नेपालगन्ज : नेपालगन्ज विमानस्थलको नवनिर्मित टर्मिनल भवनको शुक्रबार निरीक्षण गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा स्वदेशी ठेकेदार, परामर्शदाता र डिजाइनमा उक्त टर्मिनल भवनको काम डेढ महिना अगावै पुरा भएको थियोे । नवनिर्मित टर्मिनल भवनको शुक्रबार निरीक्षण गरिएको हो ।
निरीक्षणका लागि नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी लगायतको टोली नेपालगन्ज आएका थिए । विमानस्थलको नयाँ टर्मिनल भवन (ब्लक ए, बी र सी), विमान पार्किङ क्षेत्र, सवारी साधन पार्किङ, गेष्ट हाउस, ढल ब्यवस्थापन, बगैचा, फुटपात, शौचालय लगायतका संरचना निर्माण गर्न ठेकेदार ‘शर्मा एण्ड कम्पनी’ ले सन् २०२२ डिसेम्बर १६ मा सम्झौता गरेर काम अगाडी बढाएको थियो ।
अण्डरग्राउण्ड सहित तीन तल्ला रहेको उक्त भवनभित्र यात्रु कक्ष, प्रशासनिक कक्ष, विमान कम्पनीका कक्ष, ब्यापारिक सटर, शौचालय, भन्सार, अध्यागमन, क्वारेन्टाइन लगायत विभिन्न कक्ष निर्माण गरिएको छ । कुल ५५ हजार स्क्वायर फिटमा निर्मित भवनमा प्रतिघण्टा ६ सय ९८ जना यात्रु अटाउन सक्ने क्षमता रहेको छ । ‘नेपालगन्ज विमानस्थल टर्मिनल भवन निर्माण आयोजनाका अनुसार ठेकेदार कम्पनीले सन् २०२५ डिसेम्बर १५ मा सबै काम सम्पन्न गर्ने गरी मुल्य अभिवृद्धि कर(भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।
निरीक्षणका क्रममा महानिर्देशक अधिकारीले सम्झौताको म्याद सकिनुभन्दा अगावै निर्माण सम्पन्न भएको सोही टर्मिनल भवनबाट आन्तरिकका साथै भारतका शहरहरुमा पनि उडान गर्न मिल्ने बताए । ‘नेपालगन्जबाट भारतको दिल्ली लगायतका शहरमा उडान गर्ने विषय उठ्दै आइरहेको अवस्थामा निर्मित यस टर्मिनल भवनमा अन्तर्राष्ट्रिय उडान गर्नका लागि पनि आवश्यक पर्ने सबै पुर्वाधार तयार गरेका छौं,’ उनले भने । ‘नेपालगन्ज विमानस्थल टर्मिनल भवन निर्माण आयोजना प्रमुख नलबिक्रम थापाले टर्मिनल भवन निर्माण गर्दा आफुहरुले नै परामर्शदाताको रुपमा काम गरेको सुनाए ।
अबको केही दिनभित्रमा टर्मिनल भवनसहित नवनिर्मित संरचनाको विभिन्न विज्ञ टोलीबाट अनुगमन हुने र त्यसपछि १० दिन भित्रमा परिक्षणकालिन सेवा सञ्चालन गरिने उनले जानकारी दिए । ठेकेदार ‘शर्मा एण्ड कम्पनी’ प्रमुख रमेश शर्माले टर्मिनल भवन निर्माण गर्दा गुणस्तर र काम गर्ने सम्झौता अवधिलाई विशेष ध्यान दिइएको बताएका छन् ।