बाँके (डुडुवा) : डुडुवा गाउँपालिकामा लगाइएको तालाबन्दी नखुल्दा अत्यावश्यक सेवा ठप्प भएको छ । गत भदौं २५ गते अन्दाजी साँझ साढे ८ बजेतिर जेन-जी आन्दोलनको आडमा अज्ञात समुहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो ।
लगत्तै अर्को समुह आएर एक घण्टा भन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवत–जावत गरी नगर प्रहरीलाई धम्की दिएका थिए । त्यसको भोलिपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पुर्वमन्त्रीद्धय भण्डारीलाल अहिर र विजयबहादुर यादवको नेतृत्वमा ३०/३२ जनाको संख्यामा गाउँपालिकाभित्र पसेर कोठाहरुमा लागेको ताला फोडेर भिडियो बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुबाट कोठाहरुमा के कति क्षति भयो भन्ने कुरा एकिन नभएको बताइएको छ ।
तालाबन्दी गरिएको दुई हप्ता वितिसक्दा गाउँपालिकाको काम ठप्प भएको छ । गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई आवश्यक कानूनी कारबाही र तालाबन्दी खुलाई कार्य सुचारु गराईदिन जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्दा पनि अहिलेसम्म पहल नभएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालाबन्दी खोलेर प्रहरीद्धारा मुचुल्का तयार गरि काम काज गर्ने वातावरण बनाइदिन प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताए । उनका अनुसार गाउँपालिकाको हालै भएको कार्यपालिका बैठकले ववडा नम्बर ४ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य सगीर खाँको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।
उक्त समितिमा डुडुवा–१ का वडाअध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र शिवकुमार मौर्य सदस्य रहेका छन् । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चौधरीले तालाबन्दी नखुल्दा दसैंको मुखमा कर्मचारीलाई तलब खुवाउन नसकिएको बताए । गाउँपालिकाले प्रदान गर्ने अन्य अत्यावश्यक सेवा पनि ठप्प भएको उनले सुनाए ।
जिल्ला प्रशासन कार्यालयले बिहीबारसम्म घटनामा संलग्नहरुलाई आवश्यक कानूनी कारबाही र ताला खोलेर काम सुचारु गराउने वातावरण तयार नगरे शुक्रबारदेखी आफुहरु नेपालगन्ज केन्द्रित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, वडाअध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।
