काठमाडौं : सरकारले फेसबुक, ह्वाट्सएप लगायत २६ वटा सामाजिक सञ्जाल निस्क्रिय गरेपछि ‘जेनजी’हरुले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।
‘जेनजी’हरुले बिहान ९ बजेदेखि नै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा तीन हजारको संख्यामा ‘जेनजी’हरु भेला भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
‘जेनजी समूहको प्रदर्शनका कारण माइतीघर क्षेत्रमा भिडभाड बढेको छ, सुरक्षा व्यवस्था कडा बनाइएको छ,’ बोहराले भने । युवाहरुले ‘फाइनल रिभोलुसन’ वा ‘इनफ इज इनफ’भन्ने नारासँग जोडेर देशव्यापी आन्दोलनको रूप दिइरहेका छन् । प्रदर्शन माइतीघर मण्डलामा केन्द्रित छ । ‘जेनजी’हरु स्वतन्त्र रुपमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् । जसमा २८ वर्षमुनिका युवाहरूले भाग लिइरहेका छन् ।
प्रदर्शनमा सहभागी हुन स्कुल युनिफर्म र परिचय पत्र बोक्न आह्वान गरेका थिए । प्रदर्शनमा भाषणहरूको सट्टा गीत, कविता र मार्चहरू मात्र प्रस्तुत गरिने बताएका छन् । नेपालगन्ज, पोखरा, विराटनगर, बुटवल लगायत अन्य सहरहरूमा पनि प्रदर्शन भइरहेका छन् ।
राजनीतिक नेताहरूका सन्तानहरूको जीवनशैलीलाई जोडेर ‘जेनजी’हरुले सोसल मिडियामा ‘नेपो बेबी’ ट्रेण्ड चलाइरहेका छन् । ट्रेन्डिङ ह्यासट्यागहरूले युवाहरूलाई एकजुट बनाएका छ, यद्यपि प्रतिबन्धका कारण अनलाइन समन्वय कठिन बनेको छ ।