काभ्रेपलाञ्चोक: काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेर सन्तबहादुर तामाङ नख्खु कारागार फर्किएको पुष्टी भएको छ । श्रीमती मनिषा घ्यावा तामाङ (जमुना) को हत्या गरेर शव खाल्डोमा पुरेर उनी कारागार फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहले जानकारी दिए ।
हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ। गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट भागेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा असोज २ गते राति श्रीमती पर-पुरुष सँग लागेको शंकाको आधारमा श्रीमान-श्रीमतीबीच झगडा भई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए ।
उनका अनुसार श्रीमतीको हत्या पश्चात घर नजिकै करेसा बारीमा खाल्डो खनी पुरेर असोज ३ गते नख्खु कारागारमा उपस्थित हुन गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान कार्य भइरहेको बताए । उनी कारागार फर्किएको खुलेपछि काभ्रे प्रहरीको टोली समेत नख्खु पुगेको छ। उनीमाथि अब कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान गरिनेछ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटी गएको प्रहरी अधिकृतको टोली सहित फोरेन्सिक मेडिसिन बिभागको विशेषज्ञ डाक्टरको टोलीले उक्त लाशको उत्खनन गरी प्रारम्भिक अनुसन्धान कार्य पश्चात पोष्टमार्टमको लागी मृतक लाशलाई फोरेन्सिक मेडिसिन बिभाग धुलिखेल काभ्रेपलाञ्चोकमा ल्याई राखेको प्रहरीले जनाएको छ ।
तामाङका १२ वर्षीय एक छोरा र तीन वर्षीया छोरी छन् । जबरजस्ती करणी कसुरमा उनको कैद सजाय पूरा हुन एक महिना मात्र बाँकी रहेको कारागार स्रोतले जनाएको छ । उक्त कारागारमा रहेका रबि लामिछानेलाई रास्वपा नेता तथा कार्यकर्ता लगायत अराजकहरुको समुहले आगजनी, तोडफोट गर्दै जेनजी आन्दोलनको आडमा भगाएका थिए ।
त्यसपछि कारागारमा रहेका सबै कैदी बन्दीहरु जेलबाट बाहिर निस्केर भागेका थिए । नख्खु कारागारका कैदी भागेपछि देशभरका एक दर्जन बढी कारागार तथा बाल सुधारगृहबाट १३ हजार भन्दा बढी ब्यक्तिहरु भागेका थिए । जनजीवन सामान्य बनेपछि केही कैदी बन्दीहरु फर्केपनि अझै ९ हजारको हाराहारीमा भागेको गृहमन्त्रालयले जनाएको छ ।