कोहलपुर : ‘जेन–जी’ आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको ईलाका प्रशासन कार्यालय कोहलपुरलाई बाँकेको बैजनाथ गाउँपालिका कार्यालयले आवश्यक सामान सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ईलाका प्रशासन कार्यालय कोहलपुरकी प्रमुख अन्तिम सिंजालीलाई डेस्कटप कम्प्युटर, प्रिन्टर र स्क्यानर मेसिन हस्तान्तरण गरेका हुन् ।
कार्यालयमा आवश्यक पर्ने सामान नहुँदा सेवाग्राहीको काम सञ्चाल नगर्न नसकिरहेको अवस्थामा पहिलो पटक यसरी सहयोग प्राप्त भएको प्रमुख सिंजालीले बताइन् । सामाग्री हस्तान्तरण गर्ने क्रममा बैजनाथ गाउँपालिका प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, ईलाका प्रशासन कार्यालय कोहलपुरका अन्य कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
गाउँपालिका अध्यक्ष शाहीले सेवाप्रवाहमा सहज होस् भन्ने उद्देश्यले कार्यालयलाई आवश्यक सामानहरु सहयोग गरिएको बताए । कार्यालयले आन्दोलनको क्रममा लुटिएका सामानफिर्ता गर्न यसअघि सूचना समेत प्रकाशित गरेको थियो । तर, कसैले पनि आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता नगरेको प्रमुख सिंजालीले बताइन् ।
उनका अनुसार आगजनीबाट कार्यालय भवन भित्रका अधिकांश कोठाहरु काम नलाग्ने अवस्थामा पुगेका छन् । ‘एउटा परिचयपत्र वितरण गर्ने कोठामा क्षति कम छ, त्यहीँ कोठाबाट भएपनि सेवाग्राहीको काम सुरु गर्ने सोचमा छौं, हामीसँग यसअघि कम्प्युटर, प्रिन्टर, स्क्यानर केही पनि थिएन, गाउँपालिकाले हामीलाई आज उपलब्ध गराएको छ, अब सेवाग्राहीको काम गर्न केही सजिलो भएको छ,’ उनले भनिन् ।