नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अंकुर जिसीले बाँकेको शान्ति सुरक्षाको अवस्था पुरानै लयमा फर्किसकेको दाबी गरेका छन् । आन्दोलनका कारण केही दिनसम्म नागरिकहरुमा त्रासको वातावरण सिर्जना भएको भन्दै उनले अब भने त्रसित हुनु नपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार बिहान पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरुका विरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भइरहेको बताए । अहिले बाँकेको शान्ति सुरक्षा पुरानै अवस्थामा फर्किसकेको उनको दाबी छ । तर, नागरिकहरुले पनि आफ्नो सुरक्षा आफैले गर्नुपर्ने उनको भनाई छ ।
‘हामीसँग भएको एघार सय प्रहरी प्रत्येक ब्यक्तिको सुरक्षामा खटिन सम्भव छैन, तर जहाँ आपराधिक क्रियाकलाप हुन्छ, त्यस्ता शंकास्पद ठाउँमा प्रहरीको निगरानी बढेको छ,’ एसपी जिसीले भने, ‘म पाँच दिनसम्म रातमा एक/डेढ घण्टा मात्र सुतेको छु, रातको समयमा म आफै हिड्छु, कहाँ हामीले बढी फोकस गर्नुपर्ने हो, त्यहाँ प्रहरीको फोकस छ ।’
दसैंको दुर्गा मुर्ति विर्सजन कार्यक्रमलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नका लागि सम्वद्ध सरोकारवालासँग छलफल गरेर आवश्यक सुरक्षा योजना बनाइएको उनले बताए । एसपी जिसीले जेन–जी आन्दोलनको आडमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा अहिलेसम्म चार जना ब्यक्ती नियन्त्रणमा आईसकेको र अन्य ब्यक्तिको पनि पहिचान गर्ने प्रक्रिया चलिरहेको बताए । आन्दोलनको आडमा कतिपयले ब्यक्तिगत रिसिबी देखाएर अपराधिक कार्य गरेको प्रहरीको बुझाई छ ।
‘घटनाको छानविन गर्न आयोग पनि गठन भएको छ, त्यो आयोगले सुझाव पनि देला, बाँकेमा अहिलेसम्म चार जना कारबाहीको दायरामा आईसकेका छन्,’ पत्रकारसँगको परिचयात्मक कार्यक्रममा आइतबार एसपी जिसीले भने, ‘हामीले अभिलेख राख्ने काम गरिरहेका छौं, सजिलो पनि भएको छ, एकदम राम्रा–राम्रा भिडियोहरु सामाजिक सञ्जालमा पाइरहेका छौं ।’