निरज गौतमले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृर्तिय र सन्त्वना हुनेले क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक हजार नगद तथा कदर पत्र प्राप्त गरेको युनियन बाँकेले जनाएको छ । बिजेतालाई लुम्बिनी प्रदेशका सांसद सञ्जु कुमारी चौधरी, युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी र युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले प्रमाणपत्र तथा नगद हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद चौधरीले लेखनवृत्तिले पत्रकार महिलालाई पत्रकारितामा सक्रिय बनाउन मद्धत गर्ने विश्वास गरिन् । विशिष्ट अतिथी एवम युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष केसीले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
युनियन बाँकेका अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उपाध्यक्ष करुणा शाह, सञ्चारिका समुह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, शिक्षाविद् किरण आचार्य, युनियन बाँकेका सदस्य लक्ष्मी गौडेल लगायतले बोलेका थिए ।