काठमाडौं : यसपालिको दसैंमा पर्याप्त पानी परिरहेको छ । अहिले पनि गण्डकी र लुम्बिनीका केही स्थानमा पानी परिरहेको छ । मंगलबार बिहान मनाङको तालगाउँ (पछिल्लो एक घन्टामा ५.६ मिलिमिटर), बाँकेको भगवानपुरमा (पछिल्लो एक घन्टामा ६ मिलिमिटर) वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखाले बुधबार (नवमी र बिहीबार दशमी) को दिन पनि उल्लेख्य वर्षाको सम्भावना रहेको जनाएको छ । असोज १५ गते महानवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
असोज १६ गते टीकाको दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेस र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलले दसैंपछि, १ अक्टोबर अर्थात् नवमीको दिनदेखि ७ अक्टोबर अर्थात् असोज २१ गतेसम्म भीषण वर्षाको सम्भावना देखाएका छन् । उनका अनुसार विभिन्न तीनवटा मोडलले देशको मध्यदेखि पूर्वी भेगसम्म भीषण वर्षाको सम्भावना औंल्याएको छ ।